सेतो च्यादर भित्रको यात्रा

Breaknlinks
Breaknlinks

तँ दुरै म पनि दुरै माया नहोउ दुरै।
हिमाल हिउँ परि गयो अल्कि धुरै-धुरै।

नेपाल प्राकृतिक विविधताले सम्पन्न मुलुकको सुनौलो उपहार हो। यहाँ बसन्तमा हरिया हुने पर्वतमालाहरु शिशिरमा सेताच्यादर ओडेर मुस्कुराई रहेका छन्। वर्षाैपछि हामीहरुले हिउँसँग लुकामारी खेल्न पायौँ। हिउँसँग हातेमालो गर्न पायौँ। स्पर्श गरिरह्यौँ। त्यही सेतो च्यादर भित्रको यात्रा स्मरण कोशेली तपाईंहरु माझ पस्केको छु:

२०७८ माघ १८ गते उच्च अदालत दिपायलका माननीय कायमुकायम मुख्य न्यायाधी टेकनरायण कुँवर र माननीय न्यायाधीश जगतबहादुर थापा, शाखा अधिकृत अनिरुद्ध साउँद र म लगायतकाे टाेली बझाङ्गतर्फ प्रस्थान गर्‍याैँ। दिपायलबाट बझाङ्ग जानुको मुख्य उदेश्य जिल्ला अदालतको निरीक्षण थियो। यो संवैधानिक र कानूनी दायित्व पूरा गर्न सडकमा भरतमल्ल गुरुजीले पहाडकी रानी हुँदै सेतिका तिरै तिर हुँदै कुदाएकाे गाडी गोधुली हुनै लाग्दा सदरमुकाम चैनपुर पुग्याे।

बझाङ्ग जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थी र तहशिलदार नरेन्द्र शर्मा लगायतका कर्मचारीहरु फूलमालासहित स्वागत गर्दै विश्रामतिर लागियो। साँझको मीठो भोजन र एकदिनको गफगाफपछि सुतियो। २० गतेकाे बिहानको नृत्यकर्मपछि व्याटविन्टन खेल्दै वि.सं. १९६२ सालमा मानवतावादी बझाङ्गी राजाले स्थापना गरेको श्री सत्यवादी माध्यमिक विद्यालय हुँदै बझाङ्गी राजाको पुरानो तर अत्यन्तै कौशलपूर्व भोपुर दरबार पनि अवलोकन गर्‍याैँ। भोपुर दरबारलाई नेपाली सेनाले पहरा दिएको रहेछ।

नागबेलीझै बगेका सेती नदी बाहुलिगाड भित्रको त्रिभुजाकारको चैनपुर बजार घुम्दै डुल्दै अलिक पर देखिने हिमालयका चुचुरा हेरी दिउँसोको खाना खाएपछि अदालत निरीक्षण गर्‍याैँ। सम्पन्न भौतिक पूर्वाधार भएको बझाङ्ग जिल्ला अदालतले अदालतका भवन पुराना हुन्छन्, भन्ने आमधारणा चिरेको छ।

आन्तरिक व्यवस्थान जारी छ भने सबै कर्मचारीको सामूहिक कर्तव्यबोधले कार्या-वातावरण समेत उत्कृष्ट छ। ७० वर्षका धर्मराज खड्का अझै सेवा दिइरहेका छन्। केही शब्द अंग्रेजी मिसाएर बोल्ने खड्काजी उर्जावान र व्यवस्थित अभिलेखका लागि तल्लीन देखिन्थे। भने, बेला–बेला हसाइरहन्छन्। अदालतको निरीक्षण सम्पन्न हुँदै गर्दा आकाशमा बादल मडारिर्‍यो, सिमसिम पानी पर्न थाल्यो। चिसो मौसममा न्यानो मायाले त्यो दिन काम सम्पन्न गर्‍याे। कारागार निरीक्षण भने पानीले जान सकिएन। प्रमुख जिल्ला अधिकारी सुरक्षा प्रमुखहरु र कानुन व्यावसायीहरूसँग पनि छुट्टाछुट्टै भेटघाट भयो। साँझ पानीसँगै हिउँका प्यालाहरु (पिउला) खस्न थाले। अब चैनपुर बजार हिउँ पर्‍यो-हिउ पर्‍याे भन्दै गञ्ज्यायमान भयो। मैले वर्षौपछि हिउँ परेको देखेर बालापनको यादले आतंक मचायाे। रातभरि पानी पर्‍यो। भोलिपल्ट बिहान एकघण्टा जति लगातार हिउँ पर्‍यो चैनपुर वारिपारीका डाँडा पाखा-पखेराहरुमा सेताम्मे भए हामीहरुले पनि अदालत भवकै छतमा हिउँ खेल्‍यौँ खुब रमायाैँ। चैनपुर बजारमा कयौँ हिउँदमा हिउँ परेको थिएन।

दिनभरि पानी पर्ने र बाटो नखुल्ने खबरले हामी त्यो दिन पनि चैनपुरमै बस्यौँ। दिउँसो पानी रोकिएपछि कारागार निरीक्षण गरी फर्कियौँ। साँझ माननीय जिल्ला न्यायाधीशज्यू र नरेन्द्र सरको आतिथ्यता र आत्मियपन झन प्रगाढ हुँदै गयो। २२ गते शनिबार बिहान घाम लाग्ने संकेत भयो। धाचुली हिमालहरु पहेलो रङ्गसँग रमाउन थाले। हामीहरुलाईंं पनि उर्जा आयो र दिवाभोजन घामको स्पर्श लिदै खायौँ। अनि हामी  माइतबाट फर्किने छोरी झै बिदाई भएर लहलहै हरिया गहुँका फाँट, पहेंलो तोरीका गराहरु एउटा पनि पात नभएको तर फलै-फलले झुप्पा भएको औलाका बोटहरु हेर्दै फर्कियाैँ। सेती नदी पनि हामी सँगै हुत्तिदै थियो। हिउँले बाटाे डिस्ट्रब छैन छ भनेपछि अगाडि बढेका हामीहरु बाटैभरि हिउँ देख्दा हर्षले उन्माद भयौँ।सुरक्षाका साथीहरुले सहजीकरण गर्दै बझाङ्गकाे सीमाना काट्यौँ र बैतडीको सिँगास पुग्यौँ। अब भने बाटो सहज छैन भन्ने अलिअलि खबर सुन्दै अगाडि बढ्यौँ। सिँगासको रमिलाडाँडा पुगेपछि थाहा भयो डोजरले पन्छ्याउन नसक्ने हिउँले ढाकेको सडकले अगाडि बढ्न सकिएन। अब बासको व्यवस्था गर्न पर्‍याे भनि नजिकैको होटल हिल्स भ्यु टपमा गयौँ। त्यहाँ ३/४ दिनदेखि बास नपाएका यात्रुहरु बाँस र गासको खोजी गरिरहेका थिए। ३/४ सय जना जति मान्छेहरु डाँडाभरि कोही गन्तव्यतिर जान त कोही जन्त जान हिँडिरहेका थिए। दुलाहालगायत खास मान्छेहरु दिनभरि हिउँको बाटो २० किलोमिटर जति हिँडेर गएका र अरु जन्तीहरु रमिलापुर डाँडोमा रमाइरहेका पनि दिखियो।

हामीहरुले होटल सञ्चालकलाई सोध्दा– तपाईंहरु आउने खबर पहिलेनै आइसकेको छ, म व्यवस्था गरुँला नआत्तिनुहोला, भनि न्यानो आत्मियता देखाए। हामी केही भए पनि खुसी भयौँ। बाटो खुल्ने/नखुल्ने सोध/खोज गर्ने क्रममा एक जनासँग भेट भयो बझाङ्ग चिर विथ्थडका नरेश खड्का। उहाँले तपाईंहरु पिर नगर्नुहोस् बाटो आज खुल्दैन तपाईंहरू मेरो घर हिँड्नुहाेस् उतै बास बसाैला भनि आतिथ्यपन देखाईं उहाँकै घरतर्फ लाग्यौँ।

नरेशको दाइ, धनबहादुर खड्का राजनीतिक अगुवा र कानुन व्यावसायी पनि हुनुहुँदाे रहेछ। खुल्ला मनकारी धनबहादुर दाइको घर पुग्ने बित्तिकै दुई थाल मकै/भट्मास भुटेर आगो बालेर आगनमा चिया समेत बनाएर खायाैँ।

त्यस्तो प्रतिकुल मौसममा पनि घर परिवारका सबै सदस्यहरुले सेताम्मे घर आँगनमा हिउँ जत्तिकै सफा मन देखाउनुभयो। टिमुरको स्वाँदले भरिपूर्ण घरपालुवा कालिजको सुप स्थानीय गहुँको रोटी र मकैको ढिडो समेत पकाइ खुवाउनुभयो। हामी लगायतका अरु पाहुना पनि यसरी नै वास बस्न पुगेका थिए। धनबहादुर दाइको घरमा तर सबै परिवारका सदस्यहरु खुल्ला हृदयले मुस्कुराइरहने र कहाँ घर सञ्चाे/विसञ्चाे सोधिरहनु हुन्थ्यो। थपिथपि सुप र रोटी खुवाउनुभयो, अनि हामी सबै सुत्याैँ।

बिहान हामी उठ्नुभन्दा पहिलै आँगनमा आगो बालेर पानी तताई हामीलाई राता सूर्यका किरणसँगै चिया खुवाउनुभयो भने मकैको रोटी अचार र मही खुवाउनुभयो। विजुली बत्ती नहुँदा खास गाउँले जीवनमा बस्यौँ। आँगनमा बजिरहेको पानासोनिक रेडियोले खबर सुनाउँदै थियो। त्यही दिन बसन्त पञ्चमी समेत रहेछ। स्कुले विद्यार्थी भाइ–बहिनीहरु तल ढुङगे धारोबाट चिसै पानीले नुहाइरहेका थिए। हामी सबैलाई धनबहादुर दाइकी छोरीले टीका लगाइदिइन् र हामीले सामुहिक तस्विर लिँदै बिदा भयाैँ।

त्यो घर धनबहादुर दाइको मात्र नभई बटुवाको समेत रहेछ, भन्ने लाग्यो। ती परिवारका सदस्यको आत्मियपन र आथित्यताले हाम्रो समाजमा केही सिक्ने खुल्ला पाठशाला जस्ता घर परिवारको संकेत गर्छ। धनबहादुर दाइ धन्य हो।

टीकाटालो गरी बिदाइका हात हल्लाउँदै हामी धनबहादुर दाइका परिवारका सदस्यसँग बिदा हुँदै अगाडि बड्याैँ। धनबहादुर दाइ र नरेश खड्का भने हामी सँगै बाटो लाग्ने भए। त्रिवेणी होटेल विथ्थडमा दिवा खाजाको लागि बस्यौँ, पारिलो घाम ताप्दै सेतो च्यादरले छोपेका डाँडा–काडाँहरु लोभ्याइरहेका थिए। हामी हिउँ खेल्ने खुल्ला मैदान पाटनतिर लाग्यौँ। छपक्कै हिउँले छोपेको कहिलै नदेखेका मनोहक दृष्यहरु हामीले हिउँ खेलिरह्यौ कति सुन्दर दृष्य रुखमा बसिरेको हिउँका ढिस्काहरु बेलावेलामा खस्थे।

हामीले हिउँमाथि कुल्चिदा सौन्दर्य बिग्रेला जस्ता हुने हामो खुट्टा निथ्रुक्कै भिजे तर पनि थाकेनौँ। हामीहरु अब त्रिवेणी होटेलमा गएर खाना खादा दिउँसोको २ बजेकाे थियाे। बाटो खुल्यो भन्ने खबर आयो। अब हामीहरु गन्तव्यतिर प्रस्थान गर्‍याैँ। रमिलापुरसम्म धनबहादुर दाइका दाइ–भाइहरू पनि आउनुभयो। त्यहाँबाट अंकमाल गर्दै उहाँहरु विदा हुनुभयो। हामीहरु अगाडि बढ्यौ।

२ फिट जति हिउँ चिरेर डोजरले संकेत गरेका सडकमा गोदावरी मार्बल बिछ्याएको जस्तो कुनै ठाउँ गाडीहरु नै चिप्लिने अवस्था थियाे। हामी आफैँ हिउँ पन्छ्याएर अगाडि बढ्याैँ। जति हेरे पनि धित नमर्ने आहा ! प्रिय प्रकृति। हामी बैतडीको अनारखोलीमा खुवा, चिया र चाउचाउ खादै गोधुली हुँदै थियो। अनि डुब्दै लागेको सूर्यले सेता पखेरामा किरण भरेको दृष्यले भन्दै थियो,‘ए यात्री हो, जाऊ अब म मेरो समयमा अवश्य आउनेछु।’  

प्रकाशित मिति: : 2022-02-11 19:20:00

प्रतिकृया दिनुहोस्