राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले पुस २९ गते पोखरा गएको बेला कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज र बिल झिकाउन माग गर्दै उजुरी दिएकी छन्।
उनले प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सचिवालयलाई कांग्रेस–एमालेका सांसदले रक्सीकाे मातमा आफू र आफ्नो पार्टीका सांसदहरूलाई दुर्व्यवहार गरेको र सो कुरा पुष्टि गर्नका लागि सीसीटीभी फुटेज र बिल झिकाउन माग गरेकी हुन्।
६ दिने अनुगमनका क्रममा कृषि समितिकी सभापति कुसुमदेवी थापा, कांग्रेस नेता वीरबहादुर बलायर र एमाले सांसद सरस्वती सुब्बाले ‘ओपन हाउस पोखरा’मा रक्सी खाएर रास्वपा सांसदलाई दुर्व्यवहार भएको कुरा अस्वीकार गरेपछि उनले थप चुनौती दिँदै सचिवालयलाई ती प्रमाणहरू झिकाउन आग्रह गरेकी हुन्।
रास्वपा सांसदहरूको बारेमा अनावश्यक टिकाटिप्पणी गरेको र सांसदलाई नै दुर्व्यवहार गरेको भन्दै त्यसमा संलग्न सांसदलाई कारबाहीको समेत माग गरेकी छन्। पोखरामा गरेको दुर्व्यवहारको सम्बन्धमा गल्ती स्वीकार्दै माफी माग्न समेत उनले आग्रह गरेकी छन्।
कांग्रेस–एमालेका सांसदले रक्सी खाएर रास्वपा सांसदको कुरा काटिरहेको फोटो र भिडियो पनि आफूसँग भएको भन्दै मिडियामा गएर उल्टै भ्रम फैलाउन नछोडे ती प्रमाणहरू आफूले सार्वजनिक गरिदिने चेतावनी दिएकी छन्।
आफूले उजुरी दिएको पुष्टि गर्दै विनिताले भनिन्, ‘सभापतिज्यूले प्रमाण छैन भन्दै हिँड्नुभएको रहेछ। खाएको हैन भने फुटेज चाहियो भनेर मैले समितिमा निवेदन दिएको हुँ। मसँग त्यहाँका फोटो–भिडियोहरू पनि छन् नि!’