नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन्।
सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपश्चात उनले सरकारले अझै पनि संसदलाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका हुन्।
उनले भने, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसदलाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरूको तर्फबाट आवश्यक पर्यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौँ। यसमा हाम्रो समझदारी बनेको छ।’
यसको साथै उनले सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्तिविरुद्ध ६ दलहरु एकै ठाँउमा रहेको बताए।
उनले भने, ‘सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ। त्यसमा हामी ६ दलहरू एकै ठाँउमा रहेका छाैं। सबैको चिन्ता, चासो र सुझाव सरकार स्वइच्छाचारी बन्दै गएको छ। संसदलाई छल्न खोजेको छ। सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ।’
आजको बैठकमा ६ पार्टीहरुको सहभागिता रहेको र अन्य प्रतिपक्षमा रहेका पार्टीहरुको पनि सकारात्मक समर्थन रहेको पनि उनको भनाइ छ।