युद्धविरामको दोस्रो दिन ‘आतंकवादी समूह हमास’ले शनिबार राति बन्धकहरूको दोस्रो समूहलाई रिहा गरेको छ। बदलामा ३९ प्यालेस्टाइनी नागरिकलाई इजरायली जेलबाट रिहा गरिएको छ।
इजरायली सेनाका अनुसार हमासले युद्धविराम सम्झौता अन्तर्गत दोस्रो चरणको ‘युद्धबन्दी आदानप्रदान’मा १३ इजरायली र चार विदेशीलाई रिहा गरेको छ। रिहा गरिएका चारैजना थाइल्यान्डका नागरिक हुन्।
तर, हमासबाटै बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीलाई भने रिहा गरिएको छैन। उनी ‘कहाँ छन्, कस्तो अवस्थामा छन्’– आधिकारी जानकारीसमेत छैन।
‘दुस्मनको पञ्जा’बाट रिहा भएपछि दुवै पक्षका युद्धबन्दी र उनीहरूका परिवारले खुसीयाली मनाइरहेका छन्।
युद्धविरामपछि हमासले बन्धक बनाएका महिला र बालबालिकाहरू धमाधम घर फर्किँदैछन्।
हमासको बन्दीगृहबाट मुक्त भएका ५ वर्षीया रजलाई ३ वर्षीया बहिनी अवीभ र आमासहित बन्धक बनाइएको थियो। शनिबार बुबालाई भेटेपछि उनले जेलमा बस्दा ‘घर फर्कने सपना देखेको’ बताइन्।
त्यस्तै, शुक्रबार रिहा भएकी ९ वर्षीया एमिलीले झण्डै ५० दिनपछि शनिबार आफ्ना बुवालाई भेटिन्। एमिलीका बुबा थोमस ह्यान्डलाई लाग्थ्यो– ‘छोरी अक्टोबर ७ मै हमासको आक्रमणमा परेर मारिइन्।’
इजरायली सेनाले परिवारका सदस्यलाई एमिली बाँच्नेमा शंका गरेको थोमस बताउँछन्। तर उनी शनिबार सकुशल घर फर्किइन्। छोरी हाँस्दैहाँस्दै घर फर्किएपछि खुसी छन् थोमस। उनी एमिलीका एक्लो बुबा हुन्, उनकी आमा केही वर्षअघि क्यान्सरबाट बितिन्।
यसअघि हमासले बन्धकहरूको दोस्रो समूहको रिहाई स्थगित गरेको थियो। कतारी मिडिया अल्जजीराका अनुसार हमासको माग थियो– ‘इजरायलले गाजामा अत्यावश्यक सामान बोक्ने ट्रकहरूलाई प्रवेश गर्न दिनुपर्छ। गोलीबारी बन्द गर्नुपर्छ।’
अर्कोतर्फ हमासले पनि इजरायलले युद्धविरामका शर्तहरू नमानेको आरोप लगाएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले युद्धविरामको बीचमा इजरायली सेनाले सुरक्षित कोरिडोरबाट गुज्रिरहेको मेडिकल टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ।
यसैक्रममा उद्धारका लागि खटिएका एकव्यक्ति घाइतेसमेत भए, उनलाई गोली लाग्यो। उहीँ समयमा शनिबार राति इजरायली सेनाले वेस्ट बैंकको ओफर जेल बाहिर पनि गोली चलायो।
हमासले २४ नोभेम्बरमा १३ इजरायली बन्धकलाई मुक्त गरेको थियो। जसमा ४ वर्षीया रजा, ३ वर्षीया अवीभ र उनकी आमा डोरोन थिए। इजरायल फर्केपछि तीनै जनाले ‘पति र बुबा’ योनी आशेरलाई भेटे।
हप्तौँपछि भेट्दा सबैको आँखामा आँसु थियो। बाबुको छातीमा अँगालो हाल्दै रजाले हमासले बन्धक बनाएको बेला घर जाने सपना देखेको बताइन्।
युद्धविरामको समयमा इजरायली आक्रमण रोकिएपछि प्यालेस्टाइनीहरू पनि घर फर्किरहेका छन्। उत्तरी गाजापट्टी फर्किएका ५८ वर्षीय निजारले भने, ‘यहाँ हाम्रो घर थियो, सम्झनाहरू थिए। अब सबै नष्ट भएको छ।’
आँखाभरी आँसु लिएर उनले भग्नावशेषबाट घरायसी सामान उठाए र थपे, ‘हामी फेरि यहीँ बस्छौँ। इजरायली सेनाले हाम्रो आशा तोड्न सक्दैनन्।’
इजिप्ट टाइम्स अफ इजरायलका अनुसार इजरायल र हमासबीचको युद्धविराम एक वा दुई दिनको लागि लम्ब्याउन सकिनेछ। ताकि थप बन्धकहरूलाई मुक्त गर्न सकियोस्, हाल इजिप्ट र कतारको मध्यस्थतापछि चार दिने युद्धविरामको सहमति भएको अधिकारीहरूले जनाएका छन्।