३८३ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच

३८३ वर्ष पुरानो ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको कार्तिक नाच यस वर्ष ललितपुर मंगलबजारको कात्ति दबलीमा मंसिर २ गतेदेखि सुरु भएर मंसिरको ११ गते सोमबारसम्म देखाइँदैछ। ललितपुर मंगलबजारमा अवस्थित कृष्ण मन्दिरसँगैको नारायण मन्दिर अगाडिको कात्ति दबलिमा वर्षैपिच्छे कछलाथ्व पञ्चमीदेखि कछलाथ्व पूर्णिमा (सकिमिला पुन्हि)सम्म राति-राति यस नाच देखाउने चलन छ।

कार्तिक तन्त्रको प्रयोग गरेर नचाइने सांस्कतिक नाच नै कात्तिक नाच हो। काठमाडाैँ उपत्यकाकै सबैभन्दा लामो नाट्य महोत्सवको रुपमा लिने गरिएको यस नाचमा सय जनाभन्दा बढीको संख्यामा कलाकारहरु सहभागी हुन्छन् भने यसमा विभिन्न नेवाः जातजातिका कलाकारहरु जस्तै: राजोपाध्याय, शाक्य, बज्राचार्य, चित्रकार, तण्डुकार, महर्जन, व्यञ्जनकारलगायत समुदायहरुको सहभागिता हुन्छन्। त्यसमध्ये नृसिंहको मुख्य भूमिकामा राजोपाध्याय जात हुनुपर्ने नियम छ भने हिरण्य कश्यपु चित्रकार जातको हुन्छ।

वि.संं. १६९७ सालमा ललितपुर पाटनका तात्कालीन राजा सिद्धिनरसिंह मल्लले कात्तिक नाचको सुरुवात गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ। सत्रौं शताब्दीमा सुरु भएको विष्णुपुराणमा आधारित कात्तिक नाचमा विष्णुको अवतार नृसिंह, हिरण्यकश्यपु, विष्णुका भक्त प्रल्हादको कथामा आधारित नाच देखाउने गरिन्छ। कार्तिक महिनालाई विष्णुको महिनाको रुपमा पनि लिने गरिन्छ। सिद्धिनरसिंह राजा विष्णुका परमभक्त थिए। त्यसैले राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरु हरिवंश राजोपाध्याय र विश्वनाथ राजोपाध्यायहरुको सल्लाह र सुझाव लिइ देश र जनताको रक्षा गर्नकालागि कात्तिक नाच देखाउनृे परम्परा चलाएको भन्ने जनविश्वास छ। यस नाचमा कृष्णलीलाको माध्यमबाट समाजमा व्याप्त भइरहेको विकृति विसंगति प्रस्तुत गरेर जनचेतना फैलाउन ठूलो मद्दत गरेको भन्ने कथन छ।

यसरी देखाउने कात्तिक नाचमा सबैभन्दा आकर्षक पक्ष भनेको हिरण्य कश्यपुलाई विष्णुले नृसिंह अवतार लिएर बध गर्ने हो। हिरण्य कश्यपु दैत्यले आफूभन्दा ठुलो अरु कोही नभएको भन्ने घमण्डले सबैमाथि अन्याय र अत्याचार गर्ने गर्थ्याे। किनभने, हिरण्य कश्यपुले आफूलाई कसैले पनि मार्न नसकिने वरदान प्राप्त गरेका थिए। प्राप्त वरदानअनुसार दैत्यलाई बिहान, दिउँसो, रातिको समयमा अनि घरभित्र वा बाहिर, तल माथि, आकाश पाताल कुनै पनि ठाउँमा मार्न नसकिने मात्र नभई त्यसलाई न देवता, न मनुष्य, न पशु न पंक्षी कसैले पनि मार्न नसकिने वरदान पाएका थिए।

यस्तैगरी त्यसलाई सस्त्रअस्त्रले पनि छुन नसकिने जस्ता वरदान प्राप्त गरेका थिए। यो वरदानको प्रभावले गर्दा दैत्य हिरण्य कश्यपुलाई आफूजस्तो शक्तिशाली कोही छैन भन्ने घमण्ड चढेको थियो। त्यसैले आफूलाई नै देवता थानेर सबैले आफूलाई मात्र पूजा गर्नुपर्ने, मानसम्मान गर्नुपर्ने मान्यता दैत्यमा थियो। तर, उनकै छोरा प्रल्हाद भने विष्णुका परमभक्त थिए। हिरण्य कश्यपुका छोरा प्रल्हाद बिहानदेखि विष्णुको पूजा गरेर विष्णुको नै गुनगान, आराधना र पूजामा तल्लीन रहन्थे। यो देखेर दैत्यले आफ्नो छोरालाई विष्णुलाई होइन, आफूलाई पूजा गर्नु भनेर सिकाए। तर, विष्णुका परमभक्त प्रल्हाद यो आदेश मान्न तयार हुँदैन। छोराको व्यवहारमा परिवर्तन ल्याउन दैत्यले धेरै नै सम्झाए, फकाए, धम्काए, डर त्रास देखाए तर पनि प्रल्हादले विष्णुलाई नै आफ्नो भगवान मानी पूजा अर्चना गरिरहे।

केही गर्दा पनि कुनै सीप नलागेपछि आखिर दैत्यले आफ्नै छोरालाई मार्ने निर्णय गरे। प्रल्हादलाई मार्न थुप्रै तरिकाहरु अपनाए। तर, प्रत्येकपटक विष्णु भगवानले उनलाई बचाए। जस्तै पहाडबाट खसाल्दा पहाड फूलैफूलले ढाकिदिए। आगोले नछुने वरदान प्राप्त गरेकी हिरण्य कश्यपुका बहिनी होलिकाको काखमा राखि आगो लगाइदिए। त्यसबेला पनि होलिका नै आगोमा दनदनी बलेर भष्म हुन पुगे तर प्रल्हादलाई आगोले छुनसम्म पनि सकेन। त्यसपछि हिरण्य कश्यपु अति नै क्रोधित भएर तेरो भगवान विष्णु कहाँ छ भनी सोध्छन्।

प्रल्हादले मेरो भगवान विष्णु जहाँतहिँ हुनुहुन्छ भनी जवाफ दिन्छन्। यस जवाफले दैत्य झन् रिसले चुर भई तेरो भगवान यस खम्बामा पनि छ? भनी सोध्छन्। प्रल्हादले छ भनी टाउको हल्लाएपछि रिसको झोंकमा त्यही खम्बामा आफ्नो अस्त्र प्रहार गर्दा त्यस खम्बाबाट नृसिंह अवताररुपी विष्णु प्रकट हुन्छ। जुन अवतार न मान्छेको थियो, न त जनावरको नै थियो। जिउ मानिसको र टाउको सिंहको थियो। आधि मान्छे र आधि पशुको थियो। विष्णुले पनि वरदानलाई ध्यानमा राखेर अवतार लिएको थियो। नृसिंहले दैत्यलाई समाती आफ्नो काखमा राखेर साँझको समयमा ढोकाको भित्र पनि होइन बाहिर पनि होइन बीचमा राखेर कुनै अस्त्रबिना आफ्नै नङ्को माध्यमले दैत्यलाई बध गरेर आफ्नो भक्तलाई बचाए। यही घटनालाई लिएर विष्णुपुराणको आधारमा कात्तिक नाच देखाउने परम्परा मल्लकालदेखि अहिलेसम्म पनि निरन्तर रुपमा चलिआएको छ।

यस नाचको अर्को एउटा विशेषता भनेको हिरण्य कश्यपु र नृसिंह अवतार लिएर नाच्दा मशाल बाली त्यसको प्रकाशमा तालमेल मिलाएर नाच्ने गरिन्छ भने नाच्दा नाच्दै मशालको प्रकाशले नृसिंहको छाया दैत्य अर्थात् हिरण्य कश्यपुलाई पर्नासाथ दैत्य बेहोस हुन्छ। बेहोस हुनासाथ दैत्यलाई मरेको मान्छेको लाश सरह उठाएर लान्छ। दैत्य अवतार लिएको चित्रकारलाई होसमा ल्याउन मंगलबजारको ढुंगेधाराको वा आलुक्वःहितिको औषधि-पानी छर्केर पिलाएपछि मात्र होसमा आउने कुराले भने सबैलाई आश्चर्य लाग्न सक्छ। तर, यो चलन आजसम्म पनि चलिआएको सर्वविदितै छ। पहिला-पहिला भने यस नाच नचाउँदा हिरण्य कश्यपु हुने कलाकारको साँच्चै मृत्यु हुन्छ भन्ने जनश्रुति पनि छ।

सुरुमा यस नाचलाई ५ दिन मात्र देखाउने गरेको थियो भने पछि सिद्धिनरसिंह मल्लका नाति योगनरेन्द्र मल्लको पालामा २७ दिनसम्म देखाएका थिए। ने.सं. १०७० सालदेखि ११०१ सालसम्म भने तत्कालीन राजनीतिक परिस्थितिका कारण २० दिन देखाउने चलन भयो।

त्यस्तै ने.सं. ११०२ सालदेखि भने १० दिनसम्म देखाउने गरेका थिए। त्यसपछि ने.सं. १०३५ सालदेखि भने फेरि १२ दिनसम्म देखाउने परम्परा बस्यो। त्यस्तै गरेर गएको दुई वर्ष विश्वभरि फैलिएको कोरोना रोगको कारणले पहिलो वर्ष दुई दिन र अर्को वर्ष एकहप्ता मात्र देखाएका थिए भने यसवर्ष दशदिनसम्म देखाउने निर्णय भएको थियो। तर, यसपालि भने यो नाच १० दिनसम्म देखाउने व्यवस्था गरेको छ। यो दिनमा प्रत्येक विभिन्न किसिमको नाच देखाउने चलन छ। जस्तै:

१. मंसिर २ गते, शनिवार- बाथःप्याखँ-माकःसि मियेगु 
२. मंसिर ३ गते आइतबार- कौला खिचा
३. मंसिर ४ गते, सोमबार- महामूर्ख 
४. मंसिर ५ गते, मंगलबार- युद्धकला(शितज्वर/विष्मज्वर युद्ध, महादेव/कृष्णयुद्ध) 
५. मंसिर ६ गते, बुधबार- देवी नाच –द्योला, कवं, ख्याः, भैरव, कुमारी,महालक्ष्मी प्याखँ)
६. मंसिर ७ गते, विहीबार- जल शयण-मधु–कटैव वध
७. मंसिर ८ गते, शुक्रबार- बराह अवतार- हिरण्याक्ष बध 
८. मंसिर ९ गते, शनिबार- नृसिंह अवतार- हिरण्यकश्यपु वध
९. मंसिर १० गते, आइतबार- बस्त्रहरण लिला-
१०. मंसिर ११ गते, सोमबार- दधि लिला

यी माथि उल्लेख गरिएका नाचहरु हरेक साँझ ७ बजेदेखि सुरु हुने कुराको जानकारी कार्तिक नाच संरक्षण समितिले जानकारी दिएको छ। त्यस्तै मंसिर १ गते शनिबारको दिन कार्तिक नाच सुरु गर्नुअघि नासःद्यः अर्थात् नात्येश्वर देवताको पूजा गरी मंगलबजारको भण्डारखाल बगैंचामा प्रसाद ग्रहण कार्यक्रमको आयोजना पनि गरिएको थियो।

कार्तिक नाच संरक्षण समितिको भनाइअनुसार सरकारी पक्षबाट न्यून बजेट विनियोजन हुने, चाहिने सामानको राम्रो व्यवस्थापन गर्न नसकेको कारणले र राजनीतिक परिस्थितिले गरेर कात्तिक नाच कुनै बेला लामो र कुनै बेला छोटो हुने गरेको भनाइ छ। त्यस्तै यस नाचमा प्रयोग हुने गरगहना र पोसाकहरु बाह्र वर्षको एकचोटि फेर्ने गरिन्थ्यो भने अहिले आएर भने व्यवहार नमिल्ने भएको कारण ६ वर्षमा एकचोटि फेर्ने गरिएको कुरा पनि कात्तिक नाच संरक्षण समितिले जानकारी दिएको छ।

धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको ३८३ वर्षदेखि चल्दै आएको यस दुर्लभ कात्तिक नाचको संरक्षण सम्वर्द्धन गर्नु हामी सबैको दायित्व हो। यस नाचलाई विश्वभरि प्रचारप्रसार गरी पर्यटकहरुलाई आकर्षित गर्न सकेमा हाम्रो देशको पर्यटन व्यवसाय निकै फस्टाउन सकिन्छ। साथै यहाँको आर्थिक, सांस्कृतिक, धार्मिक र पर्यटकस्थलको विकास गर्न टेवा पनि पुग्छ। यसको लागि सरकारी पक्षबाट कात्तिक नाचको संरक्षण र सम्वर्द्धन गर्न सहयोग मिलिरहोस् यही शुभकामना छ।

प्रकाशित मिति: : 2023-11-20 17:14:00

प्रतिकृया दिनुहोस्