भारत सरकारले साउन ४ गते चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वभर खाद्यान्न बजारमा खैलाबैला मच्चियो। त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखियो। १५ लाख टन चामल भारतसँग निर्भर रहेको नेपालमा खाद्यान्नमा ह्वातै महङ्गी बढ्यो।
भारतले लगाएको चामल प्रतिबन्धका कारण व्यापारीहरूले चामलको मनपरी भाउ बढाए। एक बोरा चामलमा तीन सय रुपैयाँसम्मको मूल्यवृद्धि गराइयाे।
विश्व चामल व्यापारमा करिब ४० प्रतिशत हिस्सा ओगटेको भारतले एक्कासी चामल रोक्दा खाद्यान्नको मूल्य बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
पछिल्लो समय वाणिज्य विभागले गरेको अनुगमनले खाद्यान्नमा ४ देखि १३ प्रतिशतसम्म मूल्य बढेको देखाएको छ।
विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालमा प्रमुख खाद्यान्न चामलको मूल्य नै प्रतिबोरा १ सय देखि ३ सय रुपैयाँसम्म बढेको छ। खुद्रा पसलहरूको चामलको जात र ठाउँअनुसार मूल्यवृद्धि भएको हो।
थोक बिक्रेताबाट भने प्रतिबोरा बढीमा ५० रुपैयाँ मात्रै मूल्यवृद्धि भएको विभागको अनुमगनले देखाएको छ। चिनीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। तेलको भने मूल्यवृद्धि भएको छैन। रहर दाल र चनाको मूल्य प्रतिकेजी २० देखि ३० प्रतिशतसम्म बढेको छ। आटा पिठोको मूल्य प्रतिकेजी १० रुपैयाँसम्म वृद्धि भएको छ।
विभागको तथ्याङ्कअनुसार त्यसरी अचाक्ली खाद्यान्नमा मूल्य बढ्नुको मुख्य कारण नै भारतले चामल निर्यातमा गरेको प्रतिबन्ध हो।
दिनप्रति दिन बजारमा बढिरहेको मूल्यवृद्धि रोक्नका लागि सरकारले भारतबाट १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ।
नजिकिँदै गरेका चाडवाडमा बजार भाउ थप बढ्ने आँकलन गर्दै सरकारले मूल्यवृद्धि हस्तक्षेप गर्न खाद्यान्न आयात गर्ने निर्णय गरेको हो।
‘बजारका विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेका छौं । सम्बन्धित व्यवसायीसँग पनि छलफल गरिरहेका छौं,’ विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने, ‘आपूर्ति व्यवस्था सहज बनाउन १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी आयात गर्न प्रक्रिया अगाडि बढाएका छौं।’
कहिले नेपाल भित्रिन्छ १० लाख टन चामल?
नेपालमा खाद्यान्नको अभाव हुन नदिनका लागि सरकारले शुक्रबार भारतलाई पत्र पठाएको छ।
बजारमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै सरकारले १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनीको लागि अनुरोध गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी प्रवक्ता राधिका अर्याले बताइन्। तर हालसम्म उक्त पत्रचारको जवाफ भने आएको छैन।
‘हामीले भारत सरकारलाई खाद्यान्नको माग गर्दै पत्र पठाएका छौँ तर अहिलेसम्म त्यसको जवाफ पाएका छैनौँ’, आफूहरूले अनुरोध गरेको पत्रको जवाफ आएपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताउँदै उनले बिएल नेपाली सेवासँग भनिन्, ‘अस्ति भर्खरै पत्र पठाएका छौँ। त्यसैले जवाफ आउन समय लाग्न सक्छ।’
भारतले नेपालका लागि चामल निर्यातमा रोक लगाएको छैन: भारत
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा त्यसको प्रत्यक्ष असर देखिरहेको छ।
चामलको अभाव देखाउँदै दिन प्रतिदिन चामलको भाउ अचाक्ली बढिरहेको छ। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने भारतले नेपालमा चामल निर्यात गर्न नरोकेको बताउँछन्।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग फोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले भारतले नेपाललाई चामल निर्यात प्रतिबन्ध नलगाएको बताएका हुन्।
उनको अनुसार चामल निर्यातमा भारतले लगाएको रोक अन्य देशको लागि मात्र हो। त्यसैले नेपालले चाहेजति खाद्यान्न भारतबाट ल्याउन सक्नेछ।
किन लगायो भारतले चामल निर्यातमा प्रतिबन्ध?
भारतले अहिले मात्र नभई अघिल्लो वर्ष बासमतीको टुक्रे चामलमा पनि प्रतिबन्ध लगाएको थियो। र बासमती चामल निर्यातमा पनि २० प्रतिशत अतिरिक्त कर लगाएको थियो।
भारतका प्रमुख धान खेती हुने र उत्पादनका प्रमुख क्षेत्र अहिले सुख्खा भएका छन्। त्यसले गर्दा यो वर्ष धानको उत्पादन कम हुनसक्छ। सोही कारण भारतले भण्डारण बढाउनका लागि चामल नबेच्ने निर्णय गरेको हो।
अहिले भारतमा ४.१ करोड टन चामल भण्डारण छ। यो भारतीयको आवश्यकताभन्दा तीन गुणा धेरै हो। यो चामल भारतको रणनीतिक रिजर्व तथा सार्वजनिक वितरण प्रणालीका आधारमा गरिएको भण्डारण हो।
यसैमार्फत भारतका करिब ७० करोड गरीब नागरिकलाई निशुल्क चामल वितरण हुन्छ। बितेका वर्षदेखि नै भारतले सबै खाद्यान्न सामग्रीको मूल्यवृद्धिको मार खेप्दै आएको छ।
अघिल्लो वर्षको अक्टोबरदेखि भारतमै उत्पादन भएको आन्तरिक चामलको मूल्य पनि ३० प्रतिशतभन्दा धेरै बढेको छ।