सुनादेवी मुखिया ‘पानी’ माग्दै हिँडेको ४५ दिन पुगिसक्यो। जनकपुरबाट नापेका पाइलाहरू २५ दिनमा काठमाडौँमा बिसिए। माइतीघरमा धर्ना बसेको पनि महिना दिन बितिसक्यो।
जनकपुर कस्तो भयो कुन्नी!
काठमाडौँमा उनले खोजिरहेकी छिन्, आफूले भोट दिएका नेता। भोट माग्दै हिँडेका ती नेताहरू। तर अँह, मान्छे नै मान्छेको भीडले ढाकिएको यो काठमाडौँमा उनले आफ्ना नेताहरू भेटेकी छैनन्।
जनकपुरभन्दा अलि सितल छ काठमाडौँ। तर जनपुरको त्यही उखरमाउलो घामले अहिले पनि उनलाई भतभती पोलिरहेको छ, जसले उनका आँगनका चापाकलहरू निखारिदियो।
तस्बिर: सुनादेवी मुखिया
माइतीघरको एक कुनामा डेढ महिनादेखि सुनादेवीजस्ता २०–२५ जनाको एउटा आवाज गुञ्जिरहेको छ– हामीलाई पानी दे!
मधेस सुक्न लागेको धेरै भइसक्यो। चुरे उजाडिन लागेको धेरै भइसक्यो। पोखरीहरू मैदान बन्न थालेको धेरै भइसक्यो।
जमिनको भित्रभित्रै त्यो पानी कता पुग्यो कुन्नी! सुनादेवीहरूको आँगनका चापाकलहरू अहिले चक्रक्कै छन्।
यो आवाज जेठ १० गतेदेखि निरन्तर माइतीघरको खुला आकाशमुनि गुञ्जिरहेको छ, केन्द्रीय सरकारसँग पानी र पानीले गुमाएको जवानी मागेर। सरकारसँग पानी माग्दै चुरे बचाउने अभियानमा वैशाख १६ गते सप्तरीको भारदहदेखि पैदल हिँडेर २५ दिनमा एक समूह काठमाडौँ उक्लिएको थियो।
त्यसयता उनीहरूले निरन्तर सरकारसँग चुरे बचाउनका लागि सरकारी प्रतिबद्धता मागेर गुहार गरिरहेको डेढ महिना भयो। तर माइतीघरदेखि १०० मिटरको दूरीमा रहेको सिंहदरबारले उनीहरूको आवाज सुनेको छैन।
सिंहदरबारले त के सुन्थ्यो र, कसलाई सुन्थ्यो र!
गाउँको सिंहदरबारले त चुरे बचाउन सकेन। गाउँका सिंहदरबारले गुहार नसुनेपछि काठमाडौँ आएका सिराहा, सप्तरी, धनुषा, बाराका नागरिकको गुहारकाे केन्द्र सिंहदरबारले पनि सुनेन।
सिंहदबारले त सुनेन नै, सुन्नुपर्ने मधेसबाट मधेसीको अधिकारका लागि लड्ने भन्दै राजनीति गरेका ठुला अनुहारले हो। तर उनीहरूले पनि चुरे बचाउने अभियानलाई देखे–नदेखेझैँ गरेका छन्।
मधेसबाट राजनीति गर्ने भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टी र अशोक राई नेतृत्वको जनता समावादी पार्टी संसदमा छ।
तर कसैले पनि मधेसको चित्कार सुनेका छैनन्। संसदमा एक–दुई जनाले आवाज उठाएका भएपनि डेढ महिनादेखि पानी मागिरहेका मधेसी नागरिकले राहतको महसुस हुनेगरी प्रभावकारी काम हुन सकेको छैन।
पानीका लागि चुरेको जवानी मागिरहेका धर्नारत नागरिकको गुहारलाई किन कसैले सुनेको छैन? जो गुहार गरिरहेका छन्, उनीहरूलाई लागेको छ– ‘सरकार चोर छ।’
पानीका लागि चुरे बचाउने भन्दै २५ दिन पैदल हिँडेर सरकारसँग गुहार माग्न आएकी पार्वती सिंह भन्छिन्, ‘चुरेमा जंगल छैन। खोला सबै खनिसके। पोखरी सबै सुकिसके। चापाकलमा पानी आउँदैन। यो सबै सरकार चोर भएर त हो।’
उनीहरूले आफ्नै घर वरिपरिका नेताहरूलाई छानिछानी वडाध्यक्ष बनाए। वडा सदस्यहरू चुने। नगरपालिकाका मेयर चुने। सांसद चुने। ती सब अहिले चापाकलको पानीजस्तै हराइसकेका छन्।
अनि पार्वती सिंह र सुनादेवीहरूलाई लाग्छ, ती सब चोर थिए। उनीहरूले नै चुरेको जंगल चोरेको। त्यहाँको ढुङ्गा अनि माटो चोरेको। सुनादेवीहरूको भोट चोरेको। अनि मधेसको पानी चोरेको।
‘सरकारै चोर हो…’ माइतीघरमा पानी माग्न नेता खोजिरहेकी सुनादेवी आफ्नै भाषामा भन्छिन्, ‘सरकार चोर अछि। नेता सब हमरा सबहक वोट मंगलक। चोरी भेल माइट पत्थर मे बदलि गेल आ जंगल नष्ट भ गेल। आ हमर सभक कल सुखा गेल। मधेशमे पानी सुखा गेल। काठमांडू अएलौ कोनो नेतासँ भेंट नहि भेल। सब अपन पाइन् पीब भागि गेल। आब ओ सभ हमरा सभकेँ मारि देबए जा रहल अछि।’
चुरे कसले बचाउने?
चुरे पहाड मधेसको जीवन हो। चुरे नरहे मधेस रहँदैन। चुरे अध्यता भन्छन्– चुरेमाथिको दोहनले बाढी, पहिरो निम्त्याउँछ। चुरे दोहनले पानीकाे संकट निम्त्याउँछ। मधेसमा अहिले भइरहेको पनि यही हो।
देशका आधा जनसंख्या बस्ने मधेसका लागि चुरे जीवन हो। तर यही चुरे दोहनले सिमा नाघेको छ। यसलाई संरक्षण गर्ने जिम्मवारी कसको? कानुनत: स्थानीय स्रोत साधानको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको हो। स्थानीय सरकारलाई नदी उत्खनन् रोक्नेदेखि वन जंगलको संरक्षणसम्मको जिम्मेवारी छ।
तर स्थानीय सरकारले चुरे दोहन रोक्ने भन्दा बढी उत्खनन्मा साथ दिएको भन्दै चुरे बचाउ अभियान तराई-मधेसको आन्दोलनपछि काठमाडौँ उक्लिएर माइतीघरमा धर्नारत छ।
‘स्थानीय तहका जनप्रतिनिधि चुरे बचाउन कत्ति पनि जिम्मेवार छैनन्। यो केन्द्रबाटै प्रभावकारी काम हुनेगरी योजना बनाइनुपर्छ’, चुरे बचाउ अभियान्ता दीपक यादव भन्छन्, ‘नत्र मधेस अझ गम्भीर अप्ठ्यरोमा पर्छ।’
उनी स्थानीय तहको राजनीतिज्ञले मात्र होइन, केन्द्रीय सत्तामा हालीमुहाली गर्ने राजनीतिज्ञको पनि चुरेको संरक्षणमा ध्यान नभएको बताउँछन्।
जनकपुरमा कोठा भाडामा बस्दै आएकी धर्नारत सुनादेवी मुखियालाई पनि लाग्छ– नेताहरू चुरे बचाउनभन्दा दोहनमा छन्।
उनीहरूले भनेझैँ चुरे बचाउन ध्यान कसैको पुगेको छैन। अहिले मधेसमा पानीकाे संकट निम्तँदै छ। यो कसरी, किन भइरहेको छ भन्नेसमेत सरकार अध्ययनमा छैन।
नेतृत्वहरू कसरी चुनाव जित्ने र सत्तामाथि हालीमुहाली गर्ने भन्नेमै बढी केन्द्रीत छन्। जुन केन्द्रदेखि प्रदेशसम्म भइरहेको सत्ता परिवर्तनका तरंगहरूले देखाउँछ।
‘भोट त डारुपानीमा पाइहाल्छन्। चुरे कसले बचाउने?’, सुनादेवी मुखिया भनिन्, ‘सरकारले जनतालाई चुसेर खाइसके। चुरे पनि खाइसके।’