किसानले दुधको पैसा मागे, सरकारले झेलखाना देखायो

तस्बिर: रातोपाटी
तस्बिर: रातोपाटी

बुधबार (बैशाख ५ गते) बिहान लामबद्ध भएर किसान काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थामा पुगे। ठुलो (आन्दोलनरतको दाबीअनुसार करिब ५००) संख्यामा दुग्ध विकास संस्थामा पुगेका किसानले दुधको पैसा माग्दै नाराबाजी गरे। संस्थामा ताला लगाउन थाले। 

तर प्रहरीले किन ताला लगाउन दिन्थ्यो र, दिएन। उनीहरूमाथि बल प्रयोग गर्‍यो। ३४ जनालाई पक्राउ गर्‍यो। लामो समयदेखि दुधको पैसा नपाएपछि दुधको पैसा माग्न आएका किसानलाई सरकारले झेल खाना देखायो। 

किसानहरू त्यसै आन्दोलित भएका होइनन्। यसअघि पनि उनीहरूले दुधको पैसा माग्दै आन्दोलन गरेका थिए। पटक–पटक आन्दोलन र पटक–पटक सरकासँग पैसा पाउने आशासहित सम्झौता पनि गरे।

सरकारसँग गरेका ती सम्झौताहरू त कार्यान्वयन भएनन् नै स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बाचासमेत पूरा हुन सकेन। १० पुस २०८० मा प्रधानमन्त्री प्रचण्डले कार्याकालको वर्षदिन पुगेको अवसरमा भनेका थिए, ‘दुध किसानहरूको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ।’ 

तर २०८१ सालको दुई महिना बित्न लाग्दा पनि सरकारले दुध किसानलाई पैसा नदिएपछि किसान आन्दोलित बन्न पुगेका हुन्। काठमाडौँ आउनुअघि चितवन, ललितपुरलगायत पूर्वी जिल्लामा किसानले पैसा माग्दै दुधसमेत सडकमा पोखेका थिए। 

उनीहरूको असंगठित आन्दोलन सरकाले नसुनेपछि बुधबार देशभरका किसान प्रतिनिधिका रुपमा काठमाडौँमा नै पैसा माग्न आएका हुन्। ‘हामीलाई दिनुपर्ने ५ अर्ब बढी पैसा सरकारले दिएन। त्यसैले आन्दोलने गर्नुपरेको हो’, दुग्ध सहकारी संघ लिमिटेड नेपालका केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरले भने। 

किसानहरूले बुधबारमात्र होइन। पैसा नपाएसम्म भालिदेखि निरन्तर आन्दोलन गर्ने कुँवरले बताए। 

सरकारको लगानी दशकमाथि ‘धक्का’

नेपालमा आधा जनसंख्या कृषि पेशामा छन्। अर्थात करिब ३ करोड जनसंख्यामा १ करोड ३२ लाख बढी जनसंख्या कृषि पेशामा आवद्ध छन्। यो जनगणना २०७९ को तथ्याङ्क हो। 

ठुलो जनसंख्या कृषिमा रहेको देशमा दुग्ध किसानले जस्तै उखु किसानदेखि तरकारी किसानसम्मले दु:ख पाइरहेका छन्। पटक–पटक सरकारमा रहनेहरूले कृषिलाई प्राथमिकता पनि भन्ने गर्छन्। 

यस वर्ष त सरकारले ‘कृषि दशक’ घोषणा गरेको छ। जेठ १ नीति तथा कार्यक्रम ल्याएको सरकारले यस वर्षदेखि कृषिमा लगानी बढाउन कृषि देशक घोषणा गरेको हो। 

तर विडम्बना कृषिमा लगानी भित्र्याउ सरकारले तय गरेको कृषि दशकलाई धक्का दिनेगरी किसानहरू आन्दोलित बन्नुपरेको छ। जसले कृषिमा लगानी गर्नेहरूलाई आत्मबल भन्दा निरूत्साहित गरेको छ। 

संसदमा किसानको पैसा दिन माग

आन्दोलित उखु किसानको बाँकी रकम दिन संसदमा माग गरिएको छ। बुधबारको संसद बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दुधको भुक्तानी तत्काल दिन माग गरे। 

उनले किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने बताए। ‘किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब ६ अर्ब भुक्तानी पाउन बाँकी छ’, प्रमुख सचेतक बर्तौलाले भने ‘किसानले बैङ्कबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन।’ 

यस्तै नेपाली काँग्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। ‘आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ’, उनले भनिन्।

प्रकाशित मिति: : 2024-06-19 18:57:00

प्रतिकृया दिनुहोस्