दाङ दुर्घटना: बस पुलबाट २५ मिटर तल खस्दा यति धेरै क्षति किन? (तस्बिरसहित)

१२ जनाको मृत्यु र २३ जना घाइते हुने गरी दाङमा शुक्रबार राती बस दुर्घटनामा पर्‍याे। बाँकेको नेपालगन्जबाट काठमाडौँलाई छुटेको भे १ ख ३९१२ नम्बरको बसमा लगभग ३५ जना सवार थिए। 

३५ जना सवार बस राती साढे १० बजे दुर्घनामा परेको हो। दुर्घटनास्थल भालुवाङ हो। राप्ती गाउँपालिका–१ भालुवाङ बजार छेउ भएर राप्ती नदी बग्छ। नदी वारपार गर्न पक्की पुल छ।

भालुवाङ बजारबाट अघि बढेको बस यही पुलबाट शुक्रबार राती साढे १० बजे पुल छेउको रेलिङ भाँच्दै नदीमा खस्यो। वर्षामा ठूलो हुने नदी अहिले हिउँदमा त्यति ठूलो हुँदैन।

जसकारण बस नदीको बालुवामा पर्‍याे। नदीदेखि पुलको उचाइ बढीमा २५ मिटर रहेको प्रहरीले बताएको छ। 

तर, बस दुर्घटनामा यति धेरै क्षति कसरी भयो? भन्ने प्रश्न अहिले उब्जिएको छ। २५ मिटरबाट बस खस्दा बस पूर्ण क्षतिग्रस्त भएको छ।

के कारणले यति धेरै क्षति हुन पुग्यो त? जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक किरण प्रकाश मल्ल भन्छन्– ‘यति धेरै क्षति के कारणले भयो यसै भन्ने सकिन्न।’

उनले बसको अगाडिको भाग पहिले बालुवामा ठोक्किएको देखिने बताए। मल्ल दुर्घटनापछि घटनास्थलमा उद्धारमा खटिएका पनि थिए।

प्रहरीले चालकसँग सोधपुछ गर्दा टायर नघुम्दा बस नदीमा खसेको चालकले बताएका छन्। 

तस्बिर: पत्रकार सन्ताेषकुमार गुप्ता

यो पनि

राप्तीको बगरमा अस्ताए १२ जना (नामावलीसहित)

उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति: : 2024-01-13 11:25:00

प्रतिकृया दिनुहोस्