एमालेको बदनाम गर्न आफैँ बोक्सी आफैँ धामी भएका छन्: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको बदनाम र चरित्र हत्या गर्नका लागि केही ‘तत्व’हरू लागि परेको भन्दै आफूहरूले गलत नगर्ने दाबी गरेका छन्।

युवा संघ जोडिएको एउटा भिडियो बुधबार बिहानैदेखि सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो। त्यसमा एमालेको युवा संघका कार्यकर्ताहरूले दुर्गा प्रसाईंको आह्वानमा काठमाडौँ आएका महिलाहरूलाई रातको समयमा उठाएको देखिएको छ।

‘त्यो भनेको आफैँ बोक्सी आफैँ झाँक्री भएको पनि हुनसक्छ। युवा संघले यस्तो गर्न सक्दैन। हाम्रो संलग्नता छैन भनेको छ’, त्यसबारे प्रष्टिकरण दिँदै ओलीले भनेका छन्, ‘कसैले गल्ती गर्छ भने एमालेले माफी गर्दैन, तर हामीले त्यस्तो लाञ्छना पनि सहँदैनौँ। अनेक हिसाबले हाम्रो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ।’

एक अर्को प्रसङ्गमा उनले देशको अवस्था देख्दा अब आन्दोलनको आवश्यकता देखिएको बताए।

‘हामीले मध्यपहाडको महाकाली-मेची यात्रा सकेर फर्किएपछि आन्दोलन गर्ने आवश्यकता देखिरहेका छौँ। देश बिग्रिएको कति हेरेर बसिरहनु। नेकपा एमालेले देश बिग्रिएको हेरेर बस्न सक्दैन। देशभन्दा ठूलो केही होइन’, उनले भने, ‘तर हामी हिंसाको प्रयोग गर्नेछैनौँ र बरु जनताको बलमा आन्दोलन गर्नेछौँ।’

उनले त्यसका लागि पार्टीका विभिन्न तहमा गम्भीर छलफल गरेर मैदानमा उत्रिने चेतावनी पनि दिए।

‘अब त्यो बाटोमा जानुपर्ने आवश्यकता भइसकेको छ’, बुधबार भएको केन्द्रीय समितिको बैठकमा ओलीले भने, ‘हामीले यतिबेला राजनीतिक निकास दिन सकेनौँ भने त्यो बाटो अरु कुनै शक्तिले नै समाउँछ।’

प्रकाशित मिति: : 2023-11-22 14:20:00

प्रतिकृया दिनुहोस्