चट्टै चंखेली!    

रारा ताल सेल पणिग्यो चंखेली छायाले।
सौराइ लागि मरु भैगई सुवाका मायाले।।

जीवन र सभ्यता बुझ्न चाहानेहरूका लागि यात्रा उत्कृष्ट माध्यम हो। नेपाल यसै पनि प्राकृतिकरुपमा सम्पन्न छ। डुल्न, घुम्न र जीवन बुझ्न नेपालभरि अनेकौं विकल्पहरू छन्। जसमध्ये घुम्ने र डुल्नेहरूको लागि रारा अग्रस्थानमा आउने प्रमुख गन्तव्य हो। पाँच किलोमटर लम्बाई, तीन किलोमिटर चौडाई र १ सय ६७ मिटर गहिराई भएको बिछट्टै रुपवती रारा चंखेली हिमाललाई काखैमा राखी मुस्कुराई रहेछ। महेन्द्र ताल, रिग्मतालसमेत भनेर चिनिने रारालाई स्वर्गकी अप्सरा, बिछट्टै रुपवती लगायत उपमाले पनि सम्बोधन गर्ने गरिन्छ। यसपाली झन्डै साढे चार दिन राराको रमिता हेरेर फर्केपछि यात्रा–स्मरण लिपिबद्द गरेको छु।

डोटीमै जागिर गर्ने हुँदा, म लगायत रारा यात्रामा निस्किने यात्रा समूहका सदस्यहरूले शुक्रबार अड्डाको कामधाम सकेर छोटो समयको छिट्टै योजनापछि रारा निस्कने भन्दै कान्छी नेपाल समेत भनी चिनिने डोटीको सिलगढीबाट गोधुली हुनै लाग्दा प्रस्थान भयौ। म समेत गरी सात जनाको समूह बन्यो।          

कर्णालीका छालै–छाल भोट्या बाइगो मुगु।
सुवाका सुनौली कोल क्या नियले (निउ) पुगु।।

जस्ता डेउडा गीत सुन्दै डोटी–अछामको सिमाना चौखुट्टे हुँदै अछाम साफेबगर पुग्दा रात परिसकेको थियो। साफेबगरबाट मंगलसेन अछाम डेड घण्टाको यात्रापछि चिनेजानेका साथीको साहाराले मंगलसेन नै बास बसियो। भोलि बिहानै निस्किने सल्लाहसाथ थाकेको ज्यान मस्त निदाइयो।
एकाबिहानै मंगलसेनको उशाकलीन सिरेटोले संकेत गरेपछि यात्रा समुहका सबै साथीहरू जम्मा भै मंगलसेनबाट ठुलासैन हुँदै काफल–गुरासको जंगल छिचोल्दै अघि बढ्यौ।

एक राजा मंगलसैन्या एक राजा दर्नाली।
पानि तीस लाग्याकि लाग्यै कहाँ बग्छै कर्णाली।।

निकै लोकप्रिय डेउडा गीत सुन्दै जंगली जनावर वाँदर, रतुवा मृग, चराचुरुंगी–डाँफे, कालिच लगायत हेर्दै पंचदेवल विनायक पुग्यौँ। मुलपक्की सडकलाई पूर्व सिरानी दिएर पर्यटकको समेत पर्खाइमा रहेका पंचदेवलको दर्शन गरियो। पाँचवटा ढुंगाका थुम्काले अयक्ष मल्लले बि.स. १६१६ मा निर्माण गरेका यी देवलहरू शक्तिपीठको रुपमा पुजा गरिन्छ। कालिका देवीको थान मानिने यी देवलमा दशैँको महाअष्टमीमा बोका, राँगाको वली चढाउने गरिन्छ।

सुदुरपश्चिम र कर्णालीका अधिकांश स्थानमा पंचदेवलहरू छन्, जहाँ बसेर न्यायइन्साफ गर्ने, सामाजिक–साँस्कृतिक बेमेल र बिग्रहको सघन छलफल गर्न पंचभलाद्मीहरू बस्ने समेत गरिथ्यो। यसलाई न्याय–कानूनको क्षेत्रमा देवन्यायको रुपमा समेत लिने गरिन्छ। कालिकोटको खाडाचक्रमा पनि यस्तै किसिमका पंचदेवलहरू रहेको पाइन्छ। जुन स्थानहरू सामुदायिक मेलमिलाप केन्द्रको रुपमा समेत प्रयोग गर्न सकिन्छ। गाउँटोलमा हुने पंचदेवलहरू हाल घर बनाउने वा सोही ढुंगामाटो प्रयोग गर्नेले बिनास पनि गर्दै गैरहेका छन्। यसको संरक्षण, सम्वर्धन र पर्यटनकालागि प्रवर्धनको जरुरी देखिन्छ।

पंचदेवल विनायकलाई विदाइ गर्दै मध्यपहाडी लोकमार्गको बाटो हुँदै बेलखेत झरियो, जुन सुदुरपश्चिम र कर्णाली जोड्ने एक प्रबेशद्वार हो। सिमाना छुट्टिने गरी कर्णालीमाथि फलामे पुल र सिमेन्टको पुल मुस्कुराइ रहेको थियो। पुलपारी पहाडमा लहरै लागेर मोटरहरू बाटो छिचोल्दै थिए, जुन दृश्य चलचित्रका पर्दामा देखिने भन्दा कम थिएन। कर्णालीको पुल तरेपछि उत्तर दैलेख, कालिकोट हुँदै हुम्ला, जुम्ला र मुगु जोड्ने सडक लाग्छ भने दक्षिणतिर सुर्खेत, नेपालगन्ज जाने सडक छ। हामी भने उत्तर लाग्यौ।

दैलेखको आठबिसकोट नगरपालिका अन्तर्गत पर्ने राकमबजार पुग्यौं। कर्णालीको छेवछाउ लहलह गहु बयाली खेल्दै बिहानका सितका थोपालाई विदाइ कालिकोट लागियो। कर्णाली दक्षिण बग्दै थियो हामी उत्तरतर्फ जाँदै गर्दा कर्णालीपारी पट्टि अछामका ठुल्ठुला पहाडहरू फुंग उडेका थिए। कालिकोटको लालुखुलालु कर्णाली पारी पर्खिरहेको थियो, जहाँ अस्थायी प्रकृतिको पुल थियो। उक्त कर्णाली पुल तरी पारी जाने सडक हुम्ला जाने बाटो रहेछ। भर्खर खनेको ट्रयाक बेस्सरी धुलो उडिहेको थियो। बेलाबेखत गुड्ने गाडीहरूले थप सुन्दरता थपिरहेको थियो।

हामी भने अछाम र कालिकोटको सिमाना उ त्यहीं हो भनी पारीको खोल्सो र कर्णाली तरेर कालिकोट हुँदै हुम्ला जाने सडक हेर्दै मान्मतिर लाग्यौँ। आखिर अछाम र कालिकोटको सिमाना विवाद अहिलेसम्म कायमै छ। जुन कुनै घटना घट्यो भने कस्सले अनुसन्धान वा छानविन गर्ने भन्ने बेला थप चर्चामा आउने गर्दछ।

कर्णाली छुट्यो, अब हामी तिलाको पुल तरेर मान्म कालिकोटको उकालो घुमाउरो बाटो लागियो। कान्छो जिल्ला कालिकोटमा बसन्तको पूर्वसन्ध्यामा भएर होला फुंग उडेका उराट डाँडाहरू एकले अर्कालाई चियाउँदै थिए। बनजंगल प्राय: कम भएर हरियाली पनि कमै थियो भने कालिकोट अन्य कर्णालीभन्दा तुलनात्मक कम रसिलो थियो। कालिकोट मान्मको उकालो अग्ला डाँडा माथिबाटको सडकमार्ग हुँदै तिलाको तिरमा आइपुग्दा तिलाले आफुलाई हामी उत्तर लागिरहँदा आफुलाई दाहिने पारेर दक्षिणतर्फ बगिरहेकी थिइन्। 

कालिकोटको नाग्म बजार पुगियो, जहाँ  सिंजा उपत्यका हुँदै आउने हिमानदी र जुम्ला खलङ्गाबजार हुँदै बग्दै आउने तिला नदीको संगम पनि हो। अब, हामी कालिकोटलाई बिदाइ गर्दै जुम्ला लाग्यौँ। हामीहरू जुम्ला बजारतर्फ नगइ सिंजा भ्यालीतर्फको बाटो लाग्यौँ, जहाँ सिंजा उपत्यकाका ज्युँला (फाँटहरू) देखिन थाले, हिउँले डडेका घाँसे मैदानहरू, डाँडाहरू, कहिँकतै धुपीसल्लोका वनहरू, पालुवा भर्नै लागेका स्याउबारीहरू प्रशस्तै थिए। बिछट्टै रसिलो जुम्ला, त्यसमाथि सिंजा उपत्यका उराट समयमा पनि बिछट्टै रुपवती देखिन्थ्यो।

हामी, “जुम्ला मेरा स्याउका फारम, छ कि प्यारारप्यारी ज्यानमा आराम” भन्ने जुम्ली गायककै स्वरको देउडा गीत सुन्दै गोठीज्यूँला पुग्यौँ। कुनैबेला निकै चर्चा पाएको पिलीलाई परेलीले देखुन्जेलसम्म हेरी रह्यौँ। लुड्कु (जुन यो पंतिकारको उद्गम स्थल हो), त्यसलाई पनि धितमरुन्जेल नियाल्दै गर्दा, सन्ध्याकालीन गोधुलीले बास बस्ने संकेत गर्‍यो। हामी फेरि पनि चिनेजानेकै साथीभाइहरूकै सहाराले गोठीज्यूलाको गोरुचौरमा बास बस्यौँ। जुम्ली मार्सीको भात र जुम्ली सिमिको तिउनले मस्त पेट भर्दै क्याम फायर गर्दै कतै–कतै मात्र बत्ती बलेका जुम्ली बस्ति नियाल्दै सुत्यौँ। 

आज रारा पुग्ने दिन बिहानै मन हत्पताउँदै हलुङ्गो भएको थियो। गलाल्नु (एक प्रकारको जंगली जडिबुटी) राखेको चिया पिउदै हामी बिदावारी भयौँ। जुम्लाका घरहरूको आफ्नै मौलिक बिशेषता छ। काठमाथि प्रशस्तै माटो राखी चिसोबाट जोगिन बनाएका एक तले घरहरू सुन्दर शोभा दिइरहेका थिए। घुँजुमुँजु परेका बस्तीहरू अन्य हिमालीपहाडी जिल्लामाभन्दा जुम्लामा बाक्लोवस्ती देखिन्थ्यो। सल, काम्लो, राडीपाखीको खोचो हालेका जुम्ली महिलाहरू सुल्पामा तमाखु तान्दै गरेका दृश्यले एकखालको मौलिक परम्परा झल्काइरहेको थियो। सुख्खा हावाले काला अनुहार भएपनि आशाका उजेली साथ मुस्कुराउने जुम्लीहरूमा देश देखिन्थ्यो, भाषा सुनिन्थ्यो, उद्गमता पाइन्थ्यो, सभ्यता सजिएको थियो, संस्कारले सुन्दरता सुम्पेको थियो।

हामी बिराट जुम्लीज्यूँला र सभ्यतालाई नियाल्दै मुगु र जुम्लाको सिमाना भुलभुले पुग्यौँ। बाटोमा जुम्ली गोठाला सहित पाठा (भेडाहरू), घोडा, भोटेकुकुर सहितको बथान समेत नेत्रभोजन गर्दै अघाडि बढीरहँदा एकपटक गुरुकुल आरोहनमा सुइना कर्णालीका भन्ने नाटक हेरिरहँदा “कर्णाली दख्खिन (दक्षिण) बग्दो छ, दु:ख उत्तर बग्दा छन्” भनेको डाइलोकको खुब याद आइरहेको थियो। जसरी कर्णाली सलल दक्षिणतिर बग्दछ, त्यसैगरी त्यसलाई (कर्णाली) उत्तरतिर बग्न र बगाउन कति असहज होला, कर्णालीबासीको दु:ख पनि भौगालिक सुन्दरता हुँदाहुँदै त्यस्तै छन्। वास्तविक नेपालको मुहार पश्चिम पहाडी र हिमालीवस्ती नपुगी देखिन्न, महसुस गर्न सकिन्न।

अब हामी घुर्चीको लेक पुग्यौँ। जुन मुगु जाँदाको सबैभन्दा अग्लो स्थान पनि हो। हिउँ पग्लेकै थिएन, धानचुली हिमालहरू नजिकै देखिन्थ्यो। घुर्ची र डाँफेको लेकमा गोरेटो पाउडन्डीबाटो हुँदा अधिकांशलाई लेक लाग्ने पहिलेका जागिरदार लगायत त्यो बाटो हिड्ने बटुवाबाट जानकारी पाएको थिएँ। अब भने सरर मोटरबाटो छ। हामी घुर्ची हुँदै मुगुको पिना पुग्यौँ, अबभने उ त्यही हो रारा भन्दै बाटो छेउछाउमा मान्छेलाई सोध्दै अघि बढ्यौँ। मुगु गम्गढी जाने बाटोबाट ताल्चा विमानस्थल जाँदो रहेछ, हामी भने त्यो बाटो नलागी झ्याउरी गाउँको सिरान सल्लेरी अथवा रारा राष्ट्रिय निकुन्ज हुटु मुगुमा यहाँहरूलाई हार्दिक स्वागत छ, लेखिएका अक्षरहरूको उच्चारण गर्दै राराताल, निकुन्ज कार्यालय र सेनाको ब्यारेक भए तिर लाग्यौँ।

हामी राराताल पुग्दा मध्यान्न भैसकेको थियो। रारा छचल्किँदै थियो। चंखेली हिमाल चट्टै परेर हामीलाई नै पर्खिरहे जस्तो थियो। उता मुर्माटप मुस्कुराइरहेको थियो। हामी तालको नजिक पुग्नै लाग्दा मुगेलीहरूले घोडा चड्ने हो? फोटो खिच्ने हो? टिकटक बनाउने हो? भन्दै घोडाका लस्कर हाम्रै अघाडी ल्याए। हामीहरूले घोडा छान्यौँ, कुदायौँ, फोटो खिचायौँ। उनीहरूले भने जस्तै टिकटक पनि बनायौँ। 

सामान्यतया मध्यान्न १२ बजेपछि रारामा हावा बेस्सरी चल्छ, त्यहीं भएर १२ बजेपछि ढुंगा चलाउँदा रहेनछन्। हामीले नेपाली सेनालाई आग्रह गर्यौँ, हावा पनि त्यति नचलेको हुँदा ढुंगामै राराताल तरेर पारी जाने कुरा भयो, जहाँ हाम्रो बास बस्ने गन्तब्य थियो। नेपाली सेनाको ढुंगा तयार गरी पारीबाट वारी हामी भए तिर आउन झन्डै एक घण्टा जसो लाग्ने जानकारी पाएपछि हामीहरू रारामै नुहाउने भयौँ।

निलो चिसो राराको रंग फेरिरहने गाढा पानी मज्जाले जानेजति पौडी खेल्दै नुहायौँ। धित मरुन्जेल फोटो भिडियो खिच्यौँ। डुंगा आइपुग्यो अब भने हावा अलि चर्किदै गयो, तर पनि हामी ढुंगामा सवार भयौँ।  हावाले रारा रिसाइरहे जस्तो देखिन्थ्यो। तालमा पानीका छाल सँगै बयाली खेल्दै १ सय ६७ मिटर आयो है भन्दै हामी पारी पुग्यौँ।

रारा छेउमै स्थानीय राजनीतिक अगुवाको होटेलमा रहेछ। डाँफे होटेल पर्यटकले भरिभराउ हुने एक मात्र होटेल रहेछ। घाम डुब्नै लाग्दा इन्द्रेणीले सप्तरंगी भरेजस्तै हेरिरहूँ जस्तो राराले गोधुली संघारमा रुपान्तरण गर्‍यो। हाम्रो क्यामफायर शुरु भयो अनि मुगुका मुग्यालहरूसँग मेरो डेउडा सवाल–जवाफ चल्यो। हामीले माया, प्रेम, सम्बन्ध, सभ्यता, इतिहास, विकास, विगत र बर्तमानका डेउडा सवाल जवाफ गरिरहँदा रुवावासी चल्यो मुग्यालहरू रुँदै गर्दा म पनि बेस्सरी भक्कानिएर रोएँ र भने–

नभिट्टीनू नछुट्टिनू धन्य माया जाल।
गैलो छैइकि मुथलो छै मेरा रारा ताल।।

राराभन्दा गहिरो मुग्यालको मायाले गहभरी आँसु भए। म एक्लै उनीहरू ५/७ जना हुँदा पनि डेउडा आगो बाल्दै जमेकै थियो। पानी पर्ने संकेत भयो। खाना पनि चिसो हुने हुँदा मुगेली मार्सी चामलको भात खाँदै गर्दा पानी छिट्टाउन लाग्यो। अब, हामी सुत्न तिर लाग्यौँ। हामीले भने चिल्ला सिमेन्टेटवाला घरमा सधै सुतेकै हो, भन्दै टेन्टमा सुत्ने निर्णय गर्यौँ। हाम्रो समूह राराताल छेउकै चौरमा खुल्ला आकाशमुनि टेन्ट गाढेर सुत्यौँ।

असिना सहितको पानी आयो, अलि–अलि हिउँ पनि पर्यो तर हामीलाई भिन्न आनन्द आइरहेको थियो। चिसोमा मस्त निदाइयो। 

उषाकालीन मै स्वर्गकी अप्सरा हेर्न हतारिँदै तयार भयौँ, कोदो र फापर मिसाएको रोटी र गनाल्नुको चिया खाँदै सामुहिक, एकल तस्बिर कैद गर्दै हामी फर्खिने तर्खरमा थियौँ।  रुप फेरिरहने रुपवती रारा सुहागरात मनाएर पटुकीले मुन्टो छोप्दै बाहिर निस्केकी नवदुलही जस्तै लज्जाएर शान्त मुन्द्रामा थिइन्। हामीले नेपाली सेनाको आतिथ्यता स्वीकार गर्दै चिया पिएर सेनाकै ढुंगामा फिर्ता भयौँ। अब भने रारा हिजोको जस्तो रिसाएकी थिइनन्, शान्त थिइन्, लज्जालु थिइन्, चुम्बन गरौँ की स्पर्श गरी रहूँ लाग्ने प्रिय रारा रुप भने फेरिरहेकी थिइन्।

ढुंगाबाट फिर्ता भइरहँदा चंखेली भने चिटिक्कै परेर हामीलाई नै बिदाइ गर्न बसिरहेको थियो। सानो छँदा बुबाले हेराउन गर्दा सरस्वतीलाई चढाएको रु एकको नोट दिदाँ चित्त नबुझेर च्यातेको चंखेली आँखै अगाडि देख्दा त्यो घटनासँग जोड्दै उमंग भएको थियो। कुनैबेला आफुले सबैभन्दा बढी स्पर्श गरेको रु एकको नोटमा हुने चंखेली हिमालको चित्र आज आखै अगाडी अडेस लगाएझैं गरेर फोटो खिचेँ। मुर्माटप मुसुमुसु हाँसेको हास्यै थियो।  रारा वरिपरीका वनवुट्यानहरूले लोभ्याइरहेका थिए।  हामी भने झन्डै २४ घण्टा रारामा बिताएपछि फिर्ता भएका थियौँ। फर्किन पटक्कै मन थिएनँ, नेत्रभोजनले हामी अघाएकै थिएनौँ, आखिर मन परेकी रारासँग उम्दा प्रेम थियो कहाँ छुट्टीन मन थ्यो र। 

फर्किँदा ताल्चा विमानस्थल पनि हेर्‍यौँ। पर गमगढी गमक्कै परेर बसेको थियो। ताल्चा विमानस्थलमै चिनजानको साथीको साहराले खाना खायौँ र बिदाइ भयौँ। उही दृश्य, उही बाटो तर पटक्कै धित नमर्ने मुगु–जुम्ला हुँदै कालिकोटको मान्म बजार आएर बास बस्यौँ। भोलिपल्ट बिहानै दैलेख हुँदै बेलखेत आइपुग्दा घामले कलिलो रंग भर्दै थियो। हामीहरूले कर्णाली नदीमा नुहायौँ, चिसो पानी मज्जाले थाकेको ज्यान सेक्यो। अनि अछाम गैरीटाँटमा दिवाखाना खाँदै ठुलासैन–मंगलसेन हुँदै साफेंबाट यात्रा सुरु गरेको स्थान कर्मथलो आइपुगियो। 

फरक समय र मौसममा फरक सुन्दरताले भरिपूर्ण रारा प्राकृतिक रूपले साँच्चिकै सुन्दर छ। तर उस्तै विकट पनि छ। बाटो–बाटोमा होटलको ठिकै प्रवन्ध छ। बाजुरा तिरबाट पनि रारा पुग्न सकिन्छ। अलि खर्चिलो भएपनि जीवनमा एक पटक पुग्नै पर्ने गन्तव्य हो रारा। यहाँको यात्राबाट जीवन बुझिन्छ, प्राकृतिक सन्निकटता प्राप्त हुन्छ र वास्ताविक स्वर्गलोकको अनुभूति हुन्छ। र त म पनि रारालाई किन स्वर्गकी अप्सरा उपमा किन नदिऊँ!

चट्ट रैछ चंखेली त् झनै राम्रो ताल।
मौका मिल्या अझ पनि औला पुणा साल।।

(खप्तडछान्ना गाउँपलिका बझांग स्थायी ठेगाना भएका लेखक पाध्याय हाल उच्च अदालत दिपायल, डोटीमा इजलाश अधिकृत हुनुहुन्छ) 


 

प्रकाशित मिति: : 2024-04-12 11:15:00

प्रतिकृया दिनुहोस्