नेपाल प्रहरीको पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कारबाही गर्न प्रधनामन्त्रीसँग माग गरेका छन्।
मञ्चले मंगलबार एक विज्ञप्ति जारी गरेर मन्त्री गुरूङले 'प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने' भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गरेका हुन्।
‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएकाे छ।
साथै मञ्चले मन्त्री गुरूङलाई तत्काल उक्त अभिव्यक्ति फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न आग्रह गरेकाे छ।
मन्त्री गुरूङकाे अभिव्यक्तिले उनकाे राजनीतिक कद घटाएको र प्रहरी संगठनको नजरबाट गिरेको मञ्चकाे दाबी छ।
‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, सुसँस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन्। यसको विपरित माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षक विरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तौ गरिमामय र नेपाल सरकारको सबैभन्दा सकृय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ’, मञ्चले भनेकाे छ।
नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरेको भन्दै अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएकाे पूर्वप्रहरी संगठनले उल्लेख गरेकाे छ।
गत शनिबार पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले ‘प्रहरी महानिरीक्षकको जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि सञ्चारमन्त्रीकाे चाैतर्फी आलोचना भइरहेको छ।