माघ १०देखि सहिद सप्ताह मनाइने, यस्ता छन् कार्यक्रमकाे तालिका

Break n Links
Break n Links

यस वर्षको सहिद सप्ताह कार्यक्रम माघ १० गतेदेखि सुरु हुने भएको छ।

आइतबार सुशासन समितिका संयोजक ख्यामराज तिवारीको अध्यक्षतामा बसेको बैठकले १९९७ सालमा प्राणदण्ड पाएका सहिदहरूले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा  ज्ञात–अज्ञात सबै सहिदहरूको सम्झनामा स्मृति सभा गर्ने निर्णय भएको हो। 

१९९७ मा प्राणदण्ड पाएका ४ जना सहिदले माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गरेका थिए। त्यसपछि राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरैले ज्यान गुमाएका थिए। नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात– अज्ञात सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आइएको छ।

वि.सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ। 

बैठकमा नेपाली सेना समारोह सञ्चालन निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका अधिकारी सहभागी थिए।  

सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ। यस्तै, माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ।

त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरू स्मृति सभाका लागि भेला हुनेछन्। यी कार्यक्रम आयोजना हुने स्थलसँग सम्बन्धित वडाले कार्यक्रम सञ्चालन व्यवस्थापन गर्नेछन्।

वि.सं. १९९७ साल माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाएको थियो।

पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो। प्राणदण्ड हुनसक्छ भन्ने जान्दा–जान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले मृत्युदण्ड पाएपछि उनीहरूको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको छ।

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा उनीहरूलाई प्राणदण्ड दिइएको हो। 

राणा शासनविरुद्ध देश–विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई माघ १० गते टेकु मचलीस्थित खरिबोटमा १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो।

माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो।

ज्यानको माया गरेर कायल हुनुभन्दा नागरिक अधिकारका लागि गोली खान तयार भएका उनीहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो।

त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो। यसपछि २०४६ साल, २०६२/०६३ सालमा राजनीतिक आन्दोलन भएको थियो।

प्रकाशित मिति: : 2025-01-19 17:23:00

प्रतिकृया दिनुहोस्