ललितपुरमा उजेलिएकाे ‘प्रभात’ (भिडियोसहित)

किसान र गरिबका छोराछोरीलाई पढ्नका लागि बनेको स्कुल थियो, ललितपुरको ‘प्रभात माध्यमिक विद्यालय’। जसलाई स्कुलका अग्रज शिक्षकहरू आफैंले ईट्टा बोक्दै खडा गरेका थिए।

वि.स २०२६ सालमा स्थापित विद्यालयमा बिहानको समयमा पढाइ हुन्थ्यो। त्यसैले स्कुलको नाम पनि ‘प्रभात’ अर्थात् ‘बिहानी’ राखिएको थियो। 

तर विस्तारै स्कुलको समयमा परिवर्तन आयो। बिहान पढाइ हुने स्कुल दिउँसो सुरु हुन थाल्यो।

‘सुक्कुल’ ओछ्याएर पढाउन सुरु गरेको प्रभातमा विद्यार्थीहरू धेरै थिएनन्, त्योबेला छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचपनि खासैमा थिएन। तर प्रभातले शिक्षा छरिरह्यो। त्यसपछि प्रभातले विस्तारै कक्षा ११ र १२ पनि सञ्चालन गर्न थाल्यो। 

कुनैबेला बन्द हुने अवस्थामा पुगिसकेको प्रभात अहिले जिल्लाकै उत्कृष्ट सामुदायिक स्कुलमा पर्छ। जहाँ पढ्नका लागि कन्चनपुर, बैतडी, हुम्ला र जुम्लाका बालबालिकाहरू आएका छन्।

उनीहरूलाई मध्यनजर गर्दै स्कुलले दिवा खाजालगायत छात्रवृत्तिको व्यवस्था पनि गरिदिएको छ।

‘अरू सामुदायिक स्कुलले ५ कक्षासम्मलाई मात्र दिवा खाजा दिन्छ तर हामीले यहाँ कक्षा ६ सम्मका विाद्यार्थीहरूलाई दिवा खाजा दिइरहेका छौं’, प्रभातका प्रधानाध्यापक देवीप्रसाद दुलालले भने।

झण्डै चौध सय विद्यार्थी रहेको स्कुलमा चार वटा स्मार्ट बोर्ड पनि राखिएको छ, जसले विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन गरेको उनको विश्वास छ। ‘एजुकेशनमा नो कम्प्रोमाइज’, उनले बताए।

त्यसैगरी स्कुलले विपन्न परिवारको सहयोग पनि गर्दैआइरहेको छ। घरको आर्थिकस्थितीको कारण पढ्न नसकेका विद्यार्थीहरूलाई शिक्षा दिँदैआइरहेको छ, प्रभातले।

‘हामीले विपन्न परिवारका छोराछोरीहरूलाई पढाउँदै आइरहेका छौं। उहाँहरूलाई लक्षित गरेर हामी शिक्षकहरूले महिनाको ५० रुपैयाँ पनि संकलन गर्दै आएका छौं’, उनले भने, ‘त्यो पैसा हामीले आवश्यकताअनुसारका विद्यार्थीहरूलाई खर्च गरिरहको छौं।’

ललितपुरको सुेवासुविधा सम्पन्न स्कुलमध्ये एक रहेको प्रभातले परीक्षा लिएर विद्यार्थीको छनोट गर्छ। उनका अनुसार स्कुलमा वर्षेनी सोचेभन्दा धेरै विद्यार्थीहरूको घुइँचो लाग्छ।

‘हामीकहाँ धेरै स्टुडेण्डको भीड हुन्छ, त्यसैले हामीले राम्रो विद्यार्थीलाई इन्स्ट्रान्सबाट छान्ने गरेका छौं’, बिएल नेपाली सेवासँग उनले भने, ‘प्रभातमा पढ्न आएका सबै विद्यार्थीहरूलाई राख्न चाहन्छौं तर सम्भव नै छैन।’

झण्डै तीन रोपनी क्षेत्रफलमा फैलिएको स्कुलमा भवनको कमी भएको उनको गुनासो छ।

‘प्रभातमा गुणस्तरीय शिक्षा पाइन्छ, त्यसैले धेरैजसो विद्यार्थी यहीँ आउनुहुन्छ तर भवनको समस्याले सबैजना विद्यार्थीलाई भर्ना गर्न सकिदैंन’, उनले भने, ‘विद्यार्थी धेरै छन्, त्यसैले भवनको अभाव छ।’

पढाउने कक्षा कोठासँगै खेलकुद मैदानसमेत साँघुरो भएको प्रधानाध्यापकको दुखेको छ। उनका अनुसार विद्यार्थीलाई खेलमा सक्रिय बनाउनुपर्छ तर पर्याप्त स्थानै छैन।

‘हाम्रो स्कुलमा खेलकुद गर्ने धेरै ग्राउण्ड छैन तर स्कुल–स्कुलबीच खेल प्रतिस्पर्धा हुँदा प्रभातका विद्यार्थीहरू फर्स्ट भएकै हुन्छन्’, खुसी हुँदै उनले भने, ‘यहाँका भाइबहिनीहरूले एउटा विधामा मात्र भएपनि जित्नुहुन्छ।’

‘शिक्षामा ‘नो कम्प्रोमाइज’

विद्यार्थीहरूलाई गुणस्तरीयले शिक्षा दिलाउनका लागि प्रभातले अनुभवी शिक्षक राखेको प्रधानाध्यापक दुलालको भनाइ छ। उनका अनुसार ‘मास्टर्स’ गरेका शिक्षकहरूले विद्यार्थीहरूलाई पढाइरहेका छन्।

‘हामीकहाँ सबै शिक्षकहरू अनुभवी हुनुहुन्छ, त्यसैले यहाँको पढाइ गुणस्तरीय छ’, गर्वका साथ उनी भन्छन्, ‘यहाँ पढेका स्टुडेण्डहरू राम्रो नतिजा ल्याउन सफल छन्।’ 

प्रभातका विद्यार्थीहरूको शिक्षा र ज्ञान बढाउनका लागि छुट्टीमा पनि पढाइने गरेको उनले बताए।

‘हामीले परीक्षाका लागि बिदा दिँदा विद्यार्थीलाई घरमा बस्न दिँदैनौं। त्यसको सट्टामा स्कुल बोलाएरै उहाँहरूले नबुझेको कुराहरू सिकाउँछौं’, उनले भने, ‘हामीले त्यसो गर्दा उहाँहरूको पढाइमा पनि निखरता आउँछ र, यसले रामो रिजल्ट पनि ल्याउँछ।’

विगतदेखि नै विद्यार्थीहरूको शिक्षाकाे गुणस्तर बढाउँदै आएकाे प्रभातले धेरै त्यस्ता व्यक्तिहरूलाई जन्माइसकेका छन्। जो अहिले डाक्टर, इन्जिनियर, पाइलट, पत्रकारदेखि सांसदसम्म छन्।

प्रतिनिधि सभाका सांसद ‘प्रेमबहादुर महर्जन’ प्रभात स्कुलको उत्पादन रहेको उनी गर्वका साथ बताउँछन्।

‘उहाँ बेलामौकामा स्कुल आउनुहुन्छ। हामी राम्रो कामबारे सुझाव दिनुहुन्छ’, आफूले पढाएका विद्यार्थीहरू नै स्कुलका गहना रहेको बताउँदै उनले भने, ‘हाम्रो स्कुलको उपलब्धि भनेकै स्टुडेण्डको प्रगति हो।’

जिल्लाभरै प्रभातको प्रभाव सकारात्मक रहेको उनको विश्वास छ। त्यसैले त ‘बोर्डिङ’ स्कुल छाडेर सामुदायिक विद्यालय अर्थात् प्रभातमा पढ्न आउने विद्यार्थीको लर्को लागेको छ। तिनै विद्यार्थीहरूकाे घुँइचाेले स्कुलको पनि ‘शान’ बढाइरहेको छ। 

प्रभातका विद्यार्थीहरूको पहिचान नै ‘अनुशासित’ रहेको प्रधानाध्यापक दुलालले सुनाए।

‘हाम्रा स्टुडेण्डहरू अन्यत्र परीक्षा दिँदा समेत सबैजनाको नजरमा पर्नुभएको छ’, उनी भन्छन्, ‘उहाँहरू अनुशासन नै हाम्रो स्कुलको पहिचान हो। यसले हामी सकारात्मक ऊर्जा दिइरहेको छ।’

अगामी दिनहरूमा प्रभातलाई बढाउने र थप विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिलाउने प्रधानध्यापक दुलालको लक्ष्य रहेको छ।

याे पनि... 

प्रकाशित मिति: : 2024-07-05 19:00:00

प्रतिकृया दिनुहोस्