राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य नहुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद लामिछानेले यस्ताे बताएका हुन्।
‘म आफ्नाेतर्फबाट र आफ्नाे दलकाेतर्फबाट सिंगाे सदन र सिंगाे देशलाई जानकारी गराउन चाहन्छु कि भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन। नाे इफ नाे बट, हाम्राे कुरा क्लियर कट। ५ वर्षे लागू हुने छैन’, उनले भने, ‘भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमकाे हदम्याद राखिनु हुँदैन, हामी यसमा स्पष्ट छाैँ।’
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लैजाने कुरालाई गम्भीर रूपमा हेरिएकाे भन्दै त्यस्ता निर्णय गराउने क्रम राेकिनुपर्ने बताए।
‘नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लैजाने कुरालाई गम्भीर रूपमा हेरेकाे छ। यसलाई अख्तियारले पनि ध्यान दिएकाे छ। यसलाई परिभाषित गर्नुपर्ने कुरा गरिएकाे छ। यसबारेमा पनि ध्यानाकर्षण गराउन चाहन्छु। नीतिगत भ्रष्टाचार भनेर मन्त्रिपरिषद् लगेर त्यस्ता निर्णय गराउने क्रम पनि राेकिनुपर्छ। त्यसकाे परिभाषा हुनुपर्दछ’, उनले भने।