विश: डिज्नीको दर्शनीय एनिमेसन सिनेमा

BreaknLinks
BreaknLinks

मिक्कीमाउस, डोनाल्ड डक, सिन्ड्रेला, गुफी जस्ता लोकप्रिय कार्टुन चरित्रका परिकल्पनाकार तथा सिनेमा निर्माता तथा कार्टुनिस्ट वाल्टर इलिअस अर्थात् वाल्ट डिज्नी (सन् १९०१-१९६६)को द वाल्ट डिज्नी कम्पनीले आफ्नो स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा "विश" नामक सिनेमा लिएर दर्शक समक्ष आएको छ, जो गत हप्ता रिलिज भएको हो।

चलन चल्तीको भाषामा कार्टुन भनिने एनिमेसन सिनेमाका जन्मदाता वाल्ट डिज्नी र उनको निर्माण संस्था द वाल्ट डिज्नी कम्पनीले निर्माण गरेको सिनेमाहरूले मुख्यत बालबालिकाहरूलाई मनोरन्जन गर्दै आएको छ।

सिनेमाको कथा अनुसार राजा मैग्निफिको (क्रिस पाइन) र उनकी पत्नी रानी अमाया (एन्जेलिक काब्राल) रोसेस नामक काल्पनिक राज्यमा शासन गर्छन्। राजा मैग्निफिकोले एक अदृश्य शक्तिको सहयोगमा जादुको शिक्षा हासिल गरेर सम्पूर्ण प्रजाहरूको इच्छा पूरा गर्न सक्ने क्षमता राख्छन्।

यो राज्यमा कुनै पनि नागरिकको उमेर जब १८ बर्ष पुग्छ त्यो राजा समक्ष गएर आफ्नो भित्रि इच्छा बताउनु पर्ने नियम छ र, राजाले त्यो सबैको इच्छा एउटा गोप्य स्थानमा लगेर राख्छन्।

नागरिकहरूको इच्छा पूरा गर्ने समारोहको आयोजना हुने समारोहमा एक १७ बर्षीय बालिका आशा (अरियाना डेबोस) आफ्नो एक सय बर्षीय हजुर बुवा सबिनो (भिक्टर गार्बर)को इच्छा पूरा भएको हेर्न आएकी हुन्छिन्।

त्यसै समय उनलाई राजा वास्तवमा धुर्त र बदमास भएको, नागरिकहरूको इच्छा पूरा हुने समयमा आफुले सबै बिर्सेको नाटक गर्ने गरेको र नागरिकहरूको इच्छा पूरा गर्ने कुनै मनसाय नभएको रहस्य पत्ता लाग्छ।

त्यसपछि के कस्ता घटना घट्न पुग्छ र राजाको अन्त कसरी हुन्छ भन्ने थाहा पाउन सिनेमा हेर्दा नै रोचक हुन्छ।

सिनेमा पूर्ण रुपमा एनिमेसन भएको कारण अभिनय भन्दा पनि चरित्रहरूको आवाज दिने कलाकारहरूको आवाजको तारिफ गर्दा फरक पर्दैन। लोकप्रिय र चर्चित कलाकारहरुको आवाजले सिनेमालाई दर्शनीय बनाएको छ। सिनेमाको कथा जेनिफर ली र एलिनसन मूरले लेखेका छन्। सिनेमाको निर्देशन क्रिस बक र फन वीरासनथर्नले गरेका छन्, जो तारिफयोग्य छ।

डिज्नीको सिनेमाको अर्को आकर्षण सङ्गीत पनि हो जसलाई सङ्गीतकार डेभ मेट्जरले सुमधुर धुनले सजाएका छन्। एडम ग्रिनले आफ्ना ७५ जना सहयोगीसँग मिलेर गरेको एनिमेसनलाई टु डि र थ्री डि दुबैलाई मिलाएर निर्माण गरेका छन्। सम्पादक जेफ डेरिमले पनि सिनेमाको चुस्त सम्पादन गरेर सिनेमाको गतिलाई मर्न दिएका छैनन्।

अंग्रेजी भाषामा दख्ल भएका र एनिमेसन सिनेमाका पारखी अर्थात डिज्नीका कार्टुन चरित्रहरूको बारेमा जानकारी भएकाहरुले एक घन्टा ३५ मिनेटको यो सिनेमा हेरेर पूर्ण मनोरन्जन लिने कुरामा दुई मत छैन। तर यी कुराहरूको जानकारी नभएका दर्शकहरूलाई सिनेमा हेरेको भनेर कसैले सोध्यो भने मैले हेरेको छु भन्नु बाहेक अरु कुनै फाइदा हुँदैन।
@twitter#naviinr

प्रकाशित मिति: : 2023-12-02 15:55:00

प्रतिकृया दिनुहोस्