काठमाडौँका ३ स्थानमा आज शुक्रबार प्रदर्शन हुँदैछ। सत्तारुढ दल नेकपा एमालेसहित सहकारी पीडित र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रदर्शन गर्दैछन्।
सहकारी पीडितले केही दिनदेखि माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। उनीहरूले आज पनि प्रदर्शन गर्ने बुझिएकाे प्रहरीले बताएकाे छ। माइतीघर क्षेत्रमा प्रदर्शन हुँदा माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा सवारी आवागमन अवरुद्ध हुन्छ।
यस्तै नेकपा एमालेले दरबारमार्गमा जागरण सभा गर्दै छ। जसअन्तर्गत उसले भद्रकालीबाट र्याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा सभा गर्नेछ। यस क्षेत्रमा बिहानैदेखि सवारी आवागमत अवरुद्ध भइसकेकाे छ।
दरबारमार्गमा एमालेले सभाका लागि मञ्च निर्माणको काम गरिरहेकाले बिहानैदेखि यहाँकाे सवारी साधनलाई विभिन्न स्थानबाट डाईभर्सन गरी चलाइएको ट्राफिक प्रहरीले बताएकाे छ।
दरबारमार्गतर्फ आउँने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।
यस्तै साइबर क्राइम मुद्धामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले कोटेश्वरमा प्रदर्शन गर्दैछ। कोटेश्वर क्षेत्र यसै पनि सामान्य समयमासमेत सवारी जाम हुने क्षेत्र हाे।
यहाँ उक्त समूहको प्रदर्शनले दिउँसाे सवारी आवागमतमा समस्या हुने देखिएकाे छ। आज दिउँसाे दरबारमार्ग, माइतीघर, बालकुमारी र जावलाखेल एरियामा सवारी साधनको आवागमनमा प्रभाब पर्ने उपत्यका ट्राफिक कार्यालयले जनाएकाे छ।
यस क्षेत्र भएर चल्ने सवारी साधानलाई वैकल्पिक सडकको प्रयोग गर्ने पनि ट्राफिक प्रहरीकाे आग्रह छ। यसरी काठमाडौँका विभिन्न ठाउँमा एकै पटक प्रदर्शन हुँदा नागरिकले भने दु:ख पाउने भएका छन्।
यसै पनि काठमाडौँमा सामान्य समयमा पनि ट्राफिक जामले नागरिकले सास्ती भोग्दै आइरहेका छन्। एकै पटक उपत्यकाकाे ३ ठाउँमा प्रदर्शन हुँदा आज अत्यावश्यक कामका लागि बाहिर निस्कनेसमेत ट्राफिक जामकाे समस्यामा पर्ने भएका छन्।
प्रहरीले पनि अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेकाे छ।