वीरगञ्जका एक युवकसहित तीन जना लागूऔषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त कारबाट लागूऔषध बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई १०१ किलो गाँजासहित पक्राउ गरिएको छ।
पक्राउ परेकामध्ये दुई जना भारतीय रहेको उनले जानकारी दिए। भारतको हरियाणाका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिसकुमार रहेको उनले बताए।
थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डमा चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिक पनि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए।
डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन्।
प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै लागूऔषध नियन्त्रणसम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।