अमेरिकी राष्ट्रपति बाइडेनद्वारा उम्मेदवार नहुने घोषणा

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार नहुने घोषणा गरेका छन्।

कोभिड १९ भएर डेलावरस्थित घरमा आराम गरिरहेका बाइडेनले केही समय अघि सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमा  'पुन: निर्वाचित गर्ने मेरो मनसाय भएको बेला, मैले उम्मेदवारी छोड्नु मेरो लागि, मेरो पार्टी र देशको हितमा छ र मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा जिम्मेवारी पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्न चाहन्छु।'

उनले यस विषयमा अर्को साता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि आफ्नो वक्तव्यमा बताएका छन्।

राष्ट्रपति बाइडेनले आफ्नो उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिँदै उनी एक "असाधारण साझेदार" भएको पनि उल्लेख गरेका छन्। उपराष्ट्रपति ह्यारिसका लागि उनले लेखेका समर्थनका शव्दले उनको मनशाय कमला ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुन् भन्ने देखिन्छ।

शारीरिक रूपले अशक्त हुँदै गएका बाइडेनमा केही समययता बिर्सने रोगको संकेत देखिएको थियो। उनले पछिल्लोसमय  युक्रेनका राष्ट्रपति जिलेन्स्वेकीलाई पुटिन भनेका थिए।

रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्पसँगको पहिलो राष्ट्रपति बहसमा कमजोर देखिपछि उनीमाथि उम्मेदवारी छोड्न पार्टीभित्रैबाट ठूलो दबाब सिर्जना भएको थियो। केही सिनेटर र ४५ जना डेमोक्रेटिक कंग्रेसमेनले नै उनलाई उम्मेदवारी छोड्न सार्वजनिक रूपमै आग्रह गरेका थिए।

जनमम सर्भेक्षणहरू पनि उनको विपक्षमा देखिएका थिए भने चुनावी चन्दाको मुहान पनि क्रमश: सुक्दै गएको थियो। यही बीचमा उनी कोभिड १९ बाट पनि ग्रसित भए।

यसरी चौतर्फी दबाबमा रहेका राष्ट्रपति बाइडेनले अन्तत: उम्मेदवारी नै त्यागी दिए। यो निर्णय उनको वृद्ध शरीर र इतिहासका लागि त राहतको विषय हो नै,  उनले भनेजस्तै डेमोक्रेटिक पार्टी र अमेरिकाकै लागि स्तूत्य निर्णय हो। 

प्रकाशित मिति: : 2024-07-21 23:44:00

प्रतिकृया दिनुहोस्