रातो बत्ती

Akila Weerasinghe/ Himalmag

कतिपय कुरा त्यति खराब पनि हुँदैनन्, जति खराब तपाईं–हामीले बनाइदिन्छौँ। सायद यसै कारण पनि खराब बनाइदिन्छौँ, ताकि आफू असल देखिन सकियोस् या अरूलाई खराब करार गरियाेस्। अरूलाई तल बनाउँदा आफू स्वत: माथि पुग्छौँ भन्ने नमिठो भ्रम छ हामीमा।

त्यहीमध्येको एक खराब कहलिएको पात्र हो, ‘देह व्यापार’। हो यहाँ पात्र व्यक्ति होइन, व्यापार स्वयम् हो। किनकि यही व्यापारले धानेको छ कसैको दुई छाक। धानेको छ कसैको विद्यालयको फिस, कसैको ओखती– जसरी धान्छन् अरू पेशाले।

आफैँमा मानवता विरोधी कर्तुतले नाङ्गिएको समाज देह व्यपारको भने मुख छोप्न यस्सो कानुन बनाइदिएझैँ गरेर बस आँखोमा छारो हाल्दैछ। न त उसको कानुनले देह व्यवसायमा संलग्नलाई बाहिर निकालेर पुनर्स्थापना गर्ने आँट गरेको छ, न त देह व्यापारीलाई ढुक्कसँग कर्म गरेर दुई छाक टार्ने वातावरण नै बनाएको छ।

यसबाट के प्रष्ट छ भने बुद्धिजीवी न त ‘वेश्यावृत्ति’को महत्व र आवश्यकता नकार्न नै सकिरहेका छन्, न त ‘वेश्यावृत्ति’लाई स्विकार्न नै सकिरहेका छन्। समाजमा आफ्नो छवि बिग्रेला भनेर।

पहिलो रेकर्डमा रहेको ‘वेश्यावृत्ति’ २४०० बि.सी को 'सुमेरिएन सहर'मा ब्रोथेल टेम्पलमा पुजारीद्वारा सञ्चालन गरिन्थ्यो, जहाँ ३ तहका महिलाले काम गर्दथे। पहिलो जसलाई यौन कर्म मात्र गर्न अनुमति थियो। दोस्रो श्रेणी जसलाई अवलोकन कर्तालाई भेट्ने अनुमति थियो र तल्लो श्रेणीका ‘वेश्या’, जो सहरका गल्लीहरूमा ग्राहक खोज्न स्वतन्त्र थिए। र त्यसबखत महिला मात्र होइन, पुरुषले पनि वेश्याको रूपमा काम गर्दथे।

अझ प्राचीन ग्रिसका महिला वेश्याले आत्मनिर्भर तरिकाले काम गर्दथे र ‘वेश्यावृत्ति’ लाई वैध पेशाको रूपमा लिइन्थ्यो। वेश्याहरुको छुट्टै चिनारी बोकेको साझा पोशाक हुने गर्दथ्यो। अझ चाख लाग्दो कुरा त के भने उनीहरुले राज्यलाई करसमेत बुझाउने गर्दथे।

पाँचौँ शताब्दीमा एक वेश्यासँग समय बिताउने मूल्य एक ज्याला मजदुरको दैनिक तलब सरह हुने गर्दथ्यो। तर त्यो समयमा पनि ‘वेश्यावृत्ति’ लाई सम्मानका साथ भने हेरिन्थेन। कंगुला सम्राटले देह व्यापारलाई पूर्णरुपमा वैध बनाएका थिए, जुन ४५० वर्षसम्म कायम रहेको थियो।

पछि क्रिस्चियानिटीको बढ्दो प्रभावले ‘वेश्यावृत्ति’ लाई पापको रुपमा लिन थालियो। तर अनौपचारिक रूपमा भने चर्चले समेत बलात्कार, हस्तमैथुन आदि कुरालाई रोक्ने अस्त्रको रुपमा ‘वेश्यावृत्ति’ लाई आवश्यक ठान्दथ्यो। १६औँ शताब्दीमा यूरोपमा यौनजन्य सरूवा रोग देखिन सुरु भएपछि ‘वेश्यावृत्ति’ लाई मुख्य कारक मानियो र बन्देज लगाउन थालियो।

तर १८/१९औँ शताब्दीमा फेरि ‘वेश्यावृत्ति’ एक आवश्यकताका रूपमा देखिन थाल्यो र अहिले पनि त्यही अवस्था छ। विश्व इतिहास हेर्दा एउटा कुरा के स्पष्ट हुन्छ भने ‘वेश्यावृत्ति’ हाम्रै वरिपरि छ र यो कहीँ जानेवाला भने पक्कै छैन।

जुन कुरा समाजमा देखिँदैन तर समाजबाट २१औं शताब्दीमा घट्नुको साटो बढ्दो छ भने यसबारे पुनर्विचार गर्नैपर्ने भएको छ। अन्यथा नेपाली समाजमा प्रचलित एउटा उक्ति, 'घर को न घाटको' अवस्थामा देह व्यापार नहोला भन्न सकिन्न।

सुरूमा त ‘वेश्यावृत्ति’ र मानव बेचबिखनलाई एउटै कानुनमा मिसाएर आँखामा छारो हाल्न बन्द गर्नुपर्छ। हो, मानव बेचबिखन गरिनुको कारण मध्ये एक ‘वेश्यावृत्ति’ मा संलग्न गराउनका लागि पनि हो। तर सबै ‘वेश्यावृत्ति’ मा संलग्न पीडित हुन् भनेर देह व्यापारलाई अजकल्टो अवस्थामा छोड्नु बुद्दिसम्मत पक्कै होइन।

यदि कसैले मन्जुरी लिएर वा नलिएर बालबालिकालाई र मन्जुरी बिना कुनै व्यक्तिलाई ‘वेश्यावृत्ति’ मा लगाउँछ भने त्यसलाई अपराध भनेर व्याख्या गर्नु उचित छ। तर वेश्यागमनमै रोक लगाउनु, बिना कुनै अध्ययन त्यति मानव हितकारी साबित नहोला।

यद्यपि ‘वेश्यावृत्ति’ महिलाको मात्र पेशा होइन। तापनि ‘वेश्यावृत्ति’ बारे नारीवादी(फेमिनिष्ट) हरुको स्वयम् एक मत छैन। एकखाले नारीवादी छन्, जो ‘वेश्यावृत्ति’ लाई महिलामाथिको शोषण मान्छन्। अर्काथरी नारीवादी छन्, जो ‘वेश्यावृत्ति’ मा लाग्नु महिलाको इच्छा हो भन्दछन्।

‘वेश्यावृत्ति’ लाई १ बुँदामा गैरकानुनी भनेर त्यसविरुद्ध कुनै गतिलो कदम चाल्न‌ नसकेकाहरू ‘वेश्यावृत्ति’ बारे बौद्धिक बहसमा नाक लुकाएर हिँडेकै बेस, मनगढन्ते तथ्य पेश गर्नुभन्दा ‘वेश्यावृत्ति’ को आवश्यकता र महत्व बुझ्ने देशको संख्या बढ्दो छ। सन् २०२३ सम्ममा ‘वेश्यावृत्ति’ अथवा देह व्यापारलाई पूर्णरूपमा कानुनी बनाउने मुलुकको संख्या २१ पुगेको छ भने केही कानुनी, केही प्रतिबन्ध लगाउने मुलुक भने धेरै छन्।

अब हामी यहाँनेरि ‘वेश्यावृत्ति’ लाई कानुनी बनाउनुको अर्थ जसले जहाँ पनि देह व्यापार गर्न थाल्ने, अनुशासनहिनताको अवस्था सिर्जना गर्नु हो भन्ने भ्रममा पर्नु भएन। ‘वेश्यावृत्ति’ लाई कानुनी गर्नु भनेको त देह व्यापार छायामा हुँदै आएको छ। त्यसलाई प्रकाश पारेर ‘वेश्यावृत्ति’ गर्ने व्यक्ति र ग्राहकलाई झन् कानुनको दायरामा राखेर नियमन गर्नु हो। ‘वेश्यावृत्ति’ कानुनी भएका मुलुकमा ‘वेश्यावृत्ति’ गर्नका लागि एउटा निश्चित स्थान तोकिएको हुन्छ।

त्यस्तो मुलुकका देह व्यापारीको समय-समयमा स्वास्थ्य परीक्षण गर्नुका साथै ग्राहकलाई समेत विभिन्न खतराबाट जोगाउन सकिन्छ। नेपाल जस्तो मुलुक जहाँ ‘वेश्यावृत्ति’ लाई गैरकानुनी भनेको छ, त्यस्तो मुलुकमा पनि देह व्यवसायीको संख्या ठूलो छ।

त्यस्ता व्यक्ति जो आफ्नो इच्छाले देह व्यापारमा छन्, उनीहरूलाई कानुनले अपराधी भन्छ अनि समाजले...। यस्तो अवस्थामा उनीहरू ग्राहकबाट शोषित हुनेदेखि बलात्कारमा पर्नेसम्मका पीडा सहन बाध्य छन्।

'म ‘वेश्यावृत्ति’ मा संलग्न छु, माथि ग्राहाकबाट शोषण भयो' भनेर उजुरी गर्न गयो आफैँलाई जेल हाल्देला भन्ने डर, नजाउँ मर्नु न बाँच्नु परेको हुन्छ। यसरी आफ्नो इच्छाको पेशामा संलग्न व्यक्तिहरुको मानव अधिकार कसरी संरक्षण गर्ने भन्नेतर्फ रत्तिभर चिन्तन नगरी ‘वेश्यावृत्ति’ लाई गैरकानुनी मात्र भन्नु मानव हितमा हुनै सक्दैन।

यति मात्र नभई ‘वेश्यावृत्ति’ ले धेरै हदसम्म बलात्कार, यौन दुर्व्यवहार रोक्न टेवा पुग्ने कुरा त विभिन्न खोज र अध्ययनले पुष्टि गर्दै आएको छ।

‘वेश्यावृत्ति’ ले बलात्कारलाई जरोबाट फाल्छ भन्नु मिथ्या मात्र हो। मृत्युदण्डले पूरै निर्मुल गर्न नसकेको बलात्कारका घटना ‘वेश्यावृत्ति’ ले रोक्न सक्ने कुरा त पक्कै हुँदैन। तर केही यस्ता यौन कुन्ठा जसलाई देह व्यापारले व्यवस्थापन भने मज्जाले गर्न सक्छ।

अँध्यारोमा रेड लाइट (रातो बत्ती) क्षेत्रमा जाने तर उज्यालोमा देह व्यवसायीलाई मान्छे नगन्नेहरूको सस्तो समाजिक अनुशासनको चिन्ता 'मुतमाथिको तातो' जस्तै हो, धेरै टिक्दैन। एउटा व्यक्तिले अर्को व्यक्तिले छोएको नखाँदा तिनको मानवता कहाँ गएको थियो? कहाँ गएको थियो नैतिकता?

भर्खरै प्रकाशित राष्ट्र संघको एचआइभीसँगको कार्यक्रमको रिपोर्टअनुसार नेपालमा हाल करिब ४९ हजार देह व्यवसायी छन्। जो शोषण, दुर्व्यवहार, हिंसा सहन बाध्य छन्। तसर्थ, गैरकानुनी बनाएर लुकीछिपी ‘वेश्यावृत्ति’लाई प्रसय दिने समाजले कानुनी रुपमा ‘वेश्यावृत्ति’लाई संरक्षण गर्न खुट्टा कमाउनुहुन्न।



मुम्बईको ‘कोठी’ छोडेर नयाँ जीवन बाँचिरहेका चेलीहरू

प्रकाशित मिति: : 2023-09-30 19:40:00

प्रतिकृया दिनुहोस्