नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दै गएको बताएका छन्।
बिहीबार पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भ्रष्टाचारलाई निराकरण गर्न राजनीतिक दलहरु मात्रै नभएर सम्पूर्ण राज्य शक्ति एक हुनुपर्ने बताए।
‘अहिले वास्तवमा हाम्रो देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दैछ। सुशासन भनेको भ्रष्टाचारको महासागर जस्तो भएको छ। सुशासन भनेको कहीँकतै झल्याकझुलुक देखिने मात्र भएको छ। धेरै चाहिँ दुशासन राज प्रवृति विकास भएको छ। यसलाई निराकरण गर्न राजनीतिक दलहरु मात्रै होइन सम्पूर्ण राज्य शक्ति एक हुनुपर्छ। अहिलेको राष्ट्रिय परिस्थिति एकदमै जटिल छ। चुनौतीपुर्ण छ र हामी अप्ठ्यारो यात्रामा छौँ’, नेता केसीले भने।