माघे संक्रान्ति मनाउन नेताहरू राष्ट्रपति कार्यालय शीतल निवासमा भेला भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको माघी विशेष चियापान कार्यक्रममा सहभागी हुन नेताहरू त्यहाँ पुगेका हुन्।
शीतल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरू पुगेका छन्।
माघीका अवसरमा शीतल निवासमा घ्यु,चाकु, तरुल खुवाइएको छ।
यसैबीच चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेलले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभीष्ट (इच्छा) भएको बताए।
उनले विभिन्न जातजातिले उत्सवकारुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले सबैलाई आ-आफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पुर्णमा माघी पर्वको शुभकामना व्यक्त गरे।