कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई चितवन पुर्याइएकाे छ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ। खामलाई आजै जिल्ला अदालतमा पेश गरिने प्रहरीले बताएकाे छ।
जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर एवं पूवीरुकुम तथा उत्तरगङ्गा गाउँपालिका–६ हुकाम घर भएका ५० वर्षीय खाम मंगलबार काठमाडौँको ठमेलबाट पक्राउ परेका थिए।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाममगरलाई जिल्ला प्रहरी परिसर काठमाडाैँको प्रहरी टोलीले मङ्गलबार साँझ पक्राउ गरेको थियो।
विसं २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा व्यापारी श्रेष्ठलाई अपहरण गरी हत्या गरेको खाममाथि आरोप छ।
श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएका आधारमा प्रहरीले खामको खोजी जारी राखेको थियो।
यसैगरी २०६७ असार २७ गते गाेंगबुस्थित उनकाे डेराबाट विभिन्न हतियारमा लाग्ने गाेली बरामद, साेही वर्ष असारकै २५ गते यार्सा बिक्री गर्ने निहुँमा बाेलाएर चिनिया नागरिकसँग २१ लाख २० हजार चाेरी गरेकाे, सरकारी छाप दस्तखत किर्ते गरेकाे अभियाेग पनि उनीमाथि छ।