नेपाल एयरलायन्सलाई प्रभावकारी बनाउन अध्ययन जारी छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलायन्सको बारेमा बृहत अध्ययन गरिरहेको बताएका छन्।

सरकार गठनपछिका एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिका सम्बन्धमा पर्यटन मन्त्रालयको प्रेस ब्रिफिङगर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनको लागि मन्त्रालय प्रयास गरिरहेको बताएका हुन्।

उनले भने, ‘नेपाल एयरलाइन्सका सम्बन्धमा वृहत अध्ययन गरिरहेका छौँ। अनौपचारिक रुपमा यसको वृहत्तर हुँदैछ। नेपाल एयरलाइन्सका सम्बन्धमा विगतमा बनेका समितिहरु, समितिले दिएका प्रतिवेदनहरु र निकालिएका निष्कर्षहरुमा देखिएका चुनौतीहरुलाई मुख्य अध्ययनको विषय बनाएका छौँ। कुनै साधारण समिति बनाएका छैनौँ। असाधारण तरिकाले हामी अध्ययन गरिरहेका छौँ। कार्यकारी अध्यक्षलाई स्पष्टीकरण पनि सोधेका थियौँ। विविध विषयहरु समेटेर स्पष्टीकरण सोधेका थियौँ र जवाफ पनि प्राप्त भइसकेको छ। हाम्रो अध्ययनको विषय उहाँको स्पष्टीकरणको जवाफ पनि हो।’

साथै उनले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनको लागि कानूनी, संरचनागत कमजोरी, प्राविधिक समस्या र प्रशासनिक समस्याकोे निचोड निकालिने बताए।

उनले भने, ‘नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउन चाहन्छौँ। कानूनी कमजोरी के हो? नीतिगत कमजोरी के हो? संरचनागत कमजोरी र प्राविधिक समस्या के हो? प्रशासनिक समस्या के हो? यी सम्पूर्ण कुराको निचोडमा पुगेर नेपाल एयरलायन्सलाई सुधारेरै छाड्छौँ। यस्तै अवस्थामा रहन दिनेछैनौँ।’

राज्यमन्त्री अरुणकुमार चौधरीले टीकापुरमा हवाइ उडान संचालनका लागि जग्गाको व्यवस्थापन र स्थानीय सरकारसँग सहकार्यमार्फत काम अघि बढेको बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटन क्षेत्रका लागि हवाइ र सडक सुरक्षा प्रमुख हुने भएकाले त्यसको विश्वसनीयताका लागि काम गर्नुपर्ने बताए। सम्बन्धित निकायले त्यसका लागि गम्भीरताकापूर्वक काम गर्नुपर्ने औंल्याए। 

प्रकाशित मिति: : 2024-10-24 12:15:00

प्रतिकृया दिनुहोस्