उपनिर्वाचनको तयारी पूरा, कहिलेदेखि हुन्छ मतगणना?

शनिबार (बैशाख १५ गते) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा निर्वाचन हुँदैछ।

यी दुई क्षेत्रमा हुने उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए। ‘मतपत्र, पतपेटिका मतदान केन्द्रमा पुगिसकेको छ। मतदानका लागि आज(शुक्रबार) साँझसम्म मतदान केन्द्र तयारी भइसक्छन्’, उनले भने। 

आयोगले निष्पक्ष र भयरहीत वातावर्णमा निर्वाचन हुने भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ। निर्वाचन भयरहीत बनाउन जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछ।

यस पटक म्यादी प्रहरी भर्ना गरिएको छैन। 

१ लाख ७६ हजार मतदाले मतदान गर्दै

दुई निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा १ लाख ६७ हजार ४ सय ६७ जना मतदाता सहभागी हुँदैछन्। जसअनुसार इलाम क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ४ सय ६७ जना मतदाता रहेका छन् भने बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभासभा १ मा ६१ हजार ११० मतदाता रहेका छन्। 

यद्यपि मतदाता नामावलीमा नाम भएकाहरू सबै मतदानमा भने सहभागी हुँदैनन्। यसअघिका निर्वाचनमा पनि सबै मतदाताले मतदान गरेको अवस्था छैन।  

२०७९ मंसिरमा ४ गते भएको आम निर्वाचनमा करिब ६१ प्रतिशतले मात्र मत हालेका थिए। २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा करिब ६५ प्रतिशतले मत हालेका थिए। 

यस पटक हुने उपनिर्वाचनमा कति जना मतदानमा सहभागी हुन्छन् भन्ने कुनै अनुमान छैन। निर्वाचन आयोगका सहायक प्रवक्ता पाण्डेय भन्छन्– ‘कति प्रतिशत मत खस्छ भन्नेमा कुनै आँकलन गरिएको छैन।’

इलाम २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र छन्। बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेका छन्। 

यी दुई निर्वाचन क्षेत्रमा ४ मंसिर २०७९ मा भएको निर्वाचनमा निर्वाचित सांसदको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।

मंसिर ४ को आम निर्वाचनमा इलाम २ बाट एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवार नेम्वाङ निर्वाचित भएका थिए। 

उनको गएको भदौ २६ गते मृत्यु भएको थियो। नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए। उनले तत्कालीन काँग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार भएका नेपाली काँग्रेसका डम्बरबहादुर खड्कालाई हराएका थिए।

खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए। उनी अहिले पनि उम्मेदवार बनेका छन्। 

यद्यपि अहिले गठबन्धन फेरिएको छ। काँग्रेससँग गठबन्धन गरेको माओवादीले एमालेसँग मिलेर सरकार बनाएको छ। यता एमालेले सुवास नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएर मैदानमा खटाएको छ। माओवादीले उनैलाई समर्थन गरेको छ।

यस्तै बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित काँग्रेसका सांसद पृथ्वीबहादुर सिंहको गत असार ५ गते मृत्यु भएको थियो। उनको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो। 

सिंहले १६ हजार ६७७ मत ल्याएका थिए भने उनले एमालेका नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई पराजित गरेका थिए। त्यससमयमा सिंहलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत गठबन्धन दलले समर्थन गरेका थिए। 

एमालेले अहिले ओखेडालाई उम्मेदवार बनाएको छैन। एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउँदा काँग्रेसले अभिषेकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। 

यस प्रदेशसभा निर्वाचनका लागि भने कुनै पनि दलले कसैलाई सघाएका छैनन्। माओवादी केन्द्रले पनि उम्मेदवार उठाएको छ। नेकपा एकीकृत समाजवादी (एस)ले पनि आफैले उम्मेदवार उठाएको छ। 

मतगणना आइतबारदेखि मात्र 

शनिबार मतदान भए पनि मतगणना भने आइतबारदेखि मात्र हुने भएको छ। शनिबार रातीसम्म मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइने र अर्को दिन आइतबार बिहानदेखि मात्र मत गणना हुने निर्वाचन आयोगले जनाएको छ।

मतगणना दुई सिफ्टमा गणना गरेर छिटो निर्वाचन परिणाम घोषणा गर्ने आयोगले तयारी गरेको छ। सम्भवत: एकै दिनमा मतगणना गरिसक्ने आयोगको भनाइ छ।

यी हुन् चुनावी मैदानमा रहेका उम्मेदवार

इलाम–२ मा ७ जना स्वतन्त्रसहित १९ जना चुनावी मैदानमा छन्। बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा भने विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

जसअनुसार इलाममा एमालेबाट सुहाङ नेम्बाङ, काँग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङयाङ लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ रहेका छन्। 

यस्तै नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनबाट मिनबहादुर लिम्बू, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, नेशनल रिपब्लिकन नेपालबाट धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह चुनावी मैदानमा छन्। 

इमाल २ मा नै स्वतन्त्रबाट अर्जुनबहादुर शाही, डकेन्द्रसिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ, राज वश्याल चुनावमा भीड्दैछन्। 
१९ जना उम्मेदवार भए पनि एमालेका नेम्बाङ, काँग्रेसका खड्का, रास्वपाका लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंहबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

यस्तै बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा एमालेबाट दमनबहादुर भण्डारी, काँग्रेसबाट अभिषेकबहादुर सिंह, माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राप्रपाबाट किशोरकुमार खड्का उम्मेदवार रहेका छन्। 

साथै बझाङको चुनावी मैदानमा नेकपा एसबाट दिलबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिपकबहादुर खड्का, जसपाबाट राजबहादुर जाग्री, नेशनल रिपब्लिकन नेपालबाट कमल घर्ती मगर र राष्ट्रिय मातृभूमी पार्टीबाट गजेन्द्रबहादुर थापा चुनावी मैदानमा छन्। 

प्रकाशित मिति: : 2024-04-26 21:45:00

प्रतिकृया दिनुहोस्