यस्ता छन् स्वास्थ्यमन्त्री पौडेलकाे सय दिने उपलब्धिहरू

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धि सार्वजनिक गरेका छन्।

उनले बिहीबार आफ्ना उपलब्धिहरू सार्वजनिक गर्दै १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन्।

उनले एकसय दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन्।

यस्तै जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो शीर्षकलगायत उल्लेख छन्।

साथै उनले कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए।

एमडी, एमएस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकहरुलाई प्रादेशिक अस्पतालहरुमा कामकाजमा लगाइएको तथा प्रदेश तथा स्थानीय तहहरुमा दरबन्दी भन्दा बढी भएका स्वास्थ्यकर्मीहरुको सम्बन्धमा समस्या समाधानको कार्य प्रारम्भ भएको समेत बताए।

त्यसैगरी हैजा, डेंगी, झाडापखाला लगायतका संक्रामक महामारी तथा जनस्वास्थ्य विपदहरुको पूर्वतयारी र प्रतिकार्यका लागि तीनै तहमा रहेका प्रतिकार्य टोलीहरु (EMT/RRT) लाई सक्रिय बनाइएको जानकारी दिए।

प्रकाशित मिति: : 2024-10-24 17:39:00

प्रतिकृया दिनुहोस्