आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको बताएका छन्।
हालै हवाई भाडामा भएको मनपरी वृद्धिले अर्थतन्त्रमा ठुलो नाकारात्मक असर पर्ने उनले जनाएका छन्।
नेपालको विकास र अर्थतन्त्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र यतिबेला ओली सरकारले ध्वस्त बनाएको गम्भीर आरोप साहले लगाए।
सरकारले कमिश खानैका लागि हवाई भाडामा मनपरी वृद्धि भए पनि मौन बस्नुले गम्भिर प्रश्न आम जनताले उठाईरहेको उनले जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुक पेजमा आजपा अध्यक्ष साहले लेखेका छन्, ‘नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्यौलता बढ्दैछ। सरकारको गैरजिम्मेवार भूमिकाले सिंगै पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको सन्दर्भमा हवाई भाडामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ।’
अन्तराष्ट्रिय उडानको हवाई भाडामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा अल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाएका छन्। कमिशनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज बिदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेको साहले जनाएका छन्।
‘अहिले पर्यटन क्षेत्र मरणासन्न अवस्थामा छ भन्दा अतियुक्ति नहोला। राज्य नियन्त्रित सिण्डिकेट र सरकारमा भएकाहरुकै हालीमुहाली र ब्रम्हलुटकै कारण यो क्षेत्रले विगत लामो समयदेखि बदनामी र बेथिति भोग्नु परेको छ। अहिले हवाई भाडादर दोब्बर तेब्बर बनाइएको समाचार छन्। नेपाली श्रमिकहरु हवाई भाडादरमा भएको मनोमानी वृद्धिको कारण ठूलो मारमा परेका छन्। तर, यो सरकारलाई यसबारेमा कुनै चिन्ता र चासो नै छैन’, आजपा अध्यक्ष साहले भने।
त्रिभुवन इन्टेरनेश्नल एयरपोर्टको स्तरोन्नतीको लागि दैनिक १० घण्टा एयरपोर्ट बन्द गर्ने बहानामा फेरि नेपाली श्रमिकहरु र विदेशी पर्यटकहरुमाथि हवाई भाडा बढाएर लुट्ने काम भइराख्दा समेत सरकार रमिते बनेको आरोप साहले लगाएका छन्।
‘चौतर्फी आलोचना हुँदासमेत यो सरकारलाई छोएन। विश्वमा कहीँ नभएको हवाई आतंक नेपालमा मात्रै किन बारम्बार दोहोरिने गरेको छ? यो प्रश्नको विषय हो। नियमनकारी निकाय किन सुतेर बसेका छन् ? कतै हवाई क्षेत्रमा भएको लुटको अंश बालुवाटार र सत्ताको चाबी लिएकाहरुको घरसम्म त पुगेको छैन? अब यो विषय शंकाको घेराभित्र परिसकेको छ’, प्रश्न गर्दै उनले भनेका छन्।
हिजो नेपालबाट दिल्लीको उडान गर्दा १२ देखि १४ हजार लागने हवाई भाडा आज ६० देखि ६५ हजार भएको छ। कतारको ३० देखि ३५ हजारबाट एक लाख भएकोछ। दुबईको ३५ देखि ४० हजारबाट १ लाख १५ देखि २० हजारसम्म पुग्दा समेत सरकार किन मनोमानी हवाई भाडा वृद्धि रोक्न नसकेको भन्दै साहले प्रश्न गरेका छन्। हवाई भाडामा भएको मनपरी वृद्धि रोकन सरकारी निकायको अस्वाभाविक भूमिकाको विरोध गर्दै हवाई भाडा घटाउन चौतर्फी दवाव सृजना गर्न उनले आह्वान गरेका छन्।
‘कोभिडको कहर होस वा मुलुक विपत्तिमा परेर सडकमार्ग अवरुद्ध भएको बेलामा नै किन नहोस या महाभूकम्पको बेलामा होस नेपाली जनताले हवाई यात्रामा कठिनाई र महँगीको सामना गर्नुपरेको इतिहास छ। कोरोनाको कहरमा चाटर्ड फ्लाईटमा लुट मच्चाउने काम भयो। त्यतिबेला आफ्नो देश फर्कने नेपालीहरुमाथि विशेषगरि खाँडी मुलुकमा श्रमको लागि गएका नेपालीहरुलाई दिनदाहाडै लुट्ने काम भएको थियो। त्यो क्रम अहिलेसम्मपनि जारी छ’, उनले भने।
उनले अगाडि थपे, ‘अहिलेपनि हवाई भाडादर वृद्धिले बालुवाटार, बालकोट र बूढानीलकण्ठलाई छोएको छैन। नेताजीहरुका त्यी दरबारमा हाईसञ्चो छ। सरकार टिकाउने नाममा उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रहसन जारी छ। तर, कांग्रेस र एमालेलाई यो हवाई भाडामा भएको ज्यादती र मूल्यवृद्धिको आतंकले छोएको छैन र छुँदै पनि होला। उहाँहरुको आत्मामा व्यापारीले डेरा जमाएका छन्। जनताको सास्तीलाई बेवास्ता गरिएको छ।’
सरकारलाई हवाई क्षेत्रको विकृति हटाउने विषयमा गम्भीर बन्न उनले आग्रह गरेका छन्। हवाई भाडादर महँगो बनाउने एयरलाईन्सहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै आजपा अध्यक्ष साहले पछिल्लो समय हवाई भाडा नियन्त्रणको लागि सरोकारवाला निकायबीच भएको पाँच बुँदे सहमतिको पूर्ण पालना गर्नुपर्ने बताए।
अहिले नेपालीहरु चाडपर्व सकेर आफ्नो श्रम गन्तव्यमा जाने सिजन छ। साथै, विदेशी पर्यटकहरुपनि नेपाल घुम्नको लागि आउने सिजन हो। यस्तो पर्यटनको पिक–आवरमा हवाई भाडा बढाउने कुरा कुनैपनि हिसाबले स्विकार्य हुँदैन। सरकारले बेलैमा सोच्नुपर्ने उनले बताए।