‘चुरे’ बचाउन २५ दिन हिँडेर सिंहदरबारको शरणमा

Breaknlinks
Breaknlinks

पानी झर्ला जस्तै गरी आकाश धुम्म छ। ब्यस्त माइतीघरको कोलाहलको एक छेउ १२–१५ जनाको समूह छ। उनीहरू सडक पेटीमाथि त्रिपाल बिछ्याएर बसेका छन्। समूहमा धेरै महिला छन्। 

हल्काहल्का झरीले रुझेको काठमाडौँलाई बिहीबार दिउँसो एकछिन घामले अलि सेकिरहेको थियो। सडकपेटीमा थकित त्यो हुलमा एक–दुईजना पुरुष पनि थिए। 

मधेसबाट २५ दिनअघि सारिएका उनीहरूका पाइला बिहीबारमात्रै काठमाडौंमा बिसाइएका थिए। 

बैशाख १६ गते सप्तरीको भारदहदेखि पैदल हिड्न आँट गरेको थियो– २५ जनाको एउटा समूह। २४ रात सप्तरीदेखि काठमाडौँबीचको खुला आकाशमुनि बिताएर काठमाडौँ आएको सो समूह त्यसै फर्किने छैनन्। 

सिंहदरबारमा आसिन सरकारलाई उनीहरूले धेरै भन्नुछ। आफ्नो, घरको, गाउँको मात्र होइन पूरै मधेसको दु:ख सुनाउनुछ। त्यो दु:ख हो– चुरे दोहनले मधेसमा निम्तिरहेको संकट।

धुम्म आकाशले पानीका छिटा खसाल्न थाल्यो। साढे १२ भएको थियो कि! ५ मिनेटपछि पानीका छिटा रोकिए। ठुलो पानी वर्षाउन आकाश सकेन। त्यसै रोकिगयो।

र, १२–१५ जनाको समूहमा अरु थपिदै गए। 

उनीहरू पनि २५ दिन पैदल हिडेर माइतीघर आएका हुन्। बिहीबार ११ बजेतिर माइतीघर आइसकेपछि भोको पेट भर्न बाहिर गएका रहेछन्। जसमध्ये दीपक यादव भेटिए। 

उनलाई हामीले जिज्ञासा राख्यौँ किन २५ दिन हिडेर काठमाडौँ आउनुभएको हो? चुरे बचाउन– उनले जवाफमा भने। उनको घर धनुषाको सबैला नगरपालिका– १२ टोकी गाउँमा हो। 

चुरे दोहनले उनीमात्रै होइन सिङ्गै मधेस पानी संकटसँग जुधिरहेका रहेछन्। पानी संकट यतिसम्म छ कि उनकै भनाइमा गाउँमा चापाकल (पम्प)का पानी सुकिसकेका छन्। खोला–नदीमा पानी सुक्दा फसल (अन्नबाली)उत्पादन घटिरहेका छन्। 

उनकाअनुसार केही वर्षदेखि २५–३० फिट गहिराइका चापाकलमा पानी सुक्दै गएको छ। ५० फिट बढी चापाकल बनाउनुपर्ने भएको छ। साथमा गाउँ नजिकै कमला नदीमा भइरहेको उत्खनन्ले नदीमा पानी देखिन छाडेको छ। 

‘जथाभावी चुरे उत्खनन् गाउँमा पानी संकट निम्तिसकेको छ। चापाकलमा पानी छैन। नदी दोहनले फसलमासमेत असर पुगेको छ। लिची, आँपसमेत फल्न छाडेको छ’, यादव भन्छन्।  

यादवको जस्तै समस्या अहिले तराई–मधेसले भोगिरहेको छ। नदीमाथि मानवीय दोहन आक्रामक छ। जसलाई रोक्न बारा, पर्सा, सिराह, सप्तरीलगायतका जिल्लाका २५ जनाको समूह ‘चुरे बचाउ अभियान’ लिएर काठमाडौँको माइतीघरमा धर्ना बस्न आएको छ। 

उनीहरूको १२ बुँदे माग छ। चुरे, खोलानालाको संरक्षण हुनुपर्ने, चुरे बचाउन छुट्टै चुरे ऐन बनाउनुपर्ने, नदीमा बाँध लगाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने, चुरे बचाउने अभियानमा लागेकै कारण क्रसर उद्योगमा हत्या गरिएका पत्रकार दिलिप महतोलाई सहिद घोषणा गर्नुपर्ने, वन अतिक्रमण हटाउनुपर्ने, मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने, भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्नेलगायत माग उनीहरूको रहेको छ।

चुरे दोहनमा जनप्रतिनिधि नै!

चुरे दोहनमा जनप्रतिनिधि नै संलग्न रहेको चुरे तथा वन जङ्गल संरक्षण अभियानका संयोजक सुनिल यादव बताउँछन्। उनकै नेतृत्वमा माइतीघरमा धर्ना दिन मधेसबाट २५ जनाको समूह पैदल हिँडेर सरकारसँग दु:ख पोख्न आएको हो। 

उनले पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म चुरे दोहन जथाभावी भइरहेको बताउँदै यसलाई नियन्त्रण नगरिए मधेसमा ठूलो संकट निम्तिने बताए।

‘मधेसकै बारा जिल्लाको कुरा गर्ने हो भने पहिलेका २५–३० फिटका चापाकल त चुरे दोहनले सुकिसके। अब चापाकलबाट पानी निकाल्न ८०–९० फिट खन्नुपर्ने भइसक्यो। नदी दोहनले सिचाइँमा उस्तै समस्या भइसक्यो’, उनी भन्छन्।

सुनिलले २०७२ सालदेखि चुरे बचाउ अभियान थालिएको भएपनि सरोकारवाला निकाय गम्भीर हुन नसकेको गुनासो गर्छन्। उनले नदी उत्खनन्को अनुगमन गर्ने जिल्ला समन्वय समिति मुख दर्शक बनेर आफै उत्खनन्मा सहयोग पुर्‍याउँदै गएको आरोप लगाउँछन्। 

‘चुरे संरक्षण गर्न सिडियो छ। जिल्ला समन्वय समिति छ। ती सबै मुखदर्शक छन्। चुरे दोहन रोक्न छाडेर थप सघाइरहेका छन्’, उनले भने।  

सुनिलको नेतृत्वमा भएको चुरे संरक्षण अभियानको आन्दोलन यो पहिलो होइन। संघीय सरकारसँग यसअघी एक पटक चुरे संरक्षणमा सहमति भइसकेको छ। ११ दिनको पैदल र त्यसपछि १५ दिने धर्नापछि सरकारले उनीसँग यसअघि चुरे संरक्षण गर्ने भन्दै सहमति गरेका थियो। 

त्यसपछि पनि सरकारको सहमति कार्यान्वयन नभएपछि मधेसमै उनले धर्ना, चक्काजाम, आमरण अनसन, हुलाकी राजमार्ग पदैलमार्च गरी सरकारलाई दबाब दिइरहेका छन्। 

तर सरकार चुरे संरक्षणमा भन्दा दोहनमा लागेको भन्दै थप संघर्षका कार्यक्रम लिएर काठमाडौँ आएको सुनिलले बताए। उनले अब सरकारसँग परिणाममुखी सम्झौता गरेर मात्र घर फर्कने बताए। 

सरकारले पनि चुरे बचाउन अभियान नै चलाएको छ। ‘राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम’ सरकारले चलाइरहेको छ। तर ती कार्यक्रम प्रभावकारी भने देखिएको छैन। 

चुरे संरक्षण अभियन्ता सुनिल हरेक वर्ष सरकार चलाएको ‘राष्ट्रपति चुरे-तराई मधेश संरक्षण’ कार्यक्रम कार्यक्रता भर्तीकेन्द्र भएको आरोप लगाउँछन्। ‘करोडौँको बजेट यस कार्यक्रमबाट खर्च हुन्छ तर प्रभावकारी हुन सकेको छैन’, उनले भने ‘सबै कार्यक्रता भर्तीकेन्द्र भएको छ।’

तस्बिर/भिडियो– शनि शाक्य/ बिएल नेपाली सेवा

प्रकाशित मिति: : 2024-05-23 20:25:00

प्रतिकृया दिनुहोस्