नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादले जनतामा चरम असन्तुष्टि, आक्रोश र अन्यौलको स्थिति सिर्जना गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दलहरु समाजवादको नारा लगाएको भएपनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताएका हुन्।
उनले भने, ‘हामीले समाजवाद त भन्यौं तर जनताले हामीले भनेको समाजवादको कँही कतै पनि अनुभूति गर्न पाएन। हाम्रो समाजवाद जनताको लागि आक्रोश, असन्तुष्टि र अन्यौलको अवस्था बनेको छ। त्यसकारण हामीले अब हाम्रो भावी दिशा निर्धारण गरौं। हामीले नेपाली समाजको अबको दिशा के हुने?’
नेपाली जनताको भाग्य र भविष्य कोर्नेगरी बहस र विमर्श आजको आवश्यकता भएको उनको भनाइ छ। उनले समाजवाद थुपारेर नभई हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा निर्माण गर्नुपर्ने बताए।
‘नेपाली जनताको भाग्य र भविष्यलाई कसरी कोर्ने बारेमा गहन बहस र विमर्श गर्न आवश्यक छ। पुस्तकका बारेमा के भन्छु भने समाजवाद थोपारेर आउने कुरा होइन। समाजवाद कितावबाट आउने कुरा होइन। समाजवाद अरु कुनै देशको नक्कल गरेर आउने कुरा पनि होइन। र समाजवाद कुनै पार्टीले आफ्नो दस्तावेजमा लेखेर आउने कुरा पनि होइन। समाजवाद थोपारिने होइन जगबाटै उमारेर ल्याउन आवश्यक छ। समाजवाद निर्माण गर्ने कुरा हो। हाम्रो उत्पादन पद्धतिद्धारा, हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा समाजवाद निर्माण गर्नुपर्दछ,’ उनले भने।