पाँच वर्षअघि, म पत्रकार साथीको अफिसमा जाँदै थिए। मेरा परिचित पत्रकार कुनामा उभिएर चुरोट खाँदै रहेछन। साथीले मलाई देखेर हत्त न पत्त चुरोट फाले। ‘चुरोट देखिहाल्नु भयो हत्तेरिका’ साथीले हाँस्दै भने।
पत्रकार साथीलाई आफ्नो स्वास्थ्य बिग्रने कुरामा भन्दा चुरोट खाएको देखेकामा पिर थियो। उनलाई भित्र कोठामा लगेर चिसो खाउँ भनेर मगाएँ।
त्यहाँका कर्मचरीलाई मैले मलाई र उनलाई चिनी नहालेको चिया भए हुन्थ्यो भन्ने आशय व्यक्त गरेँ। उनले लाज मानेजस्तो गरेर भने, ‘हेर्नु न, म त चिसो नभई बस्न सक्दिनँ।’ मैले पनि मौकामा भाषण छाटिहालेँ, ‘चिसो पेय खाँदा तपाईंको हड्डी कमजोर हुँदै जान्छ। अनि तपाईंको शरीरमा चाहिनेभन्दा बढी चिनी जान्छ। शरीर मोटो भएर अनेक रोग लागेपछि कसरी पत्रकार भएर दौडधूप गरेर काम गर्नुहुन्छ त?’ उनले मेरो कुरा यताउति गरेर टारे।
ती पत्रकार साथीसँग केही समयअघि भेट हुँदा चुरोट र चिसो पेय दुवै खान छाडेको बताउँदा भने खुसी लागेको थियो।
अहिलेका युवालाई मुटुको स्वास्थ्य र खानपिनको प्रत्यक्ष सम्बन्ध छ भन्ने सायद थाहै छैन। अहिले मोज गरेर पछि देखाजाएगा भन्ने मानसिकताले गाँजेको छ, अहिलेको युवा पुस्तालाई।
मुटुको स्वास्थ्य नराम्रो भएपछि यसले मृगौलामा पनि समस्या पार्छ। शरीरका अन्य अङ्ग पनि कमजोर हुँदै जान्छन्। उच्च रक्तचाप भएपछि मुटुमा बढी दबाब पर्छ।
अहिले रक्तचापको लागि औषधिहरु पनि निस्केका छन्। तिनले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छन्। तर, जीवनशैली र खानपान बदलिएन भने केवल औषधिले मात्र समस्या समाधन गर्न सक्दैन भन्ने कुरा बुझ्नु त्यति गाह्रो कुरा होइनन्।
अहिलेका युवाले एकछिनको मोज-मस्तीमा आफ्नो स्वास्थ्यलाई र जीवन नै खतरामा पारेका छन्। युवा-युवती अरुका कुरा सुन्दैनन। ‘म सबै कुरा गर्न सक्छु, म सक्षम हुँ, मलाई कसैको उपदेश आवश्यक छैन भन्ने भावना प्रायः युवा पुस्तामा देखिन्छ।’
विभिन्न विवाह, भोज र पार्टीमा युवा-युवतीले पिएको चिसो पेय र जथाभावी खाएको देखेर युवा पुस्ताको स्वास्थ्य पछि के होला कसले विचार गर्ने विषयमा हेर्दैनन्।
अहिले हाम्रो घरमा पाहुना आउँदा कागती पानीको सर्बत वा मोही दिने सट्टा चिसो पेय पदार्थले सत्कार गर्दा बढी सम्मान दिएको मानिन्छ। खाजामा चिउरा र आलु दिँदा अपमान ठानिन्छ तर मानिसको मुटु र मृगौला बिगार्ने चाउचाउ दिँदा सत्कार भएको मानिन्छ।
त्यसैगरी वनभोज जाँदा पहिले-पहिले आलु, रोटी, चना, भटमास खाने चलन थियो। भने, अहिले पाउरोटी, चाउचाउ, चिसो पेय पदार्थजस्ता शरीरलाई खोक्रो पार्ने खानेकुरा लिएर गइन्छ। एकछिनको जिब्रोको स्वादले शरीर धमिराले जस्तो खोक्रो पार्दै लगेको पत्तै हुँदैन।
सानैदेखि मातापिताले खानेकुरालाई नियन्त्रणमा नराखेको हुनाले अहिले कतिजना किशोर-किशोरी मोटोपनको सिकार भएको देखिएको छ। एकजना १५ वर्षका ५ फिट उचाइका किशोर ५४ केजीका थिए।
उनका बाजेले माया गरेर उपहार दिने गरेकाले ती किशोरले घरको खाना नखाने र बाहिरको चिसो पेय चकलेट र कुरकुरे मात्र खाने गर्थे। घरमा भात नखाएपछि स्कुल जाँदा ‘भोक लाग्ला खाजा खाउ’ भनेर घरबाट पैसा दिएपछि ती किशोरको खाजा, समोसा, चाउचाउ आदि मात्र हुन्थ्यो। ती किशोरलाई एकदिन छातीको समस्या भएर डाक्टरकहाँ लग्दा डाक्टर त छक्क परेका थिए।
‘यति मोटो तिमी कसरी भयौ? तिम्रो त तौल तुरुन्त घटाउनुपर्छ। नत्र त तिमीलाई पछि अनेक रोग लाग्छ’ भनेर छातीको समस्याको औषधि दिए।
ती किशोरलाई भने डाक्टरसँग एकदम रिस उठ्यो रे कारण चाहिँ डाक्टरले उनलाई मोटो भन्यो भनेर। औषधि खाएपछि ती किशोर ठिक त भए तर किशोरका मातापिताले अब उनको तौल घटाउनुपर्छ भनेर कोक नखाऊ, डाइट कोक खाऊ है भनेको मैले सुनेँ। ती किशोर त बच्चै थिए, बुद्धि थिएन तर ५० वर्षका आमाबाबुको डाइट कोक खाऊ भनेको बुद्धि देखेर चाहिँ म छक्क परेँ।
डाइट कोक बाहियात कुरा हो भन्ने कुरा तिनलाई कसैले भनेको छैन कि? टिभीमा आएका विज्ञापनले प्रभावित भएर किशोर र युवा-युवती अहिले अतिअस्वस्थकर खाना खान्छन्। पोषणले भरिपूर्ण भएका दाल, भात, रोटी, दहीलाई अवहेलना गर्छन्। अनि, बिरामी भएपछि अस्पताल र औषधिको भरमा सम्पूर्ण जीवन बिताउनु पर्दा कति समस्या पर्छ विचार नै गर्दैनन् अनेक रोग लागेपछि मानसिक तनावमा पर्छन्।
अहिलेसम्म युवालाई स्वस्थ कसरी रहने भन्ने जानकारी दिन सरकारले कुनै कार्यक्रम चलाएको छैन। मृगौला रोगीलाई डायलिसिस गर्न पैसा दिने भनेर भनेर सरकारले महत्वाकांक्षी कार्यक्रम त ल्यायो तर सबैले मृगौला स्वस्थ रहोस भनेर जीवनशैली र खानपिनमा कसरी सुधार गर्ने भनेर कुनै स्रोत छुट्याएको छैन।
मधुमेह विशेषज्ञ डा. ज्योति भट्टराईले भन्नु भएको सम्झन्छु, ‘मोटोपनको प्रमुख कारण अस्वस्थकर खाना, चाउचाउ, पाउरोटी, बिस्कुट, चियो पेय पदार्थ हुन यस्ता खानेकुराले शरीरमा क्यालोरी बढाउँछ र मोटोपन ल्याउँछ। अनि मोटोपनले हुने समस्यामध्ये रक्तचाप र मुटुको समस्या साथै मृगौलाको समस्या हुन्छ। अहिले विभिन्न अस्पतालमा गएर अनुसन्धान गरियो भने सायद मुटु र मृगौलाका धेरै रोगी मध्ये युवा उमेरका मानिस बढी फेला पर्छन्।’
युवा जमातले अहिले नै स्वास्थ्य र खानपिनबारे विचार गरे कसो होला ताकि स्वस्थ भएर बुढ्यौलीमा पनि रमाइलो गर्न सकियोस्।
(लेखक जनस्वास्थ्यविद् हुन)