‘डन्डिफोरलाई हातले चलाइरहनु मानसिक रोग हो’

मिनु गोले

काठमाडौं
Breaknlinks
Breaknlinks

युवा युवातीहरूलाई सताउने डन्डिफाेर तन्नेरीमाझ फैलिएको एउटा ‘थेगाे’ पनि हाे। डन्डिफोरमात्र हाेइन चाया, पोतो, सुख्खा छाला, छाला चिलाउने, दुख्ने, पोल्ने, सेतो दाग देखिने समस्याले पनि धेरै मानिस पिराेलिएका हुन्छन्। 

डन्डफाेर र यसका चरित्रबारे वरिष्ठ छाला रोग विशेषज्ञ डा‍.भाष्कर मोहनलाई बिएलकर्मी मिनु गोलेले केही प्रश्न साेधेकी छन्। 

अनुहारमा डन्डिफोर किन?

डन्डिफोर आउने भनेको एउटा किशोर अवस्था हुन्छ भने, अर्को महिनावारी हुँदा, अनि बजार वा पार्लरमा जथाभावी क्रिमहरूकाे प्रयोग गर्दा डन्डिफोर निस्किन सक्छन्। 

हाम्रो शरीरमा एक प्रकारको चिल्लो पदार्थ हुन्छ, यसकाे काम भनेको  हाम्रो शरीरको एन्टी ब्याक्टेरिया किटाणुको कन्ट्राेल गर्नु हाे।  किशोरीहरूमा महिनावारी भएको अवस्थामा हर्मोनको वृद्धि हुँदै जान्छ।

वृद्धि भइरहेको समयमा प्राय: किशोरीहरुलाई डन्डिफोर आउने गर्छ। यो एक प्रकारको डन्डिफोर हो, अर्को डन्डिफोर भनेको चाया पोतो आएको भन्दै बिभिन्न थरिका पार्लरको क्रिमहरूको प्रयोगले छालामा इफेक्ट पारी जुनसुकै उमेरमा पनि डन्डिफोर आउनसक्छ।

डन्डिफोर पुरुषलाई भन्दा महिलालाई किन बढी आउँछ?

हो यो पुरुषमा भन्दा महिलामा बढी डन्डिफोर आउने गर्छ। डन्डिफोरको सम्बन्ध हर्मोनसँग छ। पुरुषहरूको हर्मोनको लेभल वर्षभरि एउटै लेभलमा हुन्छ त्यसैले महिलामा जुन महिनावारी भएको बेलामा पाठेघरमा बढी हार्मोन पैदा भएको कारणले पुरुषमा भन्दा महिलामा बढी देखिन्छ।

महिनावारी हुँदा वा हुनुभन्दा अघि र पछि किन बढी डन्डिफोर देखिन्छ?

महिलाहरूमा महिनावारी हुनुभन्दा आगडि दुई-तीन दिन अगाडि नै हर्मोन वृद्धि भइरहेको हुन्छ त्यसको असरले अलि बढी देखा पर्छ र जब महिनावारी सुरु हुन्छ अनि महिनावारी खुलेपछि फेरि कम हुँदै जान्छ।

डन्डिफोर पनि कुनै दुख्ने र कुनै नदुख्ने हुन्छ नि?

जुन डन्डिफोर अनुहारमा देखिन्छ त्यो पनि थरिथरिकै हुन्छ। अब रातो छैन, सेतो वा कालो देखिन्छ भने त्यसलाई ‘कोमिडोनल पिम्पल’ भनिन्छ। त्यस्तो डन्डिफोर दुख्दैन। तर, रातो ‘इन्फ्लामेटरी पिम्पल’ छ भने त्यो चाहिँ दुख्छ। दुख्ने खालको पिम्पलले दाग र खत छोड्छ। त्यसैले रातो खालको डन्डिफोर छ भने तुरुन्तै डाक्टरसँग परामर्श लिनु राम्रो हुन्छ।

पिम्पल फुटाउने वा कोट्याउनु कति उपयुक्त हुन्छ?

पिम्पललाई फुटाउने वा कोट्याउँदा अनुहारमा दाग बस्छ। कतिपय मानिसहरूले आफ्नो डन्डिफोर फुटाउँछन्। अरूको पनि फुटाउने बानी हुन्छ, जुन साधारण होइन। डन्डिफोरलाई हातले चालाइरहनु भनेको एक किसिमको मानसिक रोग नै हो। आफ्नै शरीरलाई घाउ बनाउनु हुँदैन। पिम्पल फुटाउने वा कोट्याउने गर्नुभयो भने यसले खत बस्छ। त्यो खत सधैँका लागि बस्छ र त्यसको उपचार गर्न हजारौँ रुपैयाँ खर्च हुन्छ।

डन्डिफोर बढेर घाउ हुने वा शरीरमा सङ्क्रमण फैलने डर चाहिँ हुन्छ कि हुँदैन?

डन्डिफोर फैलिएर शरीरमा खासै त्यस्तो असर गर्दैन। तर, एक प्रकारको डन्डिफोर छ त्यो विशेष गरी पुरुषमा आउँछ त्याे भने फैलिने डर हुन्छ। यो एकदमै ठुला-ठुला आउने, पाक्ने पिप जम्मा हुने हुन्छ। अनुहारमा, छाती, घाँटी, पाखुरा, ढाडमा आउनसक्छ। यसले ज्वरो आउने, जिउ दुख्ने वा एकदमै जटिल हुन पनि सक्छ।

यसको घरेलु उपचार पनि छ?

यसको घरेलु उपचार भनेको बजारमा पाइने चिल्लो क्रिम लोसनहरू प्रयोग नगर्ने। आफ्नो अनुहारमा कुन उपयुक्त फेसवास प्रयोग गर्ने भनेर राम्राेसँग बिचार गर्नुपर्छ। छालाअनुसार अनुहारमा फेसवास प्रयोग गर्नुपर्छ।

खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ। घिउ वा दुधबाट बनेका परिकारले डन्डिफाेर आउँछ भन्ने पनि सुनिन्थ्याे तर त्याे सत्य हाेइन। त्यसकाे कुनै प्रभाव पनि हुँदैन।

तर, चिनी, गुल्काेज, आइसक्रिम, चकलेटजस्ता गुलिया परिकारले अलि बढी डन्डिफोर आउँछ। यस्ता चीन नखाँदा नै राम्राे हुन्छ।

अनि डन्डिफोर आएपछि धेरै नै पानी पिउनुपर्छ भन्ने पनि छ तर त्यसाे नभएर आफ्नाे आवश्यकता अनुसार पानी पिउँदा पनि हुन्छ त्याे भनेकाे सामान्य अवस्थामा जस्तै हो। गर्मी याममा कम्तीमा दुई लिटर र जाडोमा एक लिटरजति पिए पुग्छ।

अर्काे रगत फोहोर भएर डन्डिफोर आउँछ भन्ने पनि छ। याे पनि गलत हाे। रगतसँग यसकाे खासै सम्बन्ध हुँदैन।

सम्बन्धित सामाग्रीहरू:
प्रकाशित मिति: : 2024-01-11 10:10:00

प्रतिकृया दिनुहोस्