यी गल्ती गर्दा हुन्छ गर्भमै बच्चालाई ‘मुटुरोग’

मिनु गोले

काठमाडौं
Breaknlinks
Breaknlinks

कतिपय जन्मजात बच्चामा मुटुरोग देखिन्छ। जन्मजात नै मुटुरोग देखिएपछि आमा–बुबा चिन्तित बन्नु स्वाभाविक भयो। रोग देखिएमा उपचार सम्भव छ कि छैन? पहिलो चिन्ता भयो। 

उचार सम्भव भए पनि खर्च कति लाग्छ? अभिभावकमा अर्को चिन्ता थपिन्छ। १० महिना कोखमा राखेर जन्मदिएको बच्चा स्वस्थ नहुनुमा कतिपय ठाउँमा धर्मसँग जोडेर हेरिने गरेको पाइन्छ। 

अज्ञानका कारण जन्मनुअघि नै समस्या देखिनुमा कतिपय कुनै जन्मको पापसँग पनि जोड्छन्। तर, जन्मजात बच्चामा देखिने मुटुरोग न धर्मसँग जोडिएको हुन्छ। न कुनै पूर्व जन्मको पापसँग जोडिएको हुन्छ। 

चिकित्सकहरू जन्मजात बच्चामा हुने मुटुरोगका अनेकन कारणहरू रहेको र विश्वमा बच्चाको मृत्यु हुनुमा मुटुरोग पनि एक प्रमुख कारण रहेको बताउँछन्।  

बच्चामा दुई थरीका मुटुरोग देखिन्छ

बच्चाहरूमा दुई थरीका मुटुरोग लाग्छ। एउटा जन्मजात लाग्ने हुन्छ भने अर्को जन्मेपछि लाग्ने रोग हुन्छ। 

जन्मजात लाग्ने मुटुरोग भनेको गर्भमा हुँदा लाग्ने रोग हो। बच्चामा देखिने मुटुरोगहरूमा बढी जन्मजात नै लाग्ने गर्छ। बच्चामा देखिने मुटुरोगमा जन्मजात लाग्ने रोग करिब ८०–९० प्रतिशत र जन्मेपछि लाग्ने मुटुरोग १५–२० प्रतिशत हुने चिकित्सक बताउँछन्। 

गर्भमा नै यसकारण लाग्छ मुटुरोग

गर्भमा हुँदा नै बच्चाको मुटु प्वाल पर्ने, धमनी गडबड हुने हुन्छ। यस्तो समस्या सय जना बच्चामध्ये १५ जनामा देखिने विभिन्न अध्ययनले देखाउँछ। यी समस्या देखिनुमा विभिन्न कारणहरू हुन्छन्। ती कारणमध्ये ९० प्रतिशत कारण थाहा नै हुँदैन।

विशेषतः गर्भमा हुँदा मुटुरोग लाग्ने भनेको आमाको कारण र बंशानुगत हुन्छन्। आमाका कारण गर्भमा बच्चा  (भ्रूण)‍ तीन महिनाको हुँदा बढी मुटुरोग लाग्ने गर्छ।  

तीन महिनाको अवस्थामा शिशुलाई एकदमै जटिलताको अवस्था मानिन्छ। यो समयमा विभिन्न किसिमको भइरसले इन्फेक्सन (संक्रमण) हुने सम्भवना हुन्छ। आमाले चिकित्सकको सल्लाहबिना विभिन्न किसिमको औषधीको प्रयोग गर्ने, मध्यपान तथा धुम्रपान गर्ने, भिडियो एक्सरे गर्दा, आमालाई ब्लटप्रेसर भएमा मुटुरोग लाग्ने बढी सम्भावना हुन्छ। 

अर्को वंशाणुगत गुणले गर्दा पनि गर्भमा हुँदा नै मुटुरोग लाग्ने गर्छ। एबनर्मल (आँखा नमिलेको, टाउको नमिलेको) बच्चामा पनि मुटुरोग देखिने सम्भावना हुन्छ। वंशानुगत रोग एकमदै कम लाग्ने गर्छ। 

जन्मेपछि किन लाग्छ मुटुरोग?

बच्चालाई जन्मेपछि पनि मुटुरोग लाग्ने गर्छ। जसमा विभिन्न कारणहरू हुन्छन्। बच्चामा देखिने कडाखालको रोगले मुटुमा समस्या देखिन सक्छ। जसमा बाथ रोग एक हो। 

बच्चालाई बाथ ज्वारो भएमा त्यसले मुटुमा समस्या पुर्याउँछ। बाथ ज्वारोले मुटुको भल्भ बिग्रियो भने त्यसलाई बाथ मुटुको रोग भनिन्छ। यसले मुटुको भल्भहरू बिगार्छ। यो समस्या ५–१५ वर्ष उमेर समूहका बालबालिकालाई देखिन्छ। 

यस्तै जन्मिएपछि भल्भहरू बिग्रने, मुटुभित्र विभिन्न कारणले संक्रमण हुन्छ। मुटुमा मासु पलाउने पनि हुन्छ। यो पनि जन्मपछि मुटुमा देखिने समस्या हुन्।

बच्चालाई ब्लडप्रेसर हाई (उच्च रक्तचाप)हुँदा मुटुमा समस्या देखिन्छ। 

मुटुरोग लागेमा बच्चाहरूमा देखिने लक्षणहरू

मुटुरोग लागेपछि देखिने लक्षणहरू जन्मजात र जन्मेपछि लाग्ने रोगका फरक–फरक हुन्छन्। जन्मजात मुटुरोगका  लक्षण भनेको कुनै–कुनै मुटुमा सानो प्वाल भएको हुन्छ।

मुटुमा प्वाल परे पनि त्यसको लक्षण देखा पदैन भने पत्ता लगाउन समय लाग्ने हुन्छ। जन्मजातमा अर्को लक्षण भनेको बच्चा निलो हुर्ने र निलो नहुने पनि हुन्छ। जस्तै जिब्रो, शरीरका अंगहरू, आँखा जन्मदै निलो हुन्छ। 

कुनै बच्चा जन्मेपछि निलो हुँदै जान्छन्। जस्तै रुँदा कराउँदा बच्चाहरू निलो देखिने हुन्छ। बच्चा ठूलो हुँदै गएमा तौल बढ्नुपर्ने बच्चाको तौल नबढने, सास फेर्न कठिन हुने, हिड्दा–हिड्दै छिटो थकित हुने हुन्छ।  

मुटु रोग लागेमा बच्चा निलो हुने मात्र होइन। निलो नहुने मुटुरोग पनि हुन्छ। मुटुको दुई वटा पर्दामा प्वाल पर्ने, तल–माथि जनसुकै ठाउँमा सानो प्वाल परेमा मुटु खुम्चिने हुन्छ। यसो भएमा बच्चा निलो हुँदैनन्। 

यस किसिमको मुटुरोग लागेमा बच्चालाई छिटो लक्षण देखिदै र, मुटुरोग पत्ता लगाउन धेरै समय लाग्ने गर्छ।

यस किसिमको रोग पत्ता लगाउन बच्चाहरूलाई रुघाखोकी वा टाइफाइड भएमा उपचारमा डाक्टरले बच्चाको स्पेशल(छुट्टै)अवाज सुन्ने गर्छन्।

जन्मेपछि मुटुरोग लागेका बच्चामा भने हाडजोर्नीहरू सुन्निने, दुख्ने, हातखुट्टा चलाउँन नसकिने, हिड्न गाह्रो हुने हुन्छ। कसै–कसैको छालामा डाबर(कालो धब्बा)आउने, हातखुट्ट झमझमाउने, कमजोरी हुँदै जाने हुन्छ।

उपचार खर्च कति?

मुटुरोग लागेमा उपचार खर्च यत्तिनै लाग्छ भन्न सकिदैन। किनभने, मुटुमा लागेको रोगको प्रकृतिअनुसार खर्च पनि कम–धेरै लाग्ने हुन्छ। मुटुको अप्रेसन गर्नुपर्यो भने लाख भन्दा बढी नै खर्च लाग्छ।  

सामान्य ‍औषधी सेवन गरेर पनि निको हुने मुटुरोग भएमा सोहीअनुसार कम खर्चमा पनि रोग निको हुनसक्छ। सरकारले सन् २००६ देखि १५ वर्षसम्मका बालबलिकाहरूलाई निःशुल्क उपचार गर्दै आइरहेको छ। 

हाल काठमाडौंमा गगांलाल अस्पताल र मनमोहन अस्पतालमा मुटुरोगको उपचार हुँदै आएको छ।

(शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत रहेकी बालमुटुरोग विषेशज्ञ उर्मिला शाक्यसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको सामग्री)
 

प्रकाशित मिति: : 2023-12-18 08:23:00

प्रतिकृया दिनुहोस्