बैंकिङ् सिस्टममा अराजक गतिविधि भइरहेको छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ् सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ् क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन्।

उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाँउमा छ। यस्ता चुनौतीहरू भए पनि बैंकका साथिहरू खट्नु भएको छ। हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरूमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कति ठूलो छ। दिर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं। र यस विषयमा सरोकारवालाहरूसँग छलफल भईरहेको छ। यस्ता विषयहरू सधैं रहदैनन्। समाधान हुदैँ जान्छन्।’

यसको साथै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरू व्यवस्थित हुँदै गएको बताए।

उनले भने, ‘समग्र रुपमा अर्थतन्त्रका आधारभूत कुराहरू एकदमै राम्रो देखिन्छन्। हामी बाह्य क्षेत्रमा सबल छौ। मुद्रास्फीति पनि धेरै हदसम्म बढेको छ। पछिल्लो महिना बाढीपहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पेयपदार्थ तर्फ मुद्रास्फीति बढेको छ। तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ। बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरू व्यवस्थित छन्। बैंकहरू नाफा र रिकभर हुदैँछ।’

उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरू आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुदाँ निरुत्साहित नहुन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2025-01-20 14:31:00

प्रतिकृया दिनुहोस्