केन्द्रीय समितिका लागि काँग्रेस पदाधिकारीले टुङ्ग्याए छलफलका यी विषयहरू

प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु हुँदैछ। बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूको बैठक बोलाएका थिए। देउवा निवासमा बसेको पदाधिकारीहरूको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि विभिन्न अजेन्डाहरू तय गरेको छ। 

पार्टी कार्यालय सानेपामा बैठक दिउँसो एक बजेदेखि सुरु हुनेछ। 

त्यसअघि पदाधिकारीहरूले विभिन्न छ अजेण्डा तय गरेका छन्। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको सय दिने अभियानबारे प्रतिवेदन प्रस्तुत हुनेछ। यो अभियानमा काँग्रेसले विभिन्न जिल्लाहरूमा आफ्ना केन्द्रीय नेताहरुलाई पठाएको थियो। 

त्यस्तै भ्रातृसंस्थाहरूको बारेमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। म्याद सकिएका भ्रातृ संगठनहरूलाई अन्तिम पटक म्याद थप गर्ने र त्यसपछि पनि अधिवेशन हुन नसके स्वत: भंग हुनेछन्। 

त्यस्तै क्रियाशील सदस्य र नवीकरणका बारेमा पनि बैठकमा छलफल हुनेछ। असार मसान्तसम्ममा क्रियाशील सदस्या टुङ्ग्याउनेगरी यसअघि नै सदस्यता व्यवस्था समितिलाई केन्द्रीय समितिले कार्यभार दिएको थियो। त्यस्तै जनसम्पर्क समितिहरूका बारेमा पनि छलफल हुनेछ। ती समितिमा रहेकाहरूलाई पनि सक्रिय सदस्यता दिनेगरी काँग्रेसले विधान संशोधन गर्ने तयारी गरेको छ। 

त्यस्तै पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका बारे र समसायिमक राजनीतिक अवस्थाका बारेमा पनि काँग्रेसले रणनीति अनि धारणाहरू तय गर्नेछ। 
 

प्रकाशित मिति: : 2025-06-29 16:36:00

प्रतिकृया दिनुहोस्