काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

तस्बिर–रविन भण्डारी
तस्बिर–रविन भण्डारी

काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिइन्।

काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।

मौसमविद कँडेलले भनिन्, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ। आज राति पनि वर्षाको सम्भावना छ।’

भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उहाँले उल्लेख गरे। ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ’, मौसमविद् कँडेलले भनिन्।

पानी परेपछि एक भारतीय उडान लखनऊ ‘डाइभर्ट’

काठमाडौँको प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन्।

आज अपरान्ह भारतको मुम्बईबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ। प्रवक्ता झाले भने, ‘आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट  मात्रै उडान भइरहेको छ।’

प्रकाशित मिति: : 2024-02-22 17:08:00

प्रतिकृया दिनुहोस्