रसिना (परिवर्तित नाम) उमेरले मात्र ९ वर्ष भइन। काठमाडौंको एक स्कुलमा कक्षा ४ मा पढ्छिन्, उनी। तर उनलाई स्कुल जानु कुनै सजाय भोग्नु लाग्छ। अर्थात उनलाई स्कुल पठाउन हेरक दिन घरपरिवारलाई मुस्किल पर्छ।
स्कुल पठाउन मात्र होइन, रसिनालाई खान खुवाउन पनि मुस्किल पर्छ। बाहिर घुम्न पनि उनलाई मन पर्दैन। भित्रै बस्ने, एक्लै रमाउने बानी छ, रसिनाको।
यी सबै उनमा किन छ भने, रसिना मोबाइल, टिभीको लतमा परेकी छिन्। मोबाइल साथमा नभए उनलाई स्कुल पठाउन गाह्रो हुन्छ। खाना खाँदा पनि मोबाइल साथमा हुनुपर्छ। नत्र उनले खाना खादिनन्।
बाहिर घुम्न त उनलाई मन नै पर्दैन। मोबाइल साथमा भइरहनुपर्छ। मोबाइलमा चार्ज सकियो भने टिभी हेरेर बस्न मन पर्छ रसिनालाई तर, घुम्न बाहिर जान मन पर्दैन।
होमवर्क (गृहकार्य) गर्दा पनि मोबाइल साथमा छैन भने गर्दिनन्, उनी। रसिनाकी आमाले बिएल नेपाली सेवासँग भनिन्, ‘मेरी छोरी मोबाइल ललते गर्दा मोबाइल नभए स्कुल जानै मान्दिनन्, खाना खान, होमवर्क गर्न पनि मोबाइल चाहिन्छ।’
काठमाडौंको सामाखुशीमा रसिनाको परिवार बसेको छ। मोबाइलविना कुनै कुरामा ध्यान नदिने भएपछि उनकी आमा चिन्तित बनेकी छिन्। ‘सुरु–सुरुमा त छोरीले मोबाइल पाएपछि झगडा नगर्ने, एक ठाउँमा बसेर मोबाइल चलाउने गर्थिन्,’ रसिनाकी आमाले भनिन्, ‘अहिले त मोबाइलको लत परेछ। कसरी छुटाउने चिन्ता भएको छ।’
उनले छोरीले सुरुमा मोबाइल चलाउन थालेपछि खुशी भएको बताउँछिन्। उनले भनिन्, ‘छोरीले मोबाइल चलाएको देखेर अरुले पनि तिम्री छोरी ज्ञानी भनेर भन्थे। म पनि खुशी हुन्थे तर अहिले आएर लाजा मान्नु परेको छ।’
०००
मोबाइलको लतमा ९ वर्षकी यी रसिना मात्र होइनिन्, काठमाडौंका ३९ वर्षीय राजेन्द्र ठकुरी पनि परे।मोबाइल गेम ‘क्यान्डिक्रस’को लतमा परेपछि ठकुरी दिनमा ४ घण्टा बढी सुन्नै सकेनन्।
दिउँभर खेलेर उनलाई पुग्दैनथ्यो। रातभर खेल्थे। क्यान्डिक्रस खेल्दा बिहानको तीन–चार बजिसक्थ्यो। त्यसपछि उनी तीन–चार घण्टा सुतेर उठेपछि फेरि त्यही गेम खेल्दा रात परेको पत्तो पाउँदैनथे।
डेढ वर्षदेखि यो गेमको लतमा परेका ठकुरी खाना खाँदा पनि गेम खेल्न छाडेनन्। जसले गर्दा अहिले उनी सुधार केन्द्रमा पुगेका छन्। एक महिनादेखि काठमाडौंको बुढानिलकण्ठको मार्गा सुधार केन्द्रमा आफ्नो लत छुटाउने कोशिस गरिरहेका छन्।
सुधार केन्द्रका सञ्चालक सुमन खड्काले ठकुरीको लतमा सुधार भइरहेको बताए। ‘उनी (ठकुरी) बिहानको तीन–चार बजेसम्म गेम मात्रै खेल्ने, त्यसपछि पनि जब खाना खाएसकेपछि उनी निरन्तर गेम खेलेको खेल्लै गर्ने गर्थे,’ खड्काले भने, ‘घर बाहिरका साथीहरुसँग घुलमिल हुँदैन थियाे। अहिले सुधार केन्द्रमा आएपछि गेम खेल्ने लत छुटेको छ।’
मोबाइल लतमा लागेर जीवनको समय बबार्द गरेका यी उदाहरण मात्र हो। अहिले साना बालबालिका हुन कि युवा जो पनि मोबाइल बिना बस्न नसक्ने अवस्थामा छन्। कोही घरमा पाहुना पुगेमा घरको वाइफाइ छ कि छैन? सायद पहिलो सोधिने प्रश्न बन्न सक्छ।
अहिले मोबाइल लत धेरै बढेको जानकार बताउँछन्। बालबालिका मोबाइलको लतमा परेको भन्दै बाल मनोचिकित्सक कहाँ पुग्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ। मोबाइल ललते गर्दा उनीहरुमा सामाजिक, शौक्षिक शारीरिक समस्या देखा पर्ने गरेको कान्ति बाल अस्पतालका मनोचिकित्सक डा. अमित झा बताउँछन्।
उनले सकेसम्म दुई वर्षका बालबालिकालाई मोबाइल दिन नहुने बताए। ‘सकेसम्म दुई वर्ष नभएको बाच्चाहरुलाई मोबाइल देखाउनै हुँदैन। अन्यले पनि खानाको समय र सुत्ने समयमा मोबाइल चलाउनु हुन्न,’ उनले भने।
डा. झाकाअनुसार सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्छ र मोबाइलमै खुसी बनाउने खालको हर्मोन उत्पन्न हुन्छ। जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा जोकोही खुसी हुन्छन्। तर लगातार चलाएपछि ब्रेन सुस्त हुँदै जाने झाले बताए।
उनकाअनुसार लगातार मोबाइल हेरिरहँदा आँखाको मसल थाक्ने, आँसु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्या हुनजान्छ। लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले दृष्टिविहीन समेत बनाउन सक्छ।
यस्तै एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपना बढ्ने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि बढ्न सक्ने बाल चिकित्सकहरु बताउँछन्।
मनोचिकित्सकाअनुसार धेरै मोबाइल हेर्ने बानी भएकाहरु डिप्रेसनसम्म हुनसक्ने सम्भावना रहेको हुन्छ।
यसरी गर्नुहोस बालबालिकाको ख्याल
–सिर्जनात्मक काम गर्नमा प्रेरित गर्ने
–खेल्नमा र काममा अभिभावकले सहयोग गर्ने
–धेरै मोबाइल चलाउन नदिने
–बच्चालाई अनलाइनको सट्टा अफलाइन गेम खेल्नका लागि प्रेरित गर्ने
–डिजिटलबाट हानीको बारेमा जानकारी गराउने
–फोनमा लक लगाएर सकेसम्म नभेटने ठाउँमा राख्ने
–बच्चालाई स्क्रिनका कारण हुने शारीरिक र मानसिक समस्याका बारेमा बुझाउने
–बच्चाको विश्वाशिलो साथी बन्ने र जसले बालबालिकाले सबै कुरा भन्ने गर्छन।