राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन्।
सोमबार दिउँसो उनले भवनको अवलोकन गर्दै निर्माण पक्षसँग भवन निर्माणको प्रगतिबारे बुझेका थिए।
साथै पौडेलसँगै संसद् भवनको अवलोकनका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पनि पुगेका थिए।
सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भव्य भवन निर्माणको काम भइरहेको छ।
सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड रुपैयाँमा भवन निर्माणको काम अघि बढाइएको थियो। जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते गरेका थिए।
१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो।
साउनमा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधीन भवनको निरीक्षण गर्दै नौ महिनाभित्र काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको बताएका थिए।
तर काममा अझै पनि सन्तोषजनक प्रगति भएको छैन।