जनकपुरमा रहेको यो रेल्वेको मुल गेटबाट नै जनकपुर-जयनगर रेल्वेको अवस्था झल्किन्छ। मुलगेट आसपासमा नै ट्राफिक व्यवस्था व्यवस्थित छैन। अलि अगाडि बढेर रेल स्टेशनमा पुग्दा अटो रिक्सा र अन्य सवारी साधनको पार्किङ्गसमेत व्यवस्थित देखिँदैन।
स्टेशनभित्र प्रवेश गरेर यात्रु विश्रामस्थल पुग्दा स्टेशनका आधा पंखा नचल्ने अवस्थामा छन्। (स्वच्छ) पीउने पानीका धाराहरु बन्द छन्। भएका पनि टुटफुट छन्, दुर्गन्धित उस्तै छ।
जनकपुरमा उसै त गर्मी हुन्छ, त्यसमाथि यात्रुहरुको चाप रहने ठाउँ। रेलमा यात्रा गर्ने यात्रु प्रवेश गर्दा सशस्त्र प्रहरीले चेकजाँच गर्ने प्रक्रिया पूरा गरेझैँ मात्रै हुन्छ। यात्रुको सुरक्षा जाँचका लागि उपकरणहरुसमेत छैनन्। उसो त यो रेल्वे ट्रयाकका अधिकांश स्टेशनमा नेपाली सुरक्षा संयन्त्रले काम गर्दैनन्।
देशको एक मात्र रेल सेवा जनकपुर-जयनगर रेल सेवा लामो समयपछि सुचारु त भयो तर रेल ट्रयाक र यात्रु सुरक्षाका दृष्टिकोणले अत्यन्तै असुरक्षित रहेको छ।
यहाँ चल्ने रेलको गति प्रतिघण्टा १ सय १० किलोमिटरको छ। ब्रोडगेज रेल्वेको डिजाइन प्रतिघण्टा १ सय किमीको हो।
पहिले न्यारोगेज चल्ने रेल थियो। त्यो बन्द भयो। त्यसरी बन्द भएको रेल सेवा ब्रोडगेज चल्नेगरी २०७७ सालमा परीक्षणपछि सञ्चालनमा आएको थियो।
वि.सं.१९९४ ताका ब्रिटिस भारतको त्यो कालखणडमा कोइलाले चल्ने रेल थियो यहाँ। वि.सं.२०५०/५१ सालसम्म स्टिम इन्जिनबाट र त्यसयता डिजेलबाट चल्ने रेल कुद्यो। त्यो रेल मालवाहक रुपमा प्रयोजनमा थियो। त्यसमै बोगी थप गरेर यात्रुहरुका लागि व्यवस्था गरिएको थियो। त्यो पनि २०७१ सालमा बन्द भयो।
जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको रेल सेवा २०५८ सालदेखि जयनगर–जनकपुरमा मात्रै सीमित गरियो। ब्रोडगेज रेल १९ चैत २०७८ देखि फेरि सञ्चालनमा आएको छ।
यहाँको रेल सेवा भारत सरकारकै सहयोगमा फेरि सञ्चालनमा आएको छ। आर्थिक रुपमा पनि बोझिलो भएको यहाँको रेल्वे आफ्नो खर्च धान्न नसक्ने अवस्थामा छ। रेल्वेको व्यवस्थापन र सञ्चालनका लागि भारतीय कर्मचारीलाई तलव खुवाउनै ठिक्क छ। अर्बौंको लगानीले नाफा त के सुरक्षित सेवासमेत दिन सकेको छैन।
रेल्वेको ट्रयाकमा परेर शनिबारमात्रै एकजनाको अङ्गभङ्ग भएको दु:खद घटना देखियो। जयनगर रेल्वेको ट्रयाकमा पर्दा जनकनन्दनी गाउँपालिका–३ महुवाका श्रीराम दासले दुवै खुट्टा गुमाएका छन्।
शनिबार बिहान धनुषाको खजुरी रेलको लिक छेउबाट हिँडिरहेका उनी जयनगरबाट आइरहेको रेलले अलर्ट हर्न दिएपनि उनी सुरक्षित हुन सकेनन्। दुर्घटनामा परेर खुट्टा गुमाउनुपर्यो।
नेपालको पहिचानसमेत जोडिने यस क्षेत्रको रेल्वे ट्रयाक आसपासका बस्तीहरुमा सुरक्षा संयन्त्र र उपकरण जडान हुन जरुरी छ। खासगरी ट्राफिक अलर्ट बत्तीहरु र साइरनको उचित प्रबन्ध गरिनुपर्ने देखिन्छ। खासगरी मानव बस्ती आसपासका क्षेत्रहरुमा रहेको लिक, स्टेशन र क्रसिङ्गमा ट्राफिक तथा अन्य सुरक्षा व्यवस्था मजवुत छैनन्।
उताबाट रेल आइरहँदा यता क्रसिङ्गमा सडक यातायातको चाप रोक्नमा गम्भीर ध्यान दिन नसकिएको देखिन्छ। रेल आउँदै गर्दा होस् वा जाँदै गर्दा सर्वसाधारण ट्रयाककै छेउबाट पैदल यात्रा गरिरहेका देखिन्छन्। यो ठुलो जोखिम हो।
जनकपुर-जयनगर रेल्वेमा पर्ने क्षेत्रहरुमा सर्वसाधारण र यात्रुरुलाई सूचना दिने संयन्त्रको उचित व्यवस्थापन खड्किन्छ।
वि.सं. २०२१ सालमा नेपाल यातायात संस्थान गठनसँगै जनकपुर रेल्वेको नामाकरण भयो। फेरि २०५८ सालमा नेपाल यातायात संस्थान विघटन भयो। वि.सं. २०६१ सालमा नेपाल रेल्वे कम्पनी दर्ता गरेर रेल्वे सेवालाई कम्पनीको स्वरुपमा अघि बढाइएको थियो।
वि.सं.२०६८ साल कात्तिक ८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल रेल्वे कम्पनी र यसको सम्पत्ति रेल विभागको मातहतमा ल्याएको थियो।
पछिल्लो पटक भारतको अयोध्यासम्म सेवा सञ्चालन हुने चर्चामा रहेको जनकपुरको रेल मार्ग क्षेत्र आसपासमा यात्रुहरुका लागि थप सुरक्षा संयन्त्र र चुस्तदुरुस्त बनाउन आवश्यक देखिन्छ।