उर्लाबारीका आगलागी पीडित भन्छन्- जिँउदो लाश भएर बाँचेका छौँ

तेजन खड्का

उर्लाबारी
Break n Links
Break n Links

२०८० साल कात्तिक २६ गते। लक्ष्मीपूजाको दिन। मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भयो।

आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भए। सो आगलागी परी घाइते भएकाहरुले क्षतिपूर्ति नपाएको र जीवनयापन गर्न सकस भएको बताएका छन्।

‘मर्नेहरु त मर्नुभयो, परिवारलाई दुख पीडा त अवश्य हुन्छ नै, हामी पनि जिँउदो लाश भएर बाँचेका छौँ, बहुत पीडा छ। बरु मरेकै भए हुन्थियो जस्तो लाग्छ’, घाइते राजिव दियालीले भने, ‘हाम्रो पक्षमा बोलिदिने कोहीँ छैन, न त जनप्रतिनिधिको साथ छ।’ उनले घरधनी पनि आफ्नो हितमा मात्रै लागिपरेको आरोप लगाए।

दियाली उर्लाबारीमा अलराउण्ड डान्स सेन्टर सञ्चालन गर्छन्। डान्स सेन्टर सञ्चालन गरेर जीविकोपार्जन भइरहेको थियो। तर दियालीलाई आगलागीमा परेपछि निक्कै समस्या भइरहेको छ।

उनी भन्छन्, ‘जलेपछि पहिले जस्तो काम गर्न सकेको छैन। जलन भएको हात चिलाउँछ, पोल्छ। बाहिर खुलेर निस्किन सकेको छैन। काममा फर्किन सक्या छैन।’

‘अरुको घरपरिवार जोगाउन ज्यानको बाजी लगाएर लागियो, कतिको ज्यान गयो। तर घरधनीले फर्किएर हेर्नुभएको छैन’, दियालीले भने।

आगलागीमा परेर घाइते भएका २७ वर्षीय विक्रम शाहको पीडा दियालीको भन्दा कम छैन। छुट्टै छ। आगलागीमा पर्नुअघि उनी किरानामा काम गर्थे, सगाउँथे। मासिक १० हजार तनखा हुन्थियो। तर अहिले उनी स्वास्थ्य अवस्थाको कारण काममा फर्किन सकेका छैनन्।

एक छोरी र श्रीमतीसँग बस्दै आएका शाह हातखुट्टा, ढाड र गालामा जलन भएको बताउँछन्। कैयौंँ रात भोकै सुतेको बताउँदै उनले नुनपानी, भात खाएर पनि रात कटाएको उल्लेख गरे। उनी भन्छन्, ‘म काम गर्न सक्दिनँ, श्रीमतीलाई जागिर भए हुन्थ्यो।’

उर्लाबारीकाे आगलागी घटनामा राज्यका हरेक निकायको चासो भएको थियो। आश्वासन र सपनाहरु देखाइएको थियो। तर अहिले सबै कुरा सेलाएको र आफूहरुको समस्या ज्यूँका त्यूँ रहेको आगलागी पीडितको दुखेसो छ।

सुन पसलमा भएको आगलागीमा परी उर्लाबारी नगरपालिका-७ का ४३ वर्षीय रामनरेश मरिता, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो।

आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो। सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइतेसमेत भएका थिए। आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो।

प्रकाशित मिति: : 2025-01-06 13:08:00

प्रतिकृया दिनुहोस्