मानव सेवा आश्रमद्वारा शनिबार १२ सहयोगापेक्षीको उद्धार

Break n Links
Break n Links

मानवसेवा आश्रमले सुरुआत गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शनिबार १२ जनाको उद्धार गरिएकाे छ। 

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो।

साेही उद्धार यात्राका क्रममा शनिबार काठमाडौं महानगरपालिकाका विभिन्न वडाबाट १० जना, बुढानीलकण्ठ–४ बाट १ जना र कागेश्वरी मनोहरा नगरपालिका–६ बाट १ जना गरेर १२ जना सडक आश्रित मानवहरूकाे उद्धार गरिएको हो। 

शनिबार उद्धार गरिएका सडक आश्रित मानवहरूलाई अहिले आश्रमकाे शाखा रानीवन सेवा केन्द्रमा राखिएकाे छ। 
 
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २७ औं दिन काठमाडौं आइपुग्दा २०१ जना सडक आश्रित मावहरूको उद्धार गइसकेकाे आश्रमका संस्थापक रामजी अधिकारीले बताए। 

उनका अनुसार उद्धार भएका १५५ जना पुरुष र ४६ जना महिला रहेका छन्। जसमध्ये ५ जना बालिका र ४ जना बालक रहेका छन्। 

शनिबार काठमाडौंको कंलकी, बाफल, त्रिपुरेश्वर, मुलपानी क्षेत्रका सडकपेटी तथा सार्वजनिक स्थानका सहयोगापेक्षी मानवहरूको उद्धार कार्यमा खटिएकाे राष्ट्रिय उद्धार टोली आइतबार भने वनस्थली, धुम्बाराही, चाबहिल, जयबागेश्वरी, गौरीघाट, बौद्ध, बुढानीलकण्ठलगायतका स्थानहरूमा उद्धार तथा सेवामा खटिने भएकाे छ। 

कस्तो संस्था हाे मानव सेवा आश्रम? 

‘जसका कोही हुँदैनन्, जसको केही हुँदैन’ उनैको सेवामा सर्पित छ, ‘मानव सेवा आश्रम’। जहाँ १ हजार ७ सय १८ जना सडक मानिस आश्रित छन्। 

सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालन गरेकाे आश्रममा असहाय, अशक्त, अनाथ, मानसिक तथा शारीरिक रुपमा कमजोर र सन्तानबाट अपहेलना भएका बाआमा र बालबालिकाहरू छन्। जसको सेवामा निरन्तर खटिरहेको छ मानव सेवा आश्रम। 

१२ वर्षदेखि सहयोगापेक्षीहरूको साहारा बनिरहेको आश्रमले हालसम्म १० हजार २ सय ९१ जनाको उद्धार गरिसकेको छ भने ४ हजार ७१ जनालाई पारिवारिक मिलन समेत गराइसकेको छ।

र, २०८२ साललाई सडक मानवमुक्त राज्य बनाउने गैरनाफामूलक सामाजिक संस्थामानव सेवा आश्रमले लक्ष्य लिएको छ। 

प्रकाशित मिति: : 2024-11-10 13:26:00

प्रतिकृया दिनुहोस्