लेखक अमर अधिकारीले अमेरिकाबाट प्राप्त गरे ‘स्वर्णाभ कलम’

पछिल्लो समय साहित्य-लेखनमा उचाई प्राप्त गर्ने रोल्पाली लेखक तथा साहित्यकार अमर अधिकारीले एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन्। उनले एकपछि अर्को उपाधि हासिल गरिरहेका छन्।

अधिकारीको चर्चा एकाएक बढ्न थालेपछि उनका शुभचिन्तकहरूको संख्या पनि बढ्दो छ। उनले देश-विदेशबाट उपहारस्वरुप विभिन्न सामग्रीहरू प्राप्त गर्ने गरेका छन्। कसैले खुशीले प्रदान गरेको उपहार अस्वीकार गर्ने बानी छैन उनमा। उपहार प्राप्त गरेपछि आफू आभारी हुने चाहिँ उनी बताउँछन्। 

‘उपहार वा कोसेलीको बदलामा के दिने हो त?’ विचार पनि गर्छन्। अमरले आफ्ना शुभचिन्तकहरूको तर्फबाट जिल्ला-जिल्लाबाट प्राङ्गारिक तवरबाट उत्पादन गरिएका वस्तुहरू अर्थात् रैथाने उपजहरू पनि कोसेलीको रुपमा पाउने गरेका छन्।

रासायनिक मल प्रयोग नगरिएका र विषादीरहित अनाज, दाल, फलफूल, तरकारीलगायतका उपभोग्य वस्तुहरू लिन बेलाबखत उनलाई बसपार्क पनि गइ रहनु पर्छ। 

बसपार्कमा पाँचसय रुपैयाँ बराबरको वस्तु लिन जाँदा र आउँदा पठाओले पाँचै सय लिए पनि उनले त्यो रकम खेर मान्दैनन्। भन्छन्, ‘सक्कली वस्तु भनेको सक्कली नै हो, जुन दुर्लभ भन्दा पनि फरक पर्दैन। खाडी मुलुकबाट पनि उनलाई कहिले विभिन्न थरिका मसलाका प्याकेट आउँछ त कहिले चकलेटका ठूला पोका प्राप्त हुन्छ।’

उनले अमेरिकाको सिकागोबाट छ वर्षअघि मोटोरोला कम्पनीको मोबाइल सेट उपहारको रुपमा प्राप्त गरेका थिए भने करिब तीन महिनाअघि डेल कम्पनीको एउटा ल्यापटप पनि उपहार प्राप्त गरेका छन्। हालै मात्र उनले संयुक्त राज्य अमेरिकाको ओरेगनबाट कोसेलीको रुपमा ‘स्वर्णाभ कलम’ प्राप्त गरेका छन्।

कीर्तिपुर माध्यमिक विद्यालयका कुनै बखतका अब्बल छात्रको रुपमा गनिने र सधैँ कक्षामा प्रथम भइरहने भरत बास्कोटाबाट अमरले उक्त कलम प्राप्त गरेका हुन्।

बाँस्कोटा हाल अमेरिकाको ओरेगनमा बसोबास गर्छन्। साहित्य-लेखनमा अझ बढी सक्रियता बढोस् भन्ने अभिप्रायले उक्त ‘स्वर्णाभ कलम’ प्रदान गरिएको छ। कलम झ्वाट्ट हेर्दा ‘सुनकै हो कि!’ झैँ लाग्छ। 

बाँस्कोटाले त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी र एमपीए उतीर्ण गरेका थिए भने 
 भने नेदरल्याण्ड्सको द हेगस्थित आइएसएस इरासमस विश्वविद्यालयबाट एमए समेत गरेका छन्। 

उनले केही समय नेपाल सरकार, वाणिज्य मन्त्रालयमा शाखा अधिकृत भएर सेवा पनि गरेका थिए। नेपालमा भविष्य अनिश्चित देखेपछि उनी अमेरिकातर्फ लागे। विगतमा बाँस्कोटाले अमेरिकन रेडक्रस प्यासिफिक नर्थ वेस्ट ब्लड सर्भिसमा समेत काम गरेको लामो अनुभव पनि छ। उनी २०१४ देखि हालसम्म अमेरिकास्थित ओरेगन डिपार्टमेन्ट अफ ह्युमन सर्भिसमा कार्यरत छन्।

‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ नामको पुस्तक हालै मात्र प्रकाशन भएर लोकार्पण समेत भैसकेको छ। अमर अधिकारी अङ्कित, वर्णित र चित्रित पुस्तक काठमाडौंवासी प्रा.डा. घनश्याम पुडासैनीबाट लेखिनु र काठमाडौंकै व्यक्तिबाट महत्वपूर्ण कोसेली दिइनु अनौठो छ। 

किनकी काठमाडौंका बासीन्दा र काठमाडौं बाहिरका बासिन्दाबीच वैचारिक द्वन्द्व हुने गर्छ। यसप्रकारको विषयलाई उदाहरणीय रुपमा लिनुपर्छ। अमर अधिकारीले पछिल्लो समय ‘सुपर राइटर’ को उपाधि हासिल गर्न सफल भएका छन्।

अमरको गुनासो छ, ‘मलाई प्युठानले चिन्छ, दाङले चिन्छ, अर्घाखाँची, गुल्मी, पाल्पा, काठमाडौं र तमाम जिल्लाले चिन्छ। तर, आफ्नै गृहजिल्ला रोल्पाले चिन्न सकेको छैन।’

विभिन्न लेखहरूमार्फत रोल्पाको मात्र नभएर राप्तीभेगको व्यापक प्रचार गर्ने अमर पहिलो लेखक तथा साहित्यकार पनि हुन्।

प्रकाशित मिति: : 2025-01-29 19:25:00

प्रतिकृया दिनुहोस्