वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न अर्का एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई काठमाडौंमा सुर्यदर्शन हाईट बस्ने अन्दाजी ५२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी छन्। उनलाई माघ ५ गते शनिबार टोखा नगरपालिका-३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पाण्डेसहित पक्राउ पर्नेको संख्या दुई पुगेको छ। प्रहरीले गत माघ २ गते बुधबार त्रिपाठीमाथि आक्रमण भएकै दिन साँझ दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललीत केसीलाई पक्राउ गरेको थियो।
दुवै जनालाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
गत बुधबार काठमाडौं जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा थुनछेक बहस भएको थियो। सहकारी पीडितको पक्षबाट बहस गरेका अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै आक्रमण भएको थियो।