मिटरब्याज पीडितसँग वार्ता गर्नका लागि गृहमन्त्रालयले तीन सदस्यीय वार्ता टोली बनाएको छ।
२५ दिनको पैदल हिडेर काठमाडौँ आएका पीडितसँग वार्ता गर्न आइतबार गृहमन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो।
समितिकाे सदस्यमा मन्त्रालयका अन्य दुई जना उप–सचिवहरु सदस्य रहेका छन्।
यसअघि मन्त्रालयले आइतबार बिहान वार्ताका लागि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर पत्र पठाएको थियो।
तर, उक्त पत्र व्यक्तिगत रुपमा आएको भन्दै छलफलमा नजाने उक्त समितिले निर्णय गरेको थियो। संघर्ष समितिबाट उक्त निर्णय आएपछि फेरि गृहमन्त्रालयले समिति गठन गरेर अर्को पत्र पठाएको छ।
अब मिटरब्याज पीडितको तर्फबाट समिति गठन गरेर आएपछि छलफल हुने सूचना अधिकारी एकदेव अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए। पीडितहरु छलफलमा आएमा आजैदेखि वार्ता गरिने उनको भनाइ छ।
उनले मिटरव्याज पीडितको समस्या समाधान गर्न कहाँ समस्या भयो? कसरी गर्न सकिन्छ? यसअघिको आयोग गठनले किन समाधान हुन सकेनलगायतका विषयमा छलफल हुने पनि बताए।
मिटरव्याज पीडितहरु गएको चैत २० गतेदेखि काठमाडौँमा धर्नामा छन्। आन्दोलन थालेको ११ महिनासम्म पनि कुनै सुनाइ नभएपछि पीडितहरुले माघ १६ गतेदेखि सरकारलाई दबाब दिन मार्च पास गरेका थिए।