बुवा, जसले सन्तानका अघि कहिल्यै दु:खका आँशु देखाएनन्, भलै उनको प्रेम नदेखिएला तर हर पिता दुनियाको एउटा यस्तो प्राणी हो जसले आफ्ना सन्तानलाई आफूभन्दा असल मान्छे बनेको देख्न चाहन्छ।
शास्त्रले नै मानेको छ, माता, पिता र गुरुहरू साक्षात् ईश्वरका रुप हुन्। विश्वासमा अडिएको यही समाज हो हाम्रो पनि। तर अब ‘श्रवणकुमार’हरूको त्यो जुग नै कहाँ रह्यो र!
हरेक आमाहरू जिन्दगीका सत्य हुन् अनि बुवा एक विश्वास हो। आज जिन्दगीको त्यही विश्वास अर्थात् ‘बुवाको मुख हेर्ने दिन।’
बिएल नेपाली सेवाले सन्तानका लागि जीवनभरि दु:खको भारी बोकेका कैया बुवाहरूको कथा खोजेको छ। सन्तानका खुसीका लागि आँशुले भिजेका ती जीवनहरू अहिले आश्रममा भेटिन्छन्। कोही वेवारिसे छन् कोही सन्तानको पर्खाईमा आफैलाई सकिरहेका छन्।
आफैंलाई मेटाएर संसार चिनाएका धेरै पिताहरू अहिले पनि वृद्धाश्रमका झ्यालबाट चियाइरहन्छन्, जहाँ उनीहरूले सन्तानको मात्रै एक झल्को कुरिरहेका भेटिन्छन्।
माओवादी युद्धकालमै श्रीमति र एउटा छोरा बेपत्ता भए। मकवानपुरका शेरबहादुर बोगटीले त्यसपछि आफ्ना दुई छोरीहरू उस्तै दु:खजिलो गरेर हुर्काए। तर उमेर पुगेपछि छोरीहरू पनि छोडेर गए।
वर्ष दिनअघि नयाँ वसपार्क नजिकै रहेको एउटा बृद्धाश्रममा बिएलसँग उनले सन्तानका यादहरू साटेका थिए। उनीहरूले छोडिगएका घाउहरू फेरि एकपटक उप्काएका थिए। सन्तानको प्रेम न हो, अझै आशा छ उनलाई छोरीहरू लिन आइ पो हाल्छन् कि!
छोराछोरी पढाइ लेखाइ सकेर लाखापाखा लागिसक्दा अहिले पनि ७५ वर्षका ज्ञानबहादुर काठमाडौं सहरमा भारी बोकिरहेका छन्। उनका काँध थाकेका छैनन् अझै। कुनैबेला छोराछोरी हुर्काएका यिनै काँधहरू हुन् जसले अझै पनि आशाका भारीहरू उठाइरहेका छन्, अनवरत।
युद्धकालमै बेपत्ता भएका छोराहरू फर्केर आइहाल्छन् कि भनेर अहिले पनि संखुवासभाका प्रभुराम दाहालसँग आशाका त्यान्द्राहरू चुँडिएका छैनन्।
अनि भोजपुरका सुन्दरकुमार विष्ट अर्थात् ‘सुवेदार बा’हरू अझै पनि बृद्धाश्रमबाट सन्तान आउने बाटो हेरिरहेका छन्। कहाँ थाक्छन् र यी आँखाहरू, जहाँ सन्तानप्रेमको असीम क्षितिज गाँसिएको छ।
सन्तानका जितका लागि आफ्नै जीवनसँग हारिरहेका यी बुवाहरूलाई नमन… अनि समस्त बुवाहरूलाई सम्मान।
भिडियाे: