उर्लाबारीको आगोले पोलेका जीवनहरू

BreaknLinks
BreaknLinks

तिहार आउन दुई दिन बाँकी थियो। दुई दिनअघि (कार्तिक २६ गते) लक्ष्मी पुजा। सबैले लक्ष्मीको पूजा गरे। घर झकिझकाउ बनाए। र, लक्ष्मी घरभित्र भित्र्याए।

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित दीपक कार्कीले पनि लक्ष्मी पुजा गरे। लक्ष्मी भित्र्याए।

तर, लक्ष्मी भित्र्याएर आराम गर्दा–गर्दै एकाएक घरभित्र आगो दन्कियो। रातको करिब १० बजिसकेको थियो। घरमा आगालागी भएपछि जसतसो घरका सबै बाहिर निस्किए। 

आगलागी भएको देखेपछि छरछिमेकबाट जम्मा भए। आगलागीको हल्लापछि उसैगरी छिमेकी राजन लुइटेल पनि उतै दौडिए, कसैगरी आगो निभाउन सकिन्छ कि भनेर। 

उनी साेही ठाउँका व्यापारी हुन्। दौडेर आगलागी भएको ठाउँतिर पुग्दैथिए। आगलागीको घर केही पर थियो। लुइटेल घर नजिकै पुग्दै थिए। 

तर, एकाएक ठुलै बस्तु बिस्फोट भयो। बिस्फोटको झट्का उनी भएकै ठाउँसम्म आइपुग्यो। आइमात्र पुगेन कि, झट्काले उनलाई लाग्याे। 

आगोको मुस्लोसहितको झट्काले लाग्दा उनी जलेर घाइते भए। अहिले उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

उनकाे हेरचाहका लागि उनका भाई रविन लुइटेल पनि सँगै  आएका छन्। दाई आगोमा परी घाइतेभएपछि उनीहरुको तिहार अस्पतालमै भएको छ। ‘रमझमको बेला दाई घाइते हुनुभयो। घरमा तिहार मनाउन पाइएन,’ उनले भने, ‘पहिलो पटक अस्पतालमा हाम्रो तिहार भयो। यतै टीका लगाइयो।’

यस्तै उर्लाबारी आगलागीमा परी बिनोद आचार्यका भाइ पनि राजनजस्तै घाइते हुन पुगे। उनका भाइ प्रहरी हुन्। आगलागीको खबरपछि उनी घटनास्थल पुगेका थिए। 

दमकल आइसकेको थिएन। घरमा आगो दन्किएको थियो। घरभित्र मोटरसाइकल, गाडि थिए। सुन पसल थियो। साथमा पहिलो सुरक्षा दिनु प्रहरीको कर्तव्य थियो। घरभित्रका सामान कसैगरी निकाल्न सकिन्छ कि भन्दै उनीहरु सोच्दै थिए।

सटरभित्रबाट केही सामान निकाल्ने तयारी भयो। प्रहरी टोली, स्थानीयले सटर खोल्दै थिए। सटर खोलिसकेका मात्र के थिए, भित्र बिस्फोट भइहाल्यो। 

बिनोद आचार्यका भाइ सोही बिस्फोटमा परेर घाइते भए। 

उर्लाबारी आगगालीमा लुइटेल र बिनोद आचार्यका भाइ मात्र होइनन्। घरकै दुई जना, प्रहरी चार जनासहित २८ जना घाइते भए। 

घाइतेमध्ये २६ जनाको मोरङमा उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइएको छ। उनीहरुमध्ये ७ जनाको अवस्था गम्भीर छ। ७ जनाको आइसियु (सघन उपचार कक्ष)मा उपचार भइरहेको छ। 

काठमाडौं ल्याइएका २६ जनामध्ये एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान उपचाररत ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको कीर्तिपुर अस्पताल जलन विभागका प्रमुख डा. किरण नकर्मीले जानकारी दिए। 

डा. नकर्मीकाअनुसार पण्डितको शरिरको जलन ६० प्रतिशत थियो। 

हाल १६ जनाको नर्मल कक्षमा उपचार भइरहेको छ। एक जना सुवर्ण प्रताप मगर सोमबार निको भएर घर फर्किएका छन्। थप एक जनालाई पनि डिस्चार्ज गर्ने तयारी भएको उनले बताए। 

घाइतेहरुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। बिदेशबाट आएका चिकित्सकको टोलीसहित कीर्तिपुर अस्पतालको जलन विभागका डाक्टरहरु उपचारमा खटिएका छन्। 

डा. नकर्मीले आइसियुमा उपचाररतको एक चरणको अप्रेसन सफल भइरहेको भन्दै स्वास्थ्य अवस्था सुधारोन्मुक रहेको बताए। ‘उपचारमा रहेका सबैको अवस्था सुधार हुँदै गएको छ। आइसियुमा रहेकाहरुको पनि एक चरणको अप्रेसन भएर अर्को चरणको अप्रेसनको तयारी भएको छ,’ उनले भने।

उर्लाबारी आगलागी कसरी भयो? तथ्यमा प्रहरी पुगेको छैन। बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुमान प्रहरीको छ। घरमा आगलागी भएको र घरभित्रको एलपी ग्याँस विस्फोट भएको मानवीय क्षति भएको अनुमान गरिएको छ। 

निःशुल्क उपचार 
आगलागीका घाइतेहरुको अहिलेसम्म निःशुल्क उपचार भइरहेको छ। कार्तिक ३० गते कीर्तिपुर अस्पतालमा पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उपचार खर्च तिर्न नसक्नेहरुको सरकारले गर्ने बताएका थिए। 

त्यसपछि कोशी प्रदेश सरकारसँगै उर्लावारी नगरपालिकाले पनि उपचारमा सहयोग गर्ने बताएका छन्। संघदेखि स्थानीय सरकारले उपचारमा सहयोग गर्ने आश्वसन दिएपछि कीर्तिपुर अस्पतालले आफ्नै स्रोतसाधानमा निःशुल्क उपचार गरिरहेको छ।

डा. नकर्मीले बिरामीको उपचारमा कुनै कमी हुन नदिएको बताउँदै अस्पतालकै स्रोतसाधनले उपचार गरिरहेको बताए। ‘संघदेखि प्रदेश, स्थानीय तहबाट उपचारमा सघाउने आश्वसन आएको छ। त्यो कार्यन्वयन त भएको छैन,’ उनले भने, ‘अहिलेसम्म अस्पतालको आन्तरिक श्रोतबाट उपचार भइरहेको छ।’

खाना पनि निःशुल्क
अस्पतामा उपचार गराइरहेकालाई निःशुल्क खानाको व्यवस्था गरिएको छ। उर्लाबारी नगरपालिका–९ का राजन रायमाझी निःशुल्क खाना खुवाउने व्यवस्था गरिरहेका छन्। 

उनी काँग्रेस उर्लावारी नगर सचिवसमेत हुन्। उनले विभिन्न व्यक्तिसँग सहयोग उठाएर बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेको बताए। 

काँग्रेस महासमिति सदस्य चिरञ्जिवी थापाको नेतृत्वमा अहिले सहयोग उठाउने काम भइरहेको छ। कार्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म बिरामी कुरुवालाई पनि निःशुल्क खाना खुवाएको बताउँदै खर्च धेरै आएपछि अहिले बिरामीलाई मात्र खाना खुवाइरहेको बताए। 

रायमाझीले यस्तो अवस्थामा सबैले सयोग गर्नुपर्छ भन्ने मनसायका साथमा आफुले सक्दो सहयोग गरिरहेको बताउँदै अझै थप सहयोगको आवश्यक्ता रहेको उनको भनाइ छ।

‘बिरामी केही दिनमा निको हुने होइन। दुई महिनासम्म पनि लाग्नसक्छ,’ उनले भने, ‘सबैसँग यहाँ बस्नका लागि पैसा छैन। त्यसैले केही सहयोग होस भनेर हामीले नि:शुल्क खाना खुवाइरहेका छौँ।’ 


 

प्रकाशित मिति: : 2023-11-23 08:20:00

प्रतिकृया दिनुहोस्