जीवनको अर्थ बुझाउने शय्या

सिस्टर बेड नं. ८ को बिरामीको शरीरमा सलाइन चढिराको छैन हेर्दिनुन।

एक अधबैँसे पुरुष रिसेप्सनमा भएकी नर्सलाई अनुरोध जस्तो सुनिने तर चर्को स्वरमा भन्दै थिए। उता बेड नं. १० का वृद्ध बा’लाई पिसाब रोकिएर झन् च्यापेछ क्यारे। अस्पतालका स्टाफले डाक्टरलाई तुरून्त फोन घुमाइ हाले।

बेड नं. ६ को आफ्नै तनाव, सुगर नघटेर औँलाको घाउ चिरफार रोकिएको थियो, बिरामीको। त्यही अपरेसनको निम्ति गत दुई दिनदेखि भर्ना भएकी उनलाई त्यो घाउले बेला-बेला नमज्जाले मुर्छा पारिरहेको थियो।

हरेक बेडको ठ्याक्क माथि पङ्खा शिर झुकाएर भित्तामा यसरी टाँसिएका थिए कि लाग्थ्यो, तिनीहरु फुत्त फुत्किएर तल जान खोज्दै छन्। बेडका छेउका दुईतले टेबल भरिएका थिए, औषधिका प्याकहरुले। सलाइनको थोपा यसरी झर्दै थिए कि हेर्दा लाग्थ्यो उसलाई कुनै हतारो छैन मानव शरीरमा प्रवेश गर्न। कुरूवाहरुका आँखा घरि बिरामीमा त घरि त्यही सलाइनको गतिमा नाचिरहेका थिए।

आ-आफ्नो बिरामीमा केन्द्रित कुरुवाहरूको आँखा झट्ट ढोकातिर तेर्सियो र बेड नं. १० का करूवाहरू त झन् एकाएक जराक जुरूक्क उठे। नर्स बिरामी छेक्ने पर्दा लिन कुदिन्। डाक्टरले बिरामीका आफन्तलाई पिसाब रोकिनुको सम्भावित कारण बताउन थाले।

पिसाबको लागि जोडिएको पाइप निकाल्ने तर्खर हुँदै थियो, सायद। त्यो केस ह्यान्डल गरिसकेपछि डाक्टरले क्रमशः अन्य बेडका बिरामीको अवस्था बुझ्न थाले। सधैं बिहान एकपटक र साँझ एकपटक डाक्टरलको दर्शन पाउने बिरामीमाथि दिउँसै डाक्टरको कृपादृष्टि पर्‍यो।

आफ्नो वा आफ्नो बिरामीको औषधि र रेखदेखका काम गर्दाका बखतबाहेक अरू बेला एउटा शय्याकाले अर्को शय्याकालाई टुलुटुलु हेर्नु, चिनजान गर्नु, अर्काको समस्या सुन्नु र आफ्नो सुनाउनुमै सीमित हुने गर्छ दिनचर्या।

मानिस कुन हदसम्म विनम्र हुन सक्छ? कतिसम्म अरूप्रति करूणा भाव दर्शाउन सक्छ? मानिस घमण्ड र अहंकारबिना कस्तो देखिन्छ? र, मानिस सबैभन्दा लाचार कुन अवस्थामा हुन्छ? यी सबै प्रश्नको एउटा साझा जवाफ हो, अस्पतालको शय्या।

ऊ अस्पतालको शय्यामा यति विनम्र भइसक्छ कि लाग्छ उसले अब उपरान्त कहिल्यै कोहीमाथि रूखो बोल्ने छैन। उसको घमण्ड फुटेर चुरचुर भइसक्छ उसलाई आफ्नो सास चल्नु नै सर्वेसर्वा लाग्न थाल्छ।

आफूमात्र होइन, उसले अरू शय्याका बिरामीका लागि समेत प्रार्थना गर्न थाल्छ। अस्पतालको स्वभावै यस्तो, हरेक दिन कोही डिस्चार्ज भएर जान्छन् त कोही नयाँ जिन्दगी अनि स्वास्थ्य सुधारको अपेक्षासहित भर्ना हुन आउँछन्। बिरामी फेरिन्छन्, उसैगरी फेरिरहन्छन्। बिरामीका कुरुवा तर फेरिन्न त त्यो अस्पतालको शय्या जसले अनगिन्ती शरीरलाई निको पार्ने सामर्थ्य राख्दछ।

शय्याको काम केवल बिरामी अड्याउने मात्र कदापि होइन। शय्या यस्तो बिपासना केन्द्र हो। जहाँ रहुन्जेल मानिसले पूरा जीन्दगीको अर्थ बुझ्छ। हिजोसम्म ऊ जेसका लागि काटमार गर्दै थियो, आज उसले वास्तविक सत्य बुझ्छ। उसले मनमनै सारा गल्ती स्वीकार गर्छ र यदि त्यहाँबाट सकुसल फर्कन पाए सारा भूलको  प्रायश्चित गर्ने संकल्पसमेत गर्न भ्याउँछ। यस्तो करूणामय संसारबाट जब म पानी किन्न एकछिन अस्पतालको गेटभन्दा बाहिर निस्किएँ बाहिरको माहोल फेरि भित्रको भन्दा बिल्कुलै फरक थियो।

मानिसहरू हतारमा छन्। उही घमन्ड, उही अहंकार। सब ज्युँका त्युँ छन्। यस्तो धकेला धकेलको दिनचर्याबाट पर त्यो अस्पतालको शय्यामा अनौठो शान्ति छ। भलै मन र मस्तिष्क बिमारले असन्तुलित छन्, तर दौडधुप बन्द छ।

कुनै बेला एक हजार रूपैयाँको घाटा हुन्छ कि भनेर भोक निन्द्रा, सम्बन्ध सबथोकलाई वर्जित गरेर हिँड्ने मानिस अस्पतालको शय्यामा लाखौं करौडौं आउने डिल, ठुला-ठुला मिटिङ्गसमेत भाडमा जाओस् भनेर बसेको हुन्छ। तसर्थ, यो भन्दा ठुलो ध्यान केन्द्र के हुन सक्छ? क्षणिक नै सही यो भन्दा ठुलो बुद्धत्व के हुन सक्छ?

‘ए तपाईंले क्यानुला ल्याउनु भएन?’ भर्खरै भर्ना गरिएको बेड नं. ७ को बिरामीको औषधिको ठुलो पोको खोलिसकेपछिको नर्सको प्रश्न थियो, यो बिरामीको कुरुवालाई। चाहेको भए नर्सले स्टोरबाट झिकाउन सक्थिन् तर उनले अब के गर्ने भन्दा नभन्दै बेड नं. ५ की बिरामी सुतेरै बोलिन्, ‘मेरोमा छ एउटा, लग्नुस।’

दुखाइ, चोट अनि पीडा नितान्त व्यक्तिगत हुन्छन्। त्यसैले त मानिसलाई आफ्नो समस्या पहाडझैँ ठुलो लाग्छ चाहे त्यो ज्वरो नै किन नहोस्। तर, अस्पतालमा अरू शय्याका बिरामीलाई देख्दा एकाएक आफ्नो समस्या उसलाई तिलजस्तो लाग्न थाल्छ। यसले एक अनौँठो ऊर्जासमेत दिन्छ बिरामीलाई, कि ऊमात्र छैन पीडामा भनेर।

अस्पतालको शय्यामा हुँदा होस् या दौडधुपका बेला होस्, जीवनबारे सोच्न कति ठिक होला? या जीवन‌बारे ब्याख्या गर्न कत्तिको उचित होला? या भनौँ जीवनकोबारे लेख्दा कस्तो होला? तर जीवनबारे लेख्न पनि त जीवन पूरै बाँचिसकेको हुनुपर्छ नि हैन? जीवनको अर्थलाई अर्थ्याउन पनि जीवनको सबै रसमा भिजिसकेको हुनुपर्छ नि हैन।

तर, जीवन बाँचिसकेर जीवन यस्तो पो रैछ भन्ने माध्यम के त? जीवनको वास्तविकता यस्तो पो रैछ भनेर हाम्रा मृत अनुभव जीवितसम्म पुर्‍याउने यन्त्र के त? तसर्थ औसत मानिसले बाँच्ने जीवनको लगभग एकतिहाइ वसन्त काटिसक्दा मलाई यति भन्न गाह्राे नपर्ला कि! कोही एक पात्रको जीवन यात्राले सजिलै अर्कोलाई जीवन दिशा त देखाउला तर यात्रालाई पूरा गर्न उसले आफ्नै पैतला र त्यो सँगै आफ्नै निजी आत्मविश्वास बोकेर निस्कनै पर्छ।

तर, हामीमा भएको प्रशंसाको पोको निकै सानो हुनुपर्छ। त्यसैले त खुल्न चाहान्न अरूका सफलताहरूमा। हामी मान्छे हामीलाई जे कुरा पनि आफ्नो अनुकुल चाहिन्छ। आफ्नो त आफ्नो ह्याँसम्म कि अरूको सफलता पनि आफ्नै अनुकुल?

जब मान्छे जीवन, मरणको दोसाँधमा हुन्छ तब उसले चाहेर पनि कठोर बन्न सक्दैन। ऊ एक अबाेध बालकझैँ लुसुक्क लुक्न चाहन्छ जीवनको पछ्याैरीमा। यो बखत चारखुट्टे अस्पतालको शय्या चार वेद बराबर भैदिन्छ। जसले छर्लङ पारिदिन्छ जीवन, ब्रमाण्डको यथार्थ।

 

पुष्पा न्यौपानेका थप लेखहरु पढ्नुहाेस्:
प्रकाशित मिति: : 2023-11-20 09:49:00

प्रतिकृया दिनुहोस्