नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले बिआरआईलाई चिनियाँ पोलिसी भन्दै अनुदानसम्म ठिक रहेको तर ऋणको रुपमा कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएका छन्।
शुक्रबार गृह जिल्ला धनुषा आएका प्रतिनिधिसभा सदस्यसमेत रहेका निधीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘बिआरआई अनुदानको रुपमा मान्ने ऋणको रुपमा हुँदैन यो कांग्रेसको अडिग धारणा हो।’
केही दिन अगाडि मात्र चिनियाँ राजदूतले आमन्त्रण गरी निधीलाई डिनरसहित पारिवारिक स्वागत गरेका थिए।
नेता निधीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ऋण लिने विषयमा कुनै पनि सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको बताउँदै बिआरआईको विषयमा राष्ट्रिय छलफल पनि आवश्यक रहेको बताए।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसदमा पनि बिआरआईको विषय त्यस भित्रका सन्दर्भ र योजनाहरुबारे छलफल हुनपर्ने बताए। बुझदै नबुझी हतारमा यस्ता आयोजनाहरुमा हस्ताक्षर गर्न नहुने उनको तर्क छ।