म दशगजालाई कहीबेर बीचमा पारेर अघि बढेँ, पारि ‘बिहार’ छिरेँ। भारतीय सीमा सुरक्षा बलबाट केहीबेरको केरकार र चेकजाँच सकेर अघि बढियो।
भिट्ठामोडको चेकपोष्ट। अब नेपाली पारि छुटिसकेको छ। जलेश्वर महोत्तरी जिल्ला। दशगजाका पिलरहरू सेताम्य तर कतिपय ढल्केका देखिन्छन्, दुवैतिरबाट।
मधुवनी, दरभङ्गा, सम्सतिपुर, सहरसा, वेगुसराय र पटनालगायतका ठाउँहरू यो पटकका ‘एक्सिडेन्टल‘ गन्तव्य रहे। पुग्न त बेल्छी गाउँ पनि पुग्न मन थियो। सोनिया गान्धीको जिवनी ‘द रेड सारी’ लाईब्रेरीमा पढेको वर्षौंअघि हो। जाविएर मोरोले लेखेको किताब हो। इन्धिरा गान्धीको बेल्छी-बिहार यात्राका विषयमा यो पुस्तकमा लेखिएको छ।
‘संस्कृति के चार अध्याय’, ‘रश्मिरथी’ र ‘परशुराम की प्रतिक्षा’ जस्ता ओजिला पुस्तकका लेखक रामधारी सिंह दिनकर वेगुसरायमा जन्मिएका थिए भन्ने ख्याल थियो मलाई। उनै नाम कहलिएका लेखक हिँडेका पदमार्ग भारतको बिहार राज्यका सडकहरू समोसा खाँदै पनि नापियो। भारतका पहिलो राष्ट्रपति डा. राजेन्द्रप्रसादको गृहराज्य पनि हो बिहार।
पहिला-पहिला सुनेको ‘जब तक रहेगा समोसे में आलू, तब-तक रहेगा बिहार में लालू’ सम्झना आयो। साँच्चिकै बिहारमा पाक्ने समोसाभित्रको आलु र मैदाको बिक्रीबाट कोही किन अर्बपति भए कि भएनन् होला? बडो अचम्म त तब लाग्छ, नेपालमा चाउचाउ बेचेर पनि मानिस त्यति धनी भएका छन्। बिहारको जनसंख्या नेपालको भन्दा झण्डै ४ गुणा बढी छ। अर्थात लगभग १३ करोड।
भारतको एउटा उत्तर पूर्वपट्टीको हिन्दी-भोजुपुरी सङ्गीत र भाषाको पकड छ बिहारमा। बौद्ध धर्म मान्नेहरूले बिहार गर्ने ठाउँ भएकाले यो बिहार चर्चामा रह्यो। नेपालसँग सीमा जोडिएको अर्को ठुलो राज्य पनि हो यो।
बिहारमा ४० सिट छन् भारतको तल्लो सदन लोकसभाका लागि। यो मौसममा उति चिसो पनि छैन। गर्मी पनि छैन बिहारमा आजकाल। तर पनि राजनीति चर्किएको छ। खासगरी भारतको पछिल्ला केही राज्यको चुनावी नतिजाका कारण।
भारतको केन्द्रीय सत्ताको बाटो उत्तरप्रदेश भएर जान्छ भन्ने उक्ति भारतमा लोकप्रिय छ। उत्तर प्रदेशमा लोकसभाका ८० सिट छन्। भारतमा प्रधानमन्त्री भएका अधिकांश उत्तरप्रदेशबाटै चुनाव जित्नेहरू छन्। तर बिहारले राजनीतिमा कमब्याक गराउँछ भन्ने कथन पनि छ।
स्वतन्त्र भारतका कुरा हुन्। सन् १९७७ मा इन्दिरा गान्धी सत्ताबाट बाहिरिनुपर्यो। जब मोरारजी देसाईको नेतृत्वमा जनता दलको सरकार बन्यो केन्द्रमा। बिहारको पटनादेखि दूर रहेको बेल्छी गाउँ पुगेकी थिइन् गान्धी अनि सत्तामा फर्किइन्। त्यहाँ ११ जना दलितको हत्या भएको थियो। बिहारको त्यो यात्राले गान्धीलाई सन् १९८० मा फेरि सत्तारोहण गरायो। त्यसअघि ५ जुन १९७४ मा जयप्रकाश पटनाको गान्धी मैदानबाटै ऐतिहासिक ‘इन्दिरा हटाओ’ अभियानसमेत चलाएका थिए।
सन् १९८८-१९८९ ताका विपी सिंह बिहारको बाटो भएर प्रधानमन्त्रीसम्म बन्न पुगे। जो पटनाको हडताली मोडमा व्यापक जनसमर्थन जुटाउन सफल रहे। त्यसैगरी चन्द्रशेखर पनि प्रधानमन्त्री हुनुअघि पटना बिहार पुगेर जनसमर्थन पाएका थिए।
बिहारका मुख्यमन्त्री नितिश कुमार पनि सन् १९६७ ताका राममनोहर लोहियाको भाषण सुन्न गान्धी मैदान पुग्थे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सन् २०१३ अक्टुवर २७ मा पटनाको गान्धी मैदानमा आयोजित सभालाई सम्बोधन गरेका थिए। त्यसलगत्तै उनी केन्द्रको सत्तारोहण भए। अहिले पनि उनको ‘क्रेज’ त्यस्तै छ।
यता नेपालतर्फ पनि सत्ता प्राप्तिमा बिहारको भूमि प्रयोग भयो। त्यो मातृका कोइराला, विपी कोइराला, मनमोहन अधिकारी र सुशील कोइरालासम्म जोडिन्छ। अनि सत्ता छाडेर संसारलाई शान्तिको सन्देश दिने पनि बिहारको भूमि हो। सिद्धार्थ गौतमले सत्ता छाड्नुमा बोधगयाको भूमिका पनि छ। अनि पो बुद्धत्व प्राप्त भयो। जन्मभूमि नेपाल भए पनि।
भारतको आसन्न चुनाव- २०२४ तल्लो सदन लोकसभाको चर्चा बिहारमा पनि गुञ्जिन थालेको आभास हुन्छ।
के योपटक विपक्षी दलहरू बिहारको बाटो भएर सत्ता फर्काउन सक्लान्? यो प्रश्न पेचिलो छ। बिहारका मुख्यमन्त्री नितिश कुमार पनि प्रधानमन्त्रीका आकांक्षी नै हुन्। तर इण्डिया गठबन्धनले पिएमको अनुहार सार्वजनिक गर्न सकेको छैन।
केही दिनअघि केन्द्रमा विपक्षी दलहरूको बैठकमा ममता बनर्जीले कंग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेलाई पिएम उम्मेदवार प्रस्ताव गरेको भए पनि त्यसमा सहमति जुट्न सकेन।
वेगुसरायसहित बिहारका गाउँ र सहर जस्ता ठाउँहरूका चिया पसलहरूमा चुनावका चर्चा फेरि सुनिन थालेका छन्। बिहार यसकारण पनि चर्चामा छ कि यो राज्य नितिश कुमार र लालु यादवको पकडमा रहेको ठानिन्छ। भारतको क्षेत्रीय राजनीतिका खेलाडी हुन् यी दुई नाम लालु र नितिश।
ठिक यति नै बेला भारतको एउटा मिडिया कम्पनी एबिपी न्युजसँग ‘सी भोटर’ले गरेको ओपिनियन पोलको चर्चा छ बिहारमा। भारतीय जनता पार्टी (विजेपी) नेतृत्वको एनडिए गठबन्धनले १६ देखि१८ सिटमा चुनाव जित्ने र विपक्षी दलहरूको गठबन्धन इण्डिया गठबन्धनले २१ देखि २३ सिट जित्न सक्ने देखाएको छ। बाँकी २ सिट अन्यको खातामा जानेछ।
केन्द्रीय सत्तारुढ दलले नेतृत्व गरेको छ एनडिए गठबन्धनलाई। तर बिहारमा इण्डिया गठबन्धनको उपस्थिति बलियो देखिन्छ। एनडिए गठबन्धनमा बिहारका पूर्व मुख्यमन्त्री जीतनराम माझी, हिन्दुस्तान आवाम मोर्चा, चिराग पासवानको लोकजनशक्ति पार्टी (रामविलास), पशुपति पारसको लोकजनशक्ति पार्टी (पारस गुट) सहभागी छन्।
उपेन्द्र कुशवाहाको पार्टी पनि एनडिएसँगको गठबन्धनमा छ। उता इण्डिया गठबन्धनमा सत्तारुढ नितिश कुमार नेतृत्वको जनता दल युनाईटेड (जेडियु), लालुप्रसाद यादवको दल आरजेडी, कांग्रेस र अन्य वाम दल रहेका छन्।
सन् १९७५ भारतमा संकटकालको अवस्था थियो। समाजवादी नेता जयप्रकाश नारायणले नयाँ दिल्लीको रामलीला मैदानमा एकलाख जनता उतार्न बिहारका वेगुसरायका कवि रामधारी सिंह दिनकरको यो प्रसिद्ध कविता सुनाएका थिए-
सिंहासन खाली करो के जनता आती हे..
सदियों की ठण्डी- बुझी राख सुगबुगा उठी,
मिट्टी सोने का ताज पहन इठलाती है सदो राह,
समय के रथका घर्घर-नाद सुनो,
सिंहासन खाली करो कि जनता आती है।
त्यही जेपी आन्दोलनको जगबाट उभ्रिएका नेता हुन्, लालुप्रसाद यादव। पटक-पटक मुख्यमन्त्री भएका लालु यादवको राजनीतिक यात्रा र जेल यत्रा उस्ताउस्तै भएका छन्। लालु यादवको ८ पटक जेल यात्रा भइसकेको छ। यो पटक लालुलाई भेट्ने प्रयास गरिएन।
तर उनले अघिल्लो भेटमा आफ्नो जेल यात्राबारे भनेका थिए- एक ही मुर्गीको नौ नौबार हलाल कर रहें हैं। तर उनको शासनकाललाई बिहारमा ‘जंगल राज’ भन्ने गरिएको छ।
भारतमा यतिबेला सांसदहरूको निलम्बनको विषय जोडतोडले उठिरहेको छ। १ सय ४१ बढी सांसदहरू निलम्बनमा छन्। सन् १९८९ मा राजिव गान्धीको नेतृत्वमा केन्द्र सरकार थियो। उतिबेला ६३ जना सांसदलाई निलम्बन गरिएको थियो। भलै उतिबेला निलम्बन परेकाहरूले माफी मागेकाले भोलिपल्टै निलम्बन फुकुवा भएको थियो। तर यो नरेन्द्र मोदीको युगको भारत हो।
सन् २०१९ को लोकसभा चुनवमा वेगुसराय खुवै चर्चामा थियो। सिपिआईका उम्मेदवार कनैहा कुमार र भाजपाका गिरिराज सिंहबीच प्रतिस्पर्धा भन्ने विषयले। तर भाजपाले सजिलै चुनाव जित्यो। मिडियामा कनैहा कुमार खुवै चर्चामा थिए।
उनी जवाहरलाल नेहरू विश्व विद्यालय (जेएनयू)का उत्पादन र कम्युनिष्ट विचारधारा नजिक थिए। तर सन् २०२१ मा उनी कंग्रेसमा प्रवेश गरे। सन् २०२४ को चुनावमा उनी दिल्लीबाट चुनाव लड्न सक्ने प्रवल सम्भावना रहेको बुझिन्छ। त्यहाँ केही हदसम्म भोजपुरीभाषीको दवदवा पनि छ।
यात्राको गन्तव्य बोध गयासम्म थियो। बिहारको यात्रामा समोस र चिया नियमित आहार रह्यो। बाँकी सिमापारि। स्वदेश फर्किंदै गर्दा लेखनीलाई दशगजामै विट मारियो।
तर नेपालतर्फका सुक्षाकर्मीले मेरो कुनै परिचय पत्र मागेनन्। न त कुनै चेकजाँच नै गरे। जसरी केही दिनअघि भारतीय सिमाबलका सुरक्षा अधिकारीले गरेका थिए।