मानिसका सैयौं गुणमध्ये एक हो, सोच। जसले मानिसलाई मानिस बनायो। जसले मानिसलाई प्राणीबाट सामाजिक प्राणी बनायो। संसारमा हामीले अहिले देखेका हजारौं आविष्कार एकै पटकमा आविष्कार पक्कै भएका होइनन्। ती प्रत्येक आविष्कार भौतिक रूपमा जन्मनुअघि आविष्कारकर्ताको मस्तिष्कमा जन्मिएका हुन्। अर्थात कुनै पनि आविष्कार होस् या घटना त्यसले मूर्त रूप पाउनुअघि कर्ताको कल्पनामा बनिसकेको हुन्छ वा घटिसकेको हुन्छ।
टेबुलमा राखिएको पुस्तक उठाउनुअघि नै मान्छेले एक पटक मष्तिस्कमा पुस्तक उठाइसकेको हुन्छ। कुनै ठुलो पहाड चढ्नुअघि ऊ एकपटक कल्पनामै टाकुरामा पुगिसकेको हुन्छ। सिधा अर्थमा यो भन्न सकिन्छ कि कुनै पनि काम ठिक ढङ्गले पुरा गर्न त्योबारे कर्ताले केही न केही सोच बनाएको हुन्छ। बिना सोच कुनै काम नहुने होइन तर त्यसले मानिसलाई त्यो काममा कमै सफलता दिने गर्छ।
'मिस नेपाल २०१८’ की श्रङ्खला खतिवडाले मिस नेपाल भइसकेपछि हरेक अन्तर्वार्तामा सोधिएको प्रश्नकाे जवाफ दिन उनको तयारी, सफलताको कारणमा आफूले हरेक काम गर्नुअघि त्यसलाई कल्पना गर्ने गरेको, आफूले मिस नेपालको ताज लगाएको हरेक दिन कल्पना गर्ने गरेकाले वास्तवमै जितको दिन खासै नर्भस नभएको र अन्तिम चरणको प्रतिस्पर्धामा धेरै अघि देखि कल्पनामा पुगिसकेको भन्ने गरेकी थिइन्। यसबाट पनि मानिसको सोचाइले उसको कर्म र वास्तविक जीवनमा पार्ने सकारात्मक प्रभावबारे बुझ्न सकिन्छ।
यसरी मानिसको पुरा जीवनै नियन्त्रण गर्ने मष्तिस्क र मष्तिस्कमा उब्जने सोचाइ तब चाहिँ घातक हुन्छ, जब यो हदभन्दा बढी हुन्छ। अर्थात जब ‘थिङ्किङ्ग’, ’ओभर थिङ्किङ्ग’ भइदिन्छ, तब मानिसको विकासको ठूलो तत्व नै उसको बिनाशको कारण भइदिन्छ।
बढी सोचाइ र सोच्ने बानीले काम बन्ला/नबन्ला तर हामीलाई लाचार र निर्दयी भने पक्कै बनाएर छाड्छ। अझ ओभर थिङ्किङ्गसँगै सित्तैमा आउने तनाव त झन् कति हो कति...!
मानिसको सूक्ष्म अध्ययन गर्ने हो भने बढीभन्दा बढी मानिस ‘आफ्नोबारे अरूको धारणा के छ?’ भन्नेमै ओभर थिङ्किङ्ग गर्ने गर्छन्। आफूले गर्न लागेको काममा अरूले साथ देला/नदेला, आफ्नो कामलाई अरूले मन पराउला/नपराउला, मैले यस्तो गरेँ भने उसले के सोच्ला? उसले भने बमोजिम मलाई काम गर्नै मन छैन। तर यदि गरिनँ भने म कतै उसको नजरमा नराम्रो त बन्दिनँ? आदि इत्यादि कुरामै अल्झिन्छ हाम्रो मष्तिस्क। दुई दिनको जीवनमा अरूको बाह्र सत्ताइस थरी कुरा सुन्न थालेपछि कसरी नथाकोस् मष्तिस्क!
मानिसले सबै कुरा आमाको पेटबाट सिकेर आउने होइन। आफ्नो जीवनमा कति यस्ता मोड आउँछन्, जहाँ आफ्नो लागि कुन मार्ग सही हो भन्ने ठ्याक्कै यकिन गर्न उसलाई गाह्राे पर्न सक्छ। त्यस्तो बेला अग्रज र आफ्ना शुभचिन्तकको राय अनि सल्लाहको ठूलो महत्व रहन्छ।
यति मात्र नभई आफूलाई बेला-बेला सतर्क गराउन पनि अरूको विचार र खबरदारी अपरिहार्य हुन्छ। तर आफ्नो इच्छा र रहरलाई 'सती' पठाएर अरूको विचारमा जिउनुमा कुनै अर्थ छैन। आफ्नो भित्री मनलाई मारेर अरूको मन राख्नु भनेको फगतमा आफूलाई जिउँदो लास बनाउनुबाहेक केही होइन।
कहिले कसैको उपनिवेशमा नरहेका हामी नेपालीले अरूको धारणाको गुलाम बनेको पत्तै पाएका छैनौं। अरूले के सोच्लान् भनेर हामी यति सोच्छौं कि हामीलाई आफू आफ्नोबारे के सोच्छु भनेर सोच्ने झिनो फुर्सदसम्म हुँदैन। अरूलाई खुसी बनाउँदा-बनाउँदै, अरूलाई रिझाउँदा-रिझाउँदै आफू रित्तिएको, आफ्नो क्षमता ओइलिएको सुइँकोसम्म हुन्न हामीलाई।
यो हाम्रो भागमा परेको जीवन हो। यसलाई हामीले पाएका हौं। यसलाई कसरी बाँच्ने त्यो पनि नितान्त हाम्रो कुरा हो। अरूसँग पनि उनीहरूको नितान्त व्यक्तिगत जीवन छ। तिमीलाई यदि उसले कुर्ता सुरूवालमा मात्र देख्न रुचाउँछ भने त्यो उसको इच्छा हो। उसले त्यो इच्छा आफूले नै कुर्ता लगाएर पुरा गरोस्। यदि कसैले तिमी निजी संस्थामा जागिरे भएको रूचाएको छैन भने ऊ आफूले सरकारी जागिर खाओस्। तिमीले उसका लागि आफ्नो योजना फेर्न जरूरी छैन।
हो, तिम्रा लागि राम्रो सोच्नेलाई तिमीले सम्मान दिनुपर्छ। यदि भलाइ हुन्छ र मन छ भने भनेकै अनुसार गर्नु पनि पर्छ। तर समाजमा सय थरी मानिस हुन्छन् र तिनका हजार थरी विचार! ती हरेकको विचारमा घुल्न न तिमी रङ्ग हौ न त चिनी!
मानिस त असन्तोषी प्राणी हो। उसलाई सबै कुरा आफ्नै अनुकूल भैदियोस्, सबैले आफूले भनेअनुसार गरून्, आफ्नो बोली चलोस् भन्ने लाग्छ। तर जो जो उसको अहङ्कारअनुसार चल्न सकेनन्, ती सबै 'खराब' घोषित हुन पुग्छन्।
आज तिमीले गर्लफ्रेन्ड बनाएकोमा टाउको दुख्नेको भोलि तिमी अविवाहित नै बस्न खोज्दा पनि टाउको दुख्नेछ। तसर्थ आफ्ना स-सानादेखि ठूला-ठूला निर्णयसम्म कसलाई निर्णायक बन्न दिँदैछौं भनेर सतर्क हुन जरूरी छ। जो तिमीले जे गर्दा पनि सन्तोष हुँदैन।
तिमीलाई आफ्नै नजरियाको चस्मा लगाइदिन मात्र खोज्छ। उसले तिम्रो निर्णयमा प्रभाव पार्ने कुनै अधिकार राख्दैन। जसले तिम्रो अवस्था, समस्या र सुख-दुःखबारे कुनै वास्ता गर्दैन तर तिम्रो काम, रहनसहन र असफलतामा 'जज' गर्न टुप्लुक्क आइपुग्छ भने त्यस्ता विचारहरूप्रति ओभर थिङ्किङ्ग बन्द गरिदिँदा नै राम्रो।
ला! अरूले के भन्ला भनेर कति इच्छाको तिलाञ्जली दिइन्छ-दिइन्छ! ला! अरूले के सोच्लान् भनेर कति रहर मारिन्छ-मारिन्छ। तर एकदिन मरेर जाने यो चोलामा कमसेकम रहर नमरोस्।
पानी छान्ने फिल्टर जीवनमा पनि प्रयोग गर्नुस् र छान्नुस् तपाईंप्रति मान्छेका विचार र त्यति मात्र पिउनुस् जति तपाईंका स्वास्थ्यका लागि लाभदायक छ। बाँकी विचारलाई फिल्टरको अन्तिम भाग जस्तै 'सोच' सम्म पुग्नै नदिनुस्। अनि हेर्नुस् जीवन कति सहज बन्नेछ। म पनि प्रयास गर्दैछु।