बक्यौता नबुझाइ उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
मंगलबार विद्युत प्राधिकरण संचालक समितिको बैठकले बक्यौता नबुझाए पनि लाइन काटिएकाे उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियाे।
संचालक समितिले निर्णय गरेसँगै विद्युत प्राधिकरण कर्मचारी कल्यान परिषद् र राष्ट्रिय कर्मचारी युनियनले आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
उनीहरूले आउने मंसिर १३ गतेदेखि आन्दोलन गर्ने चेतावनीसहितको ध्यानाकर्षण पत्र प्राधिकरणका कार्यकारी निर्देशकलाई लेखेका छन्।
‘समयसिमाभित्र डेडिकेटेड–ट्रंकलाइनको बक्यौता नबुझाएमा मंसिर १३ गतेदेखि संस्थागत उन्नती, विद्युतको विकास, प्रभाकारी ग्राहक सेवा तथा कर्मचारीको हकहित एवम् समय सापेक्ष सेवा सुविधाको लागि आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुनेछौँ’, ध्यानाकर्षण पत्रमा भनिएको छ।
कल्यान परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र युनियनका अध्यक्ष भुमिनन्द अर्यालले गरेको ध्यानाकर्षण पत्रमा उद्योगलाई बक्यौता छुट दिँदा उपभोक्ताबाट महशुल उपरमा प्रतिकुल असर पर्न गरेको बताइएको छ।
जसले गर्दा प्राधिकरण धरासायी हुने अवस्था सृजना भएको जनाइएको छ।